बागलुङ, ३ माघ– भूकम्प पिडितको लागत संकलन समयमा गर्न नसक्दा धेरै घरहरु मापदण्ड विपरित बनेको भेटिएको छ । भूकम्प गएको तीन बर्ष पुग्नै लाग्दा मंसिर अन्तिम साता बागलुङमा पुननिर्माण प्राधिकरणको कार्यालय स्थापना भएकोले धेरे घर मापदण्ड विपतित भएको पाईएको हो । गत असारमा जिल्लामा लाभग्राहीलाई पहिलो किस्ता दिएर घर बनाउने अभियान थालिएपनि त्यो प्रभावकारी नभएको समेत भेटिएको हो ।
२ हजार ३ सय ७५ लाभग्राहीले अनुदान पाएर घर बनाउने तथ्यांक भएपनि ८० प्रतिशत घर मापदण्ड विपरित बन्ने क्रममा रहेको प्राधिकरणको बागलुङ हेर्ने ईन्जिनियर बिक्रम सापकोटाले बताए । ‘प्राधिकरणका प्रमुख कार्यकारीको उपस्थितिमा भएको छलफलमा हामीले यो समस्या भनेका छौं’ सापकोटाले भने, ‘रेक्टोफिटिङ गर्न मिल्ने संरचनाको खोजी गरेर मापदण्डमा ल्याउन पहल गर्ने कुरा भएको छ ।’ समयमा अनुदान नपाएपछि घर भत्केर टहरामा बस्दै आएकाहरुले धमाधम पुरानै शैलीमा घर बनाएको भेटिएको हो ।
प्राधिकरणले तोकेका नमूना तथा मापदण्डका घर नभएको अवस्थामा अनुदान पाउन सकिदैंन । प्राधिकरणका अनुगमन विशेषज्ञ डा. योगेन्द्र रिजालको उपस्थितिमा गत असारमा अनुदान सम्झौता शुरु भएको थियो । त्यसअघि गाउँगाउँमा खटिएको टोलीले जिल्लाको ३ हजार ८ सय २९ घरमा क्षति पुगेको भेटाएकोमा अनुदान पाउने घर २ हजार ३ सय ७५ मात्र रहेका हुन् । समावेश नभएका पिडितले जिल्ला प्रशासन, समन्वय समिति र प्राधिकरणको कार्यालयमा पनि समावेश गराउन माग गर्दै आएका छन् । क्षति भएका घर निर्माणका लागि सरकारले तीनपटक गरेर ३ लाख रुपैयाँ अनुदान दिने कार्यक्रम छ । पहिलो चरणमा ५० हजार रुपैयाँ, प्राविधिक रुपमा प्रावधान पुगेकालाई दोश्रो चरणको १ लाख ५० हजार रुपैयाँ र तेस्रो चरणमा शौचालय समेत बनेपछि थप १ लाख रुपैयाँ दिने व्यवस्था बनाएको हो । समितिको तथ्यांकमा परेका पिडितले तत्कालै समझौता गरेर ५० हजार रुपैयाँ लैजान पाउने व्यवस्था छ । जिल्लाको पैयुँपाटा, रायडाँडा, सिगाना, बिनामारे लगायत गाविसमा सबैभन्दा धेरै क्षति भएको थियो ।
पिडितलाई सरकारी तथा गैर सरकारी संस्थाहरुले तत्कालका लागि राहत सामाग्री, खाद्यान्न र जस्तापाता वितरण गरेका थिए । यसैबीच मंगलबार २० औं राष्ट्रिय भूकम्पीय सुरक्षा दिवश मनाईएको छ । विसं १९९० सालको महाभूकम्प गएको दिनको सम्झनामा यो दिवश मनाइन शुरु भएको हो । भवन डिभिजन कार्यालय, नेपाल रेडक्रस सोसाईटी, सुआहारा कार्यक्रमले संयुक्त रुपमा दिवश मनाएका हुन् । कार्यक्रममा बोल्ने वक्ताहरुले सुरक्षित भवन बनाएर राज्यको पुननिर्माण अभियान सफल पार्न आग्रह गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख बिष्णु भूषाल, भवन डिभिजन कार्यालयका प्रमुख ईन्जिनियर प्रकाश अर्याल लगायतले बोलेका थिए । प्रजिअ बिष्णुबहादुर थापाको अध्यक्षता, डिभिजनका बद्री गौतमको संचालन र ईन्जिनियर तेजेन्द्र पौडेलको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।