शिवशरण ज्ञवाली
यसपालि पनि माघे संक्रान्ति मेलामा रिडी मेला भर्न जान सकिएन । ‘म ताक्छु मुढो, बञ्चरो ताक्छ घुँडो’ भनेजस्तै भयो । केही महिना अगाडिदेखि यसपालि जानुपर्छ भन्ने योजना बनाइरहेको थिएँ, साथीसँग । तर माघे संक्रान्ति नजिकिदै जाँदा पारिवारिक पुर्नमिलन भयो, त्यो पुर्नमिलनले पनि थोरै बाटो छेक्यो । कुरा त्यतिमै सीमित रहेन, पारिवारिक पुर्नमिलनमा रमाउन पनि नपाउने गरी स्वास्थ्यमा समस्या आएकाले माघे संक्रान्तिको दिन पोखराको मणिपाल हस्पिटलमा परीक्षण र उपचारका लागि लाग्नुप¥यो ।
घुइरोघुइरो सम्झना छ, रिडीमा मेला भरेको ! शायद २०५४÷५५ सालभन्दा अगाडि हुनुपर्छ, पछाडि होइन । मलाई के याद छ भने एसएलसी पास नगर्दासम्म म रिडी आएको थिइन । ५४ को पूरकमा एसएलसी गरेपछि मात्रै रिडी खोला तरेको हुँ । त्यसभन्दा केही पहिला म रिडी मेला भर्न आएको हुनुपर्छ । शायद दाइ र म माघे संक्रान्तिको दुई दिन अगाडि नै मावल गएको हुनुपर्छ । मावलबाट भोलिपल्ट मामा, दाइ र म रिडीतिर हिड्यौं । मलाई हिडेको डाँडो याद छ, शायद राजामाथिको हो कि तर बिरबासपछिको जस्तो पनि लाग्छ है । राजामाथिको भएको भए बा ले पढाएको रुन्खा दहको स्कुल मामाले अवश्य पनि देखाउनुहुन्थ्यो । हामी चौपरीमा गाडी कुरेर बसेका थियौं । आजकल जस्तो न पिच बाटो थियो न प्रशस्त गाडीहरु नै चल्थे । घन्टौं कुरेपछि गाडी आउँथ्यो । हामी बसिरहेको बेला एक जना मानिस आए, जो धेरै वर्ष पहिला तराई झरेर माघे संक्रान्तिका लागि गाउँ आएका रहेछन् तर उनको समस्या के रहेछ भने पहाडमा गाडी चढ्न डर लाग्ने । त्यसकारण उनले पैदल यात्री खोजी गरेका रहेछन् । आजजस्तो चिनेको मानिसलाई पनि नचिनेको जस्तो गर्ने जमाना पनि थिएन । बाटोमा कोही भेटियो भने ‘कहाँ होला घर ?’ ‘यहाँलाई चिनिएन नि ?’ वा ‘यहाँलाई चिनेजस्तो लाग्यो ?’ भनेर अपरिचित यात्रीहरु एक अर्कासँग कुरा सुरु गर्थे । शायद गाउँतिर अझै पनि यो परम्परा कायमै छ । ती यात्रीले पनि हामीसँग त्यसैगरी कुरा गरे होलान् । मलाई सम्झना छैन । अनि मामा पनि हिड्न तयार हुनुभयो । मामाको नेतृत्वमा गएका हामी मामाका पछिपछि लाग्यौ । एक त दिनभर जसो कुरेर गाडी चढ्नुपर्ने अर्को भाडा पनि तिर्नुपर्ने । भाडाको दायित्व भान्जाहरु भएको नाताले मामातिरै सोझिन्थ्यो । कहिलेकाही दिनभर कुर्दा पनि गाडी नपाएर हतारहतार हिडेर पनि जानुपर्न सक्थ्यो । त्यसकारण मामाहरु अगाडि हामीहरु पछाडि पछाडि हिड्यौं । मामाहरु मोटरबाटो छोडेर डाँडाडाँडाको बाटो हिड्नुहुन्थ्यो, हामी दुई भाइ पछिपछि दौडन्थ्यौं । त्यसै गरेर हामी बलेटक्सारदेखि तलबाट सानिमाको घरतर्फ लाग्यौं । सानिमाको घर त्यहाँदेखि निकै तल छ, अर्कै ओखलढुंगा भन्ने गाउँमा । तर मलाई आज पनि गाडीमा त्यही बाटो भए जाँदा सानिमाको घर जाने बाटो त्यही हो जस्तो लाग्छ, त्यसैले मुन्टो बटारेर त्यतातिर हेर्छु । तर त्यो बाटो पनि अब अपायक भएछ भन्ने कुरा पोहोर साल फागुनमा सानिमाको घर पुग्दा लाग्यो । भाइले रिडीबाट मोटरसाइकलमा उत्खिेरै घर पु¥याए । दोस्रोपटक सानिमाको घर जाने औसर मिलेको थियो, बहिनीको बिहेको छेको पारेर । तर पनि मलाई बहिनीको बिहेमा बस्ने साइत जुरेन । परिबन्दले त्यस्तै गराउँदा बिहेकै अघिल्ला दिन म आफ्नो बाटो लागे ।
