बागलुङ,७ माघ–बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले नेपालीको रोजीरोटीको व्यवस्था गर्न सक्ने शिक्षा नीति आवस्यक रहेको बताएका छन् । उनले बागलुङ नगरपाकिाले पनि त्यस्तै शिक्षा नीति बनाएर बेरोजगारी हटाउन प्रयास गर्ने बताए । न्यू एभरेष्ट एकेडेमी बागलुङको १२ औं वार्षिकोत्सवको उद्घाटन गर्दै पौडेलले अर्काको देशमा शरण पर्ने नागरिक उत्पादन गर्ने शिक्षा अव हट्नुपर्ने बताए ।
हरेक विद्यार्थीले व्यक्तित्व विकासको अवसर पाउने गरी शिक्षकले पनि पढाउनु पर्ने उनको भनाई थियो । साथै बालबालिकाको मनोविज्ञान बुझेर पढाउन सकेमा मात्र दक्ष नागरिक उत्पादन हुने पनि उनले बताए । कार्यक्रममा काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापा, अधिवक्ता सरिता केसी, जिल्ला खेलकुँद विकास समितिका अध्यक्ष धनबहादुर परियार, पत्रकार महासंघका अध्यक्ष दिल शिरिष, प्याब्सनको प्रदेश नम्बर ४ का बरिष्ठ उपाध्यक्ष बिजयराज पन्त, अभिभावक बाबुराम सापकोटा लगायतले बोलेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिनारायण गौतमको अध्यक्षता, विद्यार्थीहरु आहाना गौतम, आरोही गौतम, प्रमिला श्रीष र शिक्षक प्रवेश मुखियाको स्वागत तथा शिक्षक सनम खत्रीले संचालन गरेकी थिइन् ।
कार्यक्रममा प्रधानाध्यापक कृष्णराज अधिकारीले विद्यालयको प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यालयले हामी सबैको रहर, पत्रकार महासंघको घर भन्ने नारालाई सफल बनाउने अभियान भन्दै नेपाल पत्रकार महासंघको भवन निर्माण अभियानलाई २५ हजार १ सय ५५ रुपैयाँ प्रदान गरेको छ । अध्यक्ष हरिनारायण गौतम र प्रअ अधिकारीले उक्त रकमको चेक पत्रकार महासंघका अध्यक्ष दिल शिरिषलाई हस्तान्तरण गरेका थिए ।
त्यस्तै वार्षिकोत्सवको अवसरमा शिक्षा मनोविज्ञ रमेश पराजुलीले अभिभावक र शिक्षकलाई सकारात्मक सोचाई तथा बाल मनोविज्ञान सम्बन्धी प्रशिक्षण दिएका थिए । झण्डै ४ घण्टा सम्म दिइएको प्रशिक्षणमा पराजुलीले बालबालिकालाई दण्ड रहित शिक्षा दिनुपर्ने, बालबालिकालाई अभिभावकले गर्नुपर्ने व्यवहार र व्यवहारिक शिक्षा मार्फत पाउन सकिने सफलताका बारेमा बताएका थिए । उनले विभिन्न खेल मार्फत बाल मनोविज्ञान र सकारात्मक सोचको बारेमा पनि प्रशिक्षण दिएका थिए । वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न अतिरिक्त क्रियाकलाप सहित सोमबार सरस्वती पूजा सहित समापन हुने अधिकारीले बताए ।
युएस एकेडेमीमा विभिन्न कार्यक्रम
युएस एकेडेमीको १५ औं वार्षिकोत्सवको अवसरमा शनिवार विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । सप्ताहव्यापी रुपमा मनाइएको वार्षिकोत्सव अन्र्तगत चौथो दिन शनिबार बिहान बजार सरसफाई कार्यक्रम गरिएको हो । सामाजिक उत्तरदायित्वका निम्ती सरसफाई भन्ने नाराका साथ बजार भित्र सफाई गरिएको प्रधानाध्यापक दल थापाले बताए । त्यस्तै शनिबार दिउँसो अभिभावक र शिक्षक बिच मैत्रीपूर्ण भलिबल खेल आयोजना गरिएको थियो ।
आइतवार अन्तर सदनात्मक भलिबल प्रतियोगिताको फाईनल, छात्राहरुको खो खो प्रतियोगिताको फाईनल हुने बताइएको छ । सोमबार बिहान सरस्वती पूजा, अक्षरआरम्भ कार्यक्रम तथा दिउसो मुल समारोह मार्फत पुरस्कार वितरण र समापन सम्पन्न हुने बताइएको छ ।