काठमाडौं, १० असोज-सरकारले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा/संघीय गठबन्धनसँगको परामर्शमा संविधान संशोधन प्रस्ताव अघि बढाउन लागेपछि सत्तारूढ कांग्रेसभित्रै विवाद चर्किएको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले पार्टीमा सामान्य परामर्शसमेत नगरी सभापति शेरबहादुर देउवाले मुलुकलाई अहित हुने गरी संविधान संशोधनमा सहमति जनाएको भन्दै कडा आपत्ति जनाएका छन ।
पौडेल पक्षले आइतबार आफू पक्षधरको बैठक नै राखी संविधान संशोधनबारे पहिला पार्टीको आधिकारिक धारणा बनाउनुपर्ने अडान लिएको छ ।
पौडेल पक्षले संविधान संशोधन प्रस्तावमा पार्टीको आधिकारिक धारणा के हो भन्दै सभापति देउवासँग प्रश्नसमेत गरेको छ । पौडेल पक्षधर नेताहरूले आइतबार अनामनगरस्थित पौडेलको सम्पर्क कार्यालयमा बैठक गरी संविधान संशोधनको विषयमा असहमति जनाएका हुन् ।
उनीहरूले पार्टीमा छलफल नै नभएका कारण आफूहरू नै दुविधामा परेको र संस्थागत धारणा राख्नै नसक्ने अवस्था आएको निष्कर्ष निकालेका छन् ।
‘कुन–कुन विषयमा संविधान संशोधन गर्ने हो ? पार्टीले पहिल्यै अस्वीकार गरिसकेको मुद्दामा पनि सहमति दिइएको हो कि भन्ने आशंका छ, यस्तो भयो र संस्थागत निर्णय भएन भने स्वीकार्य हुन्न,’ बैठकमा पौडेलको भनाइ उद्धृत गर्दै एक नेताले भने ।