बलेटक्सारबाट हामी साँझ मात्रै सानिमाको घर ओखलढुङ्गा पुग्यौं । मामाको पदचाप पछ्याउँदै जाँदा मामाले पनि बाटो बिराउनु भएछ, क्यार ! कसैलाई सोध्नुभयो अनि सानिमाको घर पुग्यौं, अँध्यारै भएपछि । आज जस्तो फोनको सुविधा पनि थिएन तर मेरो अनुमानमा रिडीको नजिक रहनुभएकी सानिमाले खाना पकाउँदा त्यसदिन अलिक विचार पु¥यानुहुन्थ्यो होला किनकी रिडी मेला भर्न जाँदा सानिमाकोमा हामीजस्तै आफन्तहरु बास बस्न जानुहुन्थ्यो भनेर बा आमा सुनाउनुहुन्थ्यो । त्यससाँझ हामी कहाँकहाँ सुत्यौं, बसाइमा के के गफ भयो मलाई सम्झना छैन । भोलिपल्ट सखारै मामाले अर्को भान्जाको पनि जिम्मा लिनुभयो । शायद विष्णुको ? मामाका लागि हामी ब्रहमा, विष्णु र महेश्वर नै भयौं क्यार ! नाम पनि हाम्रा उस्तै हरि, शिव अनि विष्णु ! अब मामा तिन भान्जाको नेता बन्नुभएको थियो । मामाको पदचाप पछ्याउँदै हामी रिडीतिर ओरालो लाग्यौं । एउटा अज्ञात हल्लाले सबैतिर त्रास थियो । रिडीमा मानिसहरु हराउँछ हरे भन्ने हल्ला थियो । भूत हो वा अन्य केहीले मानिसहरु लैजान्छ रे भन्ने हल्लाले हामी केटाकेटीको मनमा पनि डर थियो त्यसैले हराउन नपाइने उर्दी शायद मामाले जारी गर्नुभयो होला, त्यसमा हामी तिन भाइले ल्याप्चे ठोक्यौं होला । त्यसकारण हामी हाम्रो भौतिक सम्बन्ध पनि कसिलो गराउँदै एक अर्कालाई छोएरै हिड्ने नीतिमा अगाडि बढ्यौं जस्तो लाग्छ तर खास कसरी गयौं सम्झना छैन । रिडी खोलाको अलिक माथितिर गएर नुहाउने कर्म भयो । पक्कै पनि हामीले नुहायौं किनभने आठ वर्षको उमेरमा हामी दुई भाइले व्रतबन्ध गरिसकेका थियौं । भाइले भने ननुहाएको हुनुपर्छ । नुहाइवरी मामाले सानिमाले चिउरीको पातको टपरीजस्तो लाग्छ, त्यसमा पोको पारिदिनुभएको ढकनी खोल्नुभयो । अरु सम्झना छैन, अनि केवल त्यही चिउरीको पात खोलेको र खै के को हो अचार खाएको सम्झना छ । त्यसपछि मामा र दाईले भाइ र मलाई फिल्म हेर्नका लागि लगे । हराउँछन् भन्ने डरले हो कि पैसा नभएर हो कि वा आफूहरु घुम्नका लागि हो कि हामीलाई मात्र हाइभिजन हल (यो हाइभिजन हल भन्ने के हो ? मलाई आजसम्म पनि थाहा छैन ।) भित्र छिराएर आफूहरु बाहिर बस्नुभयो । हलभित्र हामीले धीरेन शाक्य नायक भएको ‘छहारी’ फिल्म हे¥यौ । फिल्म हेराइ मेरो लागि दोस्रोपटक भए पनि जीवन्त प्रस्तुति रहने चलचित्रको सजीव तस्वीर अझै पनि मेरा मनमा जस्ताको तस्तै छ । हलबाट निस्कदा मामा र दाई गेटमै हुनुहुन्थ्यो अनि साँझ हामी मामाकै कमान्डमा घर फर्कियौं ।
भोलिपल्ट हो या पर्सिपल्ट हामी सानिमाको घरबाट हिड्न थाल्यौं । हिड्न थाल्दा बहिनी मन्दिराले हाम्रो पछि लागेर निकै ठूलो आन्दोलन गरिन् ! लिएर जाउँ फेरी छोड्न को आउने ? नलैजाऊँ बहिनीले निकै पिछा गरिन् । शायद मामाले पैसासैसा दिएर बहिनीको आन्दोलनलाई तुहाइदिनुभयो कि जस्तो लाग्छ । अनि हामी घर फर्कियौँ । आज बीस वर्षपछि सम्म पनि यातायातको व्यापक सुविधा र रुरु क्षेत्रको नजिकै बस्दा पनि त्यो मेला भर्न जान पाइएको छैन । आज पनि मेलाले धार्मिक, सांस्कृतिक, पौराणिक र ऐतिहासिक परम्परालाई कायमै राखेको छ रे ! कम्मल, राडीपाखी तथा स्थानीय उत्पादन खुदो, गुँड, घाँजीको बेचबिखन कायमै छ रे ! आयायित संस्कृतिले चारैतिर अतिक्रमण गर्दा पनि यो मेलाले त्यस्ता संस्कृतिलाई निश्चित सीमामै कैद गरेको छ रे ! बरु यसको बिस्तार भएर आजभोलि दुई चार दिन मेला लाग्न थालेको छ रे ! शहरीकरण र हराउँदो मौलिकतासँगै हाम्रा सामाजिक सम्बन्धहरु पनि खुकुलो बन्दै जाँदा पनि मेलाले सामाजिक सम्बन्धहरुलाई, पद यात्रालाई, स्थानीय उत्पादनलाई प्रवद्र्धन गरेको कुरा सुन्दा मन फुरुङ्ग भएको छ । अर्को साल त सानिमाले पकाएको ढकनी खाने गरी कसो नजाउँला र माघे संक्रान्ति मेला भर्न गुल्मी, पाल्पा र स्याङ्जाको सङ्गमस्थल पावन रूरू क्षेत्रमा ?