बागलुङ जिल्लाको सदरमुकामसँग जोडिएको काठेखोला गाउँपालिका बिभिन्न हिसाबले निकै सम्भावना भएको गाउँपालिका हो । यस गाउँपालिकामा जिल्लाका नगरपालिकाहरुमा जस्तै प्रक्रियाबाट विकासको गति अगाडि बढेको छ । गत बैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा बाम गठबन्धनको तर्फबाट स्पष्ट बहुमतका साथ बनेको गाउँपालिकाले विकासको गतिलाई अगाडि बढाएको छ । सोही विकासको गतिलाई बढावा दिने मध्यका एक हुन् काठेखोला गाउँपालिका–७ का वडाअध्यक्ष प्रेम लामिछाने । एमालेको तर्फबाट वडाध्यक्ष्मा निर्वाचित भएका लामिछानेसँग सहकर्मी तारानाथ आचार्यले गरेको छोटो कुराकानी ।
वडाअध्यक्षको रुपमा काम गर्न कत्तिको सहज हुदो रहेछ ?
–मैले पहिले पनि बिभिन्न सामाजिक संघ संस्थामा रहेर काम गरेको थिएँ । अहिले वडाध्यक्षको रुपमा निर्वाचित भएर काम गरिरहेको छु । काम गर्न त्यति असहज छैन् । किनभने काम गरेको अनुभवका कारण अहिले काम गर्न सहज भएको छ । जनप्रतिनिधि भएर जनताका काम गर्न सहज रहेको भएपनि अहिलेको अवस्थामा सिधा वडामा बजेट नजाँदा र नीति तथा कार्यक्रमहरु वडा तहमा बनाउन नसक्दा थोरै असहजता छ तर काम गरिएको छ । जनतालाई सेवा दिईएको छु भनेर बुझ्नुहोस ।
वडाअध्यक्ष भएपछि जनताले महशुस गर्ने गरी के–के काम गर्नुभयो ?
–हामीले धेरै काम गरिसकेका छौं । समय धेरै बितेको छैन तर काम धेरै भए । हाम्रो मुख्य काम भनेको लामो समयदेखि थाँती रहेको एक्लेघाट पुलको निर्माणका लागि सर्वे गर्ने काम हो । यो काम हामीले गरिसकेका छौं । यो पुलको निर्माणका लागि स्थानिय सरोकारवाला र माननियलाई समेत राखेर प्रक्रिया अगाडि बढाउन पहल गरीदिन भनेका छौं । जग्गा बिहिन अवस्थामा रहेको स्वास्थ्य चौकी भवन निर्माणको लागि जग्गा निशुल्क तथा केही सशुल्क गरेर निर्माण गरेका छौं । अर्को सरकारी जग्गामा रहेको साुदायिक भवनलाई वडाको मतहतमा ल्याएर स्थानिय रुपमा तालिम हलको रुपमा विकास गरेका छौंभने सबैभन्दा धेरै बजेट गाउँपालिकाबाट पाउने वडाको रुपमा हाम्रो वडालाई स्थापित बनाएका छौं । त्यस्तै पर्यटकीय पदमार्ग निर्माण गरेर मदन भण्डारी स्मृति पार्क निर्माणको काम हामीले गरी सकेका छौं । खेल मैदानको निर्माण गरेका छौं । यि र यस्तै हुन हामीले जनतालाई महसुस हुने गरी गरेका कामहरु ।
वडा कार्यालय नियमीत नखुल्ने र सचिव नभेटिने समस्या छ भन्छन नि ?
–वडा कार्यालय नखुल्ने समस्या छैन । नियमित रुपमा वडा खोलेर जनतालाई सेवा दिने काममा हामी प्रतिबद्ध छौं । सचिव नहुने समस्या पनि हाम्रोमा छैन् । सचिव नियमित आउनुहुन्छ । स्थानिय एकजना कर्मचारी हुनुहुन्छ । उहाँ पनि नियमित आउने भएकाले वडाबाट प्रवाह हुने सेवामा कुनैपनि समस्या छैन ।
हजुरको क्षेत्रको विकासका लागि गाउँपरिषदबाट के–के योजनाहरु अगाडि सार्नु भएको छ र हालसम्म के–के गर्नु भयो त ?
