म्याग्दी, ३ पुस-म्याग्देलीहरुका लागि मनोरञ्जनको १० दिने ‘फुल प्याकेज’ सुरु हुँदैछ । छैठौं म्याग्दी महोत्सवको पहिलो दिन देखिनै विभीन्न प्रतियोगितात्मक कार्यक्रमसंगै बेजोड साङ्गीतिक प्रस्तुतीका लागि आयोजक म्याग्दी उद्योग वाणिज्य संघले चाँजापाँजो मिलाएको छ । गित संगितमा रमाउन चाहानेहरुका लागि यस पटकको महोत्सव विशेष हुनेछ । दिनभर प्रतियोगितात्मक दोहोरीगीत र साँझ ढल्नेबेला राष्ट्रिय स्तरमा ख्याती कमाएका कलाकारहरुको प्रस्तुतीले म्याग्दी महोत्सवलाई उल्लास र संगीतमय बनाउँदैछ । साँझ ढलेर चिसो सुरु हुँदा धौलागिरी हिमालको काखमा कलाकारहरुको प्रस्तुतीले मौसम गर्माउने पक्का छ । ‘विभीन्न प्रतियोगितात्मक कार्यक्रमसंगै राष्ट्रिय स्तरमा चर्चामा रहेका कलाकारहरुलाई निम्ताएका छौं,’ म्याग्दी महोत्सवका लोक सांस्कृतिक तथा राष्ट्रिय कलाकार ब्यवस्थापन उपसमितिका संयोजक बेलबहादुर कटुवाललेभने, ‘यहाँ आउने दर्शकहरुको चाहानालाई ध्यानमा राखेर कलाकारको टुङ्गो लगाएका छौं ।’ म्याग्दी महोत्सवमा आउने दर्शहरुका लागि मनोरञ्जनमा पनि सबै भेराईटी रहनेछ । ‘दैनिक एउटै प्रकारको कलाकारहरु ल्याउँदा दर्शकहरुको रुची कम हुनसक्छ,’उनले भने,‘हरेक दिन फरक खालको प्रस्तुती हुने गरी फरक विधाका कलाकारहरुलाई ल्याउने कोसिस गरेका छौं । उनले स्थानीय कलाकारलाई समेत सम्मानपूर्वक अवसर दिइएको बताए । ‘कलाकारलाई दिने सम्मानमा कुनैपनि कमी हुने छैन् । यूवापुस्ताको रोजाईमा पर्ने कलाकारहरु पनि आउँछन्’ उनले भने । दर्शकको मनोरञ्जनका लागि लोक, आधुनिक, पपसंगै हाँस्य विधाका कलाकारहरुलाई निम्त्याएको छ । पौष २८ गतेबाट शुरु हुने महोत्सवमा २९ गते गायक यस कुमार र सहिमा श्रेष्ठ, ३० गते बद्री पङ्गेनी, माघ १ गते लाली बुढाथोकी तथा हाँस्य टेलिश्रृंखला भद्रगोलका कलाकारहरु जिक्री र पाँडेको प्रस्तुती रहनेछ । माघ ३ गते चर्चित गायक प्रमोद खरेल, ४ गते प्रिती आले तथा ५ गते रामजी खाँण, माघ ६ गते खड्ग गर्वुजा र गायिका भूमिका गिरीले दर्शकलाई भरपुर मनोरञ्जन दिने आयोजक म्याग्दी उद्योग वाणिज्य संघले जनाएको छ ।
Previous Articleपर्वतमा कुन उम्मेदवारको चुनाव खर्च कति ?
Next Article जमीनमुनिको यात्रा !