पर्वत, ३ माघ– समाजसेवी एवं राजनीतिका अग्रज शहिद हरिदत्त तिवारीको १५ औँ स्मृति सभा सम्पन्न भएको छ । फलेवास नगरपालिका–३ शंकरपोखरीमा सभाको आयोजना गरिएको हो । हरिदत्त स्मृति प्रतिष्ठानले कार्यक्रमको आयोजना गरि विद्यालयका बालबालिकालाई शैक्षिक सामाग्री, अपाङ्गलाई ह्विलचियर वितरण र सम्मान गरिएको छ ।
कार्यक्रममा फलेवास नगरपालिका भित्र रहेका प्रावि स्तरिय विद्यालय अन्तर्गत ६ वटा प्राथमिक विद्यालयलका बालबालिकालाई झोला, कापी र नगद ५ सय रुपैयाँ प्रोत्साहन रकम वितरण गरिएको छ । त्यस्तै साविक शंकरपोखरी–८ मैदानका अपाङ्गता भएका पूर्णवहादुर नेपालीलाई एक थान ह्विलचियर प्रदान गरिएको छ । स्मृति प्रतिष्ठानले त्रिभूवन माविमा लामो समयसम्म अध्यापनरत जैमनी नगरपालिका–७ जैदीका शिक्षक भिष्मराज पौडेल र शंकपोखरी निवासी शिक्षक नारायणदत्त जैसीलाई सम्मान पत्रले सम्मान गरिएको छ । पत्रकार रोशन तिवारी र साजन परियारलाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो । स्मृति सभामा बोल्दै वक्ताहरुले हरिदत्त तिवारीले देखेको सपनाहरु पुरा हुनका लागि सबैले सामाजिक भावन आँगल्नु पर्ने बताएका छन् । शहिद पुत्र एवं नेपाली काँग्रेसका महासमिति सदस्य गंगाधर तिवारीले बोल्दै हरिदत्त तिवारी सबैको साझा व्यक्ति भएझै स्मृति प्रतिष्ठान सबै वर्गको साझा संस्था रहेको बताए । उनले संस्थाले अहिले भन्दा आगामी दिनमा थप सामाजिक काम गर्दै जाने पनि बताए ।
उनले फलेवास नगरपालिकामा समाबेश भएपछि शंकरपोखरीमा विकासका गतिविधीमा झनै सुस्तता देखिएकोमा आक्रोश पोखे । जनताले जुन अपेक्षा राखेका छन् त्यो अनुसार नगरपालिकाले सेवा दिन नसकेको तिवारीले बताए । कार्यक्रममा वडाध्यक्ष एवं शहिद हरिदत्त स्मृति प्रतिष्ठान नेपालका अध्यक्ष अर्जुनबहादुर कार्कीले समाजमा सकरात्मक काम गर्न शहिद तिवारीले मार्गदर्शन गरेको हुनाले उहाँको सम्मानका लागि सबै वडावासीलाई सकारात्मक रुपमा काम गर्न आग्रह गरे । कार्यक्रममा नेपाली काँग्रेस गाउँ कार्यसमितिका उपसभापती प्रेमशर्मा रिजालले तिवारीको योगदानको बारेमा चर्चा गरेका थिए । कार्यक्रमको स्वागत प्रेमप्रसाद भुसाल र सञ्चालन प्रतिष्ठानका सचिव नरबहादुर थापाले गरेका थिए । तत्कालिन नेपाली काँग्रेसका क्षेत्रीय सभापती रहेका तिवारीलाई माओबादीले पुस मसान्तको दिनमा घर नजिकैको जंगलमा लगि हत्या गरेका थिए ।