चितवन, ९ असोज-पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरे चढेको गाडी त्रिशुलीमा बेपत्ता भएको छ । घिमिरेसहित ३ जना बेपत्ता छन् भने उनकी आमासहित ३ जनाको मृत्यु भएको छ । गाडी चालक प्रहरी हवल्दार विष्णु राई भने गम्भीर घाइते भएका छन् ।
घिमिरे चढेको बा९च १५३१ नम्बरको गाडी चितवनको दाह्रोचौकस्थित घोप्टेभिरबाट आइतबार साँझ ४ बजे त्रिशुलीमा खसेर बेपत्ता भएको हो ।चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहका अनुसार उनकी आमा चैतन्यकुमारी घिमिरे, सशस्त्र प्रहरीका सई अंगरक्षक रामचन्द्र कार्की र आफन्त नारायण काफ्लेको शव निकालिएको छ । काफ्ले घिमिरेका भाञ्जा भएको बताइएको छ ।
चितवन प्रहरी प्रमुख वसन्त कुँवरका अनुसार पूर्वगृहमन्त्री घिमिरेसहित उनका भाइहरु प्रकाश घिमिरे र मोहन घिमिरे भने हराइरहेका छन् ।घिमिरे परिवार सोह्रश्राद्ध गरेर मुस्ताङको कागबेनीबाट फर्कंदै गरेको पारिवारिक स्रोतले जनाएको छ । घिमिरे आफैंले गाडी चलाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । २०६६ साल साउन २२ गतेदेखि ०६९ साउन २१ गतेसम्म मुख्यसचिव भएका घिमिरे खिलराज रेग्मी नेतृत्वको अन्तरिम मन्त्रिपरिषदमा गृह तथा परराष्ट्रमन्त्री थिए ।
चालकको बयानः दमौलीबाट तिमी थाक्यौ, केबुलकारसम्म म गाडी चलाउँछु भन्नुभयो
पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे आफ्नी ८० वर्षीया आमा चैत्यकुमारीलाई मुक्तिनाथ धामको तीर्थाटन गराएर आइतबार काठमाडौं फर्किँदै थिए । हिन्दू धर्माबलम्बीहरुका प्रमुख चारधाम मध्ये मुस्ताङको मुक्तिनाथ एक हो । स्कारपियो जीपमा आमा र आफन्त लिएर गएका घिमिरेसँग गाडी चालक पनि थिए ।
त्रिशुलीमा खसेको जीपबाट उछिट्टिर बाँच्न सफल भएका घिमिरेका चालक बिष्णु राईले नै प्रहरीलाई सबैभन्दा पहिले दुर्घटनाको खबर गरेका थिए । उनले भने- दमौलीदेखि गाडी उहाँले चलाउनुभएको थियो । दमौलीमा केहीबेर रोकिएपछि घिमिरेले चालक राईलाई भनेका थिए-तिमी थाकेका छौ, केबलकारसम्म म चलाउँछु, अनि तिमी चलाउनू । तर, केबलकार अर्थात कुरिनटार नपुग्दै गाडी त्रिशुलीमा खस्यो ।
घिमिरेको भनाइ सम्झिँदै चालक राईले भने- केबलकार चढ्ने ठाउँ आउन एक/दुई किलोमिटर छ भने जस्तो लाग्छ, त्यसपछि गाडी कसरी उछिटिएर गयो केही पनि थाहा पाइँन ।