काठमाडौं, १० असोज – आइतबार अपरान्ह भएको जीप दुर्घटनामा वेपत्ता भएका पूर्वगृहमन्त्री तथा पूर्व मुख्यसचिव माधव प्रसाद घिमिरेसहित उनका दुई भाईको अवस्था अझैं अज्ञात रहेका छ । प्रहरीले वेपत्ताहरुको खोजीकार्य जारी रहेको तर अहिलेसम्म फेला पार्न नसकिएको बताएको छ ।
पृथ्वी राजमार्गको दाह्रेचोक गाविस–३ घोप्टेभिरबाट त्रिशूली नदीमा ९ च १५३१ जीप खस्दा घिमिरेसहित भाईहरु प्रकाश र मोहन वेपत्ता भएका हुन ।
दुर्घटनामा घिमिरेकी आमा ८० वर्षीया चैतन्यकुमारी, सुरक्षागार्ड सशस्त्र प्रहरी नायब निरीक्षक रामचन्द्र कार्की र आफन्त नारायण काफ्लेको मृत्यु भएको थियो ।
जीप पूर्ण रुपमा नदीमा डुबेको र नदीको बहाब पनि ठूलो भएका कारण खोजी कार्यमा कठिनाइ भएको चितवनका एसपी वसन्त कुँवरले बताए । आइतबार अबेरसम्म वेपत्ताको खोजी कार्य जारी राखिएको थियो भने आज बिहानैदेखि पनि पुनः खोजी कार्यलाई तीब्रता दिइएको छ ।
प्ररीले दुई टोलीमार्फत बिहानैदेखि मुग्लिन तर्फबाट खोजी सुरु गरेको छ ।
दुर्घटनामा घिमिरेका सवारी चालक प्रहरी हवल्दार विष्णु राई भने घाइते छन् । घाइते राईको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरमा उपचार भइरहेको छ ।
घाइते राईलाई कसैसँग पनि भेट गर्न दिइएको छैन । चालक राईले नै प्रहरीलाई सबैभन्दा पहिले दुर्घटनाको खबर गरेको बताइएको छ । दमौलीमा खाना खाएपछि पूर्व गृहमन्त्री घिमिरेले चालक राईलाई ‘आराम गर’ भन्दै आफैँ गाडी चलाएको चालकलाई उद्धृत गर्दै उद्धारमा संलग्न प्रहरीले जनाएको छ ।
मुक्तिनाथबाट पोखरा हुँदै काठमाडौँतर्फ जाँदै गरेको गाडी दुर्घटनामा परेको हो । विसं २०६६ साउन २२ गतेदेखि २०६९ साउन २१ गतेसम्म मुख्यसचिव भएका घिमिरे खिलराज रेग्मी नेतृत्वको अन्तरिम मन्त्रिपरिषद्मा गृह तथा परराष्ट्र मन्त्री थिए ।
अपडेटः त्रिशूलीमा वेपत्ता पूर्वगृहमन्त्री घिमिरेको अवस्था अझैं अज्ञात
Previous Articleसंविधान संशोधनमा कांग्रेसभित्रै विमति, पौडेलले मागे जवाफ
Next Article जन्मगाउँको विकासका लागि २० लाख सहयोग