बागलुङ, ५ माघ – प्रतिनिधि र प्रदेशसभा निर्वाचनको परिणाम आएको डेढ महिना बित्दा पनि संसद गठन नभएपछि सांसदहरु बेकामे भएका छन् । यद्यपी सरकारले प्रदेश प्रमुखहरु तोकेकोले केही समयमै दुवै संसद गठन हुने प्रकृयामा भने अगाडि बढेको छ । संसदमा जानुपर्ने भएपनि फुर्सदीला भएपछि सांसदहरु एकपछि अर्को गाउँले कार्यक्रममा सक्रिय भएका हुन् ।
बरु उनीहरु गाउँका सामाजिक काम, मेला महोत्सव लगायतका क्रियाकलापमा सक्रिय भएको देखिएका हुन् । हरेक दिनका जिल्ला स्तरीय औपचारिक कार्यक्रमको उद्घाटन, भाषण र ब्यक्तिगत काममा समय बितेको प्रतिनिधिसभा सदस्य डा. सुर्य पाठकले बताए । ‘सांसदको सपथग्रहण फाल्गुणको पहिलो साता हुन्छ होला’ पाठकले भने ‘खाली समयमा केही ब्यक्तिगत कामपनि त गर्नु प¥यो नी ।’ पाठक यतिवेला ब्यक्तिगत कामको शिलशिलामा चितवन हानिएका छन् । केही दिन अगाडि मात्रै ब्यक्तिगत कामको शिलशिलामा काठमाण्डौ गएर फर्किएका पाठक माघे सक्रान्तिको अवसरमा आयोजना भएका जिल्लाका केही कार्यक्रमहरुको उद्घाटन, समापन र अनौपचारीक भेटघाट सकेर चितवन तिर लागेका हुन् ।
प्रदेशसभा सदस्यहरु पनि यतिवेला आ–आफ्नै निर्वाचन क्षेत्रमा छन् केहीले घरका काम गर्दै छन भने केहीले भेटघाट र सामाजिक क्षेत्रका काम गर्दै समय बिताएको बताएका छन् । जिल्लाको क्षेत्र नं १ प्रदेशसभा १ का सांसद इन्द्रलाल सापकोटा यो समाचारका लागि सम्पर्क गर्दा आफन्तको देहावशानमा सागर जाने तरखरमा थिए । सांसदको काम सुरु नभएकाले प्रतिफल आउने गरी केही काम गर्न नपाएको उनले गुनासो गरे । अनौपाचरिक भेटघाट र सामान्य कार्यक्रमहरुमा सहभागी भएर समय बित्ने गरेको सापकोटाले बताए ।
‘आधिकारीक रुपमा केही खवर आएको छैन तर अव छिट्टै सपथ खाने काम हुन्छ होला’ सापकोटाले भने ‘प्रदेशसभा सुरुभएपछि जनताले देख्ने गरी र महसुस गर्ने गरी काममा लाग्छौं ।’ आँफुहरुले जनताले दिएको मतको कदर गर्ने अमुल्य समय खेरा गईरहेको महसुस गरेको बताए । कानुनी जटीलता र सरकारका कारण प्रदेशसभा बैठक बस्न नसकेको उनको टिप्पणी थियो । भर्खर मात्रै सरकारले प्रदेश प्रमुख तोकेकाले केही दिनभित्रै प्रदेशसभा बैठक बस्ने र आँफुहरुले काम थालनी गर्न पाउने बिश्वास सापकोटाले ब्यक्त गरे ।
उता, जिल्लाको क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य देबेन्द्र पौडेल भने निकै दौडधुपमा छन् । जिल्लामा हुने सानातिना कार्यक्रममा सहभागी हुने देखी काठमाण्डौमा हुने पार्टीका बैठकहरुमा पौडेल सहभागी हुँदै आएका छन् । प्रतिनिधिसभाको बैठक नबसेपनि आँफुलाई भने फुर्सद नरहेको पौडेलले बताए । यो समाचार तयार पार्दा समेत पौडेल पार्र्टीको महत्वपुर्ण बैठकमा सहभागी थिए ।
गठबन्धन बनाएर चुनावमा गएका पार्टीहरुको एकताको पक्षमा रहेका पौडेलले एकताको लागि दलहरुसँग औपचारिक र अनौपचारिक छलफलमा समय बित्ने गरेको बताए । त्यस्तै क्षेत्र नं १ को प्रदेशसभा २ का सांसद कृष्ण थापा र क्षेत्र नं २ को प्रदेश सभा १ का सांंसद चन्द्रबहादुर बुढा यतिबेला आफ्नै निर्वाचन क्षेत्रमा छन् । गाउँमा हुने समान्य कार्यक्रम र आफ्न्त सँग भेटघाट तथा घरायसी काममा दिन बित्ने गरेको बुढाले बताए । ‘खासै केही काम छैन् गाउँतिरैका काममा दिन बितेका छन्’ बुढाले भने ‘अनौपचारिक भेटघाटमै समय बित्दै छ ।’
सरकारले समयमा प्रदेश प्रमुखको नियुक्ती र प्रदेशको अस्थायी राजधानी तोक्न नसक्दा सपथ खान नपाएका प्रदेशसभाका सांसदहरु प्रदेशको काम गर्ने बेला भेटघाट र घरायसी काममा दिन बिताउन बाध्य भएका हुन । राष्ट्रिय सभाको निर्वाचन र समानुपातिक सांसद निर्वाचित भएको घोषण निर्वाचन आयोगले समयमा गर्न नसक्दा प्रतिनिधिसभाका सांसदहरु बेकामी बेनेका हुन् ।
Previous Articleप्रदेश प्रमुखले लिए पद तथा गोपनियताको सपथ
Next Article बिमानस्थलबारे बागलुङ नगरपालिकाको ध्यानाकर्षण