म्याग्दी, ३ माघ– जिल्लाको सदरमुकाम बेनीबजारस्थित खुलामञ्चमा जारी छैटौं म्याग्दी महोत्सव सङ्गीतमय बनेको छ । म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालित छैटौं म्याग्दी महोत्सव, माघेसक्रान्ति मेला तथा ४ नम्बर प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला कलाकारको बेजोड प्रस्तुतीसँगै महोत्सव सङ्गीतमय बन्दै गएको हो । महोत्सवको चौथो दिन सोमबार राष्ट्रिय कलाकार लाली बुढाथोकी, ज्योती मगर, थानेश्वर गौतम, कुमार कट्टेल (जिग्री), अर्जुन घिमिरे (पाँडे), म्याग्दीका अग्रज कलाकार विरबहादुर कार्की, स्थानीय रवि कार्की, नवीन पुन, राजकुमारी परियार, जीवन कार्की, प्रकाश विक र बाल कलाकार श्रद्धा क्षत्रील लगायतले आ–आफ्नो प्रस्तुती दिएका थिए । सोमबारको दिन माघेसक्रान्ति पर्व समेत परेको हुँदा महोत्सवस्थल खुलामञ्च दर्शकहरुको उपस्थितिले खचाखच भरिएको थियो ।
त्यस्तै हट गायिकाका रुपमा चिनिएकी ज्योती मगरको प्रस्तुती हेर्न भनेर दर्शकहरुको उपस्थिति बाक्लो थियो । कार्यक्रममा ज्योती मगर र म्याग्दीका हाँस्यव्यङ्ग्य एवं लोकदोहोरी गायक रवि कार्कीले लाईभ दोहोरी गाएका थिए । दोहोरीका शब्द चयन र ज्योतीको प्रस्तुती भने वास्तविक दोहोरी जस्तो नभएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको छ । यसैबीच महोत्सवको तेस्रो दिन आइतबारबाट सुरु भएको दोहोरीगीत प्रतियोगिताको पहिलो चरणमा मंगला युवा क्लब र होटल याकबीच भएकोमा होटल याक विजयी भई दोस्रो चरणमा प्रवेश गरेको आयोजकले जनाएको छ ।
यसैगरी सोमबार सम्पन्न दोहोरीगीत प्रतियोगिताबाट बानियाँ गहना पसलले बुद्ध एकेडेमीलाई हराउँदै दोस्रो चरणमा प्रवेश गरेको म्याग्दी उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष एवं महोत्सवको लोकदोहोरी तथा रत्यौली गीत प्रतियोगिताका संयोजक सुविन श्रेष्ठले बताए । सांस्कृतिक कार्यक्रमको मोडल तथा राष्ट्रिय कलाकार शोभा त्रिपाठी र उद्घोषण उपसमिति संयोजक सुरत केसी र सदस्य किरण सापकोटाले सञ्चालन गरिरहेका छन् । मङ्गलबारदेखि खेलकुद प्रतियोगिता अन्तर्गत भलिबल प्रतियोगिता सुरु हुने जनाइएको छ । महोत्सवको अवसरमा कालीगण्डकीमा ¥याफ्टिङ तथा लभ्लीहिलसम्म घोडा सफारीको व्यवस्था गरिएको बताइएको छ । महोत्सव अवलोकन गर्न आउने दर्शकहरुको चाप बढ्दै गैरहेको हुँदा टिकटको बिक्री समेत ह्वात्तै बढेको छ ।
Previous Article‘सपना राना’ बनिन् जैमिनी आइडल
Next Article शैक्षिक सामग्री र व्हिल चियर वितरण