पर्वत, ३ माघ– छोरा भएका आमाबुबालाई छोरी र छोरी भएकालाई छोराको इच्छा होस् वा अनिच्छित गर्भ होस, त्यसको सजिलो माध्यम नै गर्भपतन भएको छ । राज्यले १२ हप्तासम्मको गर्भ महिलाको इच्छानुसार आकस्मिक सेवाको रुपमा मान्यता दिएपनि पछिल्लो समयमा सुरक्षित गर्भपतन संस्कृतिको रुपमा मौलाउदै गइरहेको छ । नेपाल परिवार नियोजन संघ पर्बत शाखाका अनुसार, आर्थिक बर्ष ०७३/७४ मा ११ सय ५४ जनाले सुरक्षित गर्भपतन सेवा लिएको जनाएको छ । प्रजनन स्वास्थ्य सचेतनाको अभावका कारण गर्भपतन गराउनेहरुको संख्या वर्षेनि थपिदै गइरहेको छ । गत बर्ष ०७२÷७३ को एक वर्षको अवधिमा पर्बतमा झण्डै एक हजार जनाले गर्भपतन गराएको भएपनि यसबर्ष भने गर्भपतन गराउनेको संख्या बढेको परिबार स्बाथ्थ कार्यक्रमको फोकल पर्सन सीमा कुंबरले जानकारी दिइन् । जसमा १५ देखि ४० वर्ष उमेर समुहका महिलाहरुले गर्भपतन गराएका छन् ।
जिल्लाभित्र रहेका बिभिन्न स्बास्थ्य संस्थाबाट गरी ११ सय ५४ जनाले गर्भपतन गराएका छन् । त्यसमध्ये सबैभन्दा धेरै जिल्ला अस्पताल पर्बतबाट गर्भपतन गराउनेको संख्या बढी देखिएको छभने, अन्य स्बास्थ चौकीबाट पनि गर्भपतन गराउनेको संख्या बढिरहेकोे कुंबरले जानकारी दिइन् । उनका अनुसार, देबिस्थान स्बास्थ्य चौकी तथा हुबास स्बास्थ्य चौकी लगायत अन्य ग्रामिण स्बास्थ्य संस्थाबाट गर्भपतन गराउने बढेको पाईएको हो । कानूनले सुरक्षित रुपमा तोकिएका स्वास्थ्य संस्थाहरुले गर्भपतन सेवा दिइरहँदा गर्भपतनलाई परिवार नियोजनको साधनका रुपमा प्रयोग गर्दा सेवाको दुरुपयोग भएको जिल्ला अस्पताल पर्बतका प्रमुख डा. बुद्धिबहादुर थापाले बताए ।
चेतना र स्वास्थ्य शिक्षाको अभावका कारण भन्दा पनि लार्पवाहीका कारण महिलाहरुले गर्भपतनलाई परिवार नियोजनको साधनका रुपमा अपनाएको उनले बताए । सानै उमेरमा प्रेम विवाह, प्रेम सम्बन्ध र प्रजनन स्वाथ्य चेतनाको अभावका कारण गर्भपतन गराउने किशोरीहरुको संख्या केहि मात्रामा दोहोरिदै आइरहेको परिवार नियोजन संघ पर्बत शाखाले जनाएको छ । स्वाभाविकैले एकपटक रहन गएको अनिच्छित गर्भलाई कानुनी रुपमा पतन गराउने सक्ने कानुनी मान्यता रहेपनि उक्त मान्यता लागु नभएको देखिन्छ । गामीण क्षेत्रका भन्दा शहरी क्षेत्रमा बसोबास गर्ने महिलाहरु दोहोरिने गरेको पाईएको हो । जसका कारण महिलाहरुको स्वास्थ्य जोखिम पनि बढ्दै गइरहेको छ ।