–हाम्रो गाउँको लागि बाटो प्राथमिकतामा राखेका छौं । पुर्वाधार निर्माणको चरणमा रहेकाले बाटो मुख्य कुरा हो भन्ने लागेको छ । शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, पर्यटन लगायतका क्षेत्रको विकासको लागि योजना बनाएर माग गरेका छौं । बिहुँ–सुल्डाँडाहुँदै गाजाको दहसम्मको बाटो प्राथमिकतामा छ । जसको लागि २६ लाख रुपैयाँ बजेट बिनियोजन भएको छ । सिगाना–लामाचौरहुँदै बौरको बाटोको योजना माग गरेका छौंभने कुकुर काटे–आरिम्पाटाहुँदै पिपलडाँडा सडक प्राथमिकतामा राखेर योजना माग गरेका छौं । बिद्यालयहरुमा बिज्ञान प्रयोगशाला, सुबिधायुक्त भवन र पुर्व बालकक्षाका लागि आवस्यक स्रोत साधनको व्यवस्थापनको लागि योजना माग गरेका छौं । कृषिमा आधुनिक औजारको प्रयोग र आत्मनिर्भर उत्पादनमुखी व्यवसायिक कृषिको लागि योजना बनाएर माग गरिएको छ र केही काम भैरहेका समेत छन् । वडालाई आलुको पकेट क्षेत्र बनाउन माग गरेका छौंभने फलफुलका बिरुवा बितरण तथा फलफुल खेतीका लागि कृषकलाई प्रोत्साहनका कार्यक्रम समेत माग गरिएको छ । खेलकुदको विकासको लागि खेलमैदान निर्माण भैसकेको छभने खेल सामाग्री र तालिमको व्यवस्थाको लागि गाउँपालिकामा योजना बनाएर माग गरिएको छ । पर्यटनको विकासका लागी हामीले योजना बनाएरै पदमार्ग निर्माण, पार्कहरुको निर्माण तथा पर्यटकीय क्षेत्रहरुको पहिचान, प्रचार र प्रबद्र्धनको काम भैरहेको छ ।
तपाईको वडाका सडक कच्ची छन, कहिलेसम्म पक्की बनाउनु हुन्छ ?
–मैले मेरो कार्यकालमा गाउँपालिकादेखी वडापालिकासम्मको सडकलाई पक्कि गर्ने योजना बनाएको छुभने अन्य सडकहरुलाई ग्राभेल गर्ने योजना छ । कम्तिमा सडकहरुलाई नाली काटेर सामान्य सोलीङसम्म गर्न सकियो भने बाह्रै महिना सडक सञ्चालन गर्न सकिन्छ भन्ने हो ।
आफ्नो कार्यकालमा हजुरको वडालाई कस्तो बनाउने योजना हुनेछ ?
–हामीलाई अमुल्य मत दिएर वडाको विकासका लागि जिम्मेबारी दिनुहुने आम वडाबासीले देख्ने गरी भौतिक पुर्वाधार निर्माणको काम गछौं । जसबाट स्थानीयको आर्थिक सामाजिक जिवन स्तरमा परिवर्तन आओस भन्ने हाम्रो धेयय हो । शिक्षा, स्वास्थ्य, कृषि लगायतका बिषयगत कुरामा आम सर्बसाधारणको पहुँच सर्वसुलभ रहने ब्यबस्था मिलाउँछौं । ब्यबसायिक खेती गरेर आम्दानी बढाउने तथा स्वरोजगार बनाउने काम ५ बर्षको अबधिमा हुने छ । बिष बर्से विकासको रणनीती तयार पारेर कार्यान्वयन गर्ने कामको सुरुवात हुने छ । पर्यटन र खेलकुदको क्षेत्रमा महत्वपुर्ण कामहरु गर्दै यो क्षेत्रलाई विकास गर्ने काम हुने छ । सबैभन्दा महत्वपुर्ण कुरा के गर्दै छौं भने वडामा रहेका ९० घरधुरीका खरका छानाहरुलाई वडा कार्यालयको सहयोगमा टिनको छानामा परिवर्तन गर्ने काम हुने छ । जुन न्युन आर्थिक अवस्था भएका परिवारको लागि खुसीको कुरा बनोस् भन्ने हाम्रो मान्यता हो । उनीहरु आँफै टिनको छाना लगाउन सक्ने आर्थिक अवस्थामा छैनन् । हामीले उनीहरुलाई सहयोग गर्ने छौं । अर्को कुरा पछिललो समय बाँझो जग्गा बढ्दै गएको छ । बाँझो जग्गाको उचित ब्यवस्थापन गर्दै उत्पादन युक्त जग्गाको रुपमा प्रयोग गर्न वडाबासीलाई प्रोत्साहन गर्ने योजना बनाएका छौं । यो काम हामी गछौं र उत्पादन बढाउन तिर लाग्छौं । बाँझो जग्गा मुक्त वडाका रुपमा परिचय बनाउने योजना छ ।
अन्त्यमा यस जनमञ्च अनलाईनमार्फत केही भन्नु छ कि ?
–यो तपाईंको पत्रिका निकै लोकप्रिय पत्रिका हो । यसमार्फत सम्प्रेसित भएका सुचनाहरुले हामीले गरेका काम र कमजोरीमा खबरदारी गर्ने गरेको छ । निस्पक्ष रुपमा तपाईहरुले चलाएको कलम र हामीलाई दिएको अवसरले स्थानिय तहको विकासमा टेवा पुगेको महशुस मैले गरेको छु । यसरी नै नियमित हामीलाई रचनात्मक आलोचना र सकारात्मक सहयोग गर्दै जानुहोला शुभकामना छ । अनलाईन पत्रिकाको सम्पुर्ण टिमलाई यो अवसरका लागि धन्यवाद ।
बाँझो जग्गा र खरका छाना व्यवस्थापन गर्छौ-वडाध्यक्ष लामिछाने
Previous Articleभर्न नपाईएको माघे संक्रान्ति मेला
Next Article ओली-दाहाल तीन घण्टा वार्ता, तीन एजेण्डामा छलफल