काठमाडौँ, ५ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकता र सरकार निर्माणबारे चार घण्टासम्म छलफल भएको छ ।
एमाले अध्यक्ष ओली निवास बालकोटमा दिउँसो १ बजेदेखि ४ बजेसम्म भएको भेटवार्ताका क्रममा मूख्य तीनवटा विषयमा गम्भीर छलफल भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका छन् ।
‘पहिलो त राष्ट्रिय सभा गठनबारे दुई पार्टीबाट गठित कार्यदलले दिएको प्रतिवेदनबारे दुई नेताबीच छलफल भएको छ । छलफलमा प्रतिवेदनलाई सामान्य हेरफेरपछि अन्तिम रुप दिने सहमति दुई नेताबीच भएको छ’, अधिकारीले भने, ‘त्यसैगरी दोस्रो एजेन्डाकारुपमा प्रदेश सरकार गठनबारे पनि छलफल भएको छ । प्रदेश सभाका सम्भावित मूख्यमन्त्रीबारे पनि छलफल भएको हो ।’
अधिकारीका अनुसार एक्ला एक्लै भएको यो भेटवार्ताको तेस्रो एजेन्डा थियो पार्टी एकता प्रक्रिया । ‘पार्टी एकताको प्रक्रियाले अन्तिम रुप लिँदैछ । यसबारेमा दुई नेताबीच लामो छलफल भयो’, अधिकारीले भने, ‘पार्टी एकतालाई अन्तिम रुप दिन दुई अध्यक्षहरुबीच गृहकार्य गर्ने गरी छलफल अघि बढाएर माघ ७ गते पार्टी एकता संयोजन समितिको बैठक बस्ने निर्णय भएको छ ।’
केन्द्र सरकार गठनको विषय भने अहिले दुई नेताको एजेन्डामा नपरेको बताइएको छ । निर्वाचन आयोगले समानुपातिकको नतिजा नै सार्वजनिक गरिनसकेकाले दुई नेता पहिले पार्टी एकतालाई मूर्तरुप दिन जुटेका ओलीको सचिवालयले जनाएको छ ।
Previous Articleबाँझो जग्गा र खरका छाना व्यवस्थापन गर्छौ-वडाध्यक्ष लामिछाने
Next Article चार बिद्यालय सेमिफाईनलमा प्रबेश