तिते करेली-कृष्णराज शर्मा-अमेरिकामा छोरा भएको कारणले हामी यसपाली अमेरिका पुग्यौं । पुग्न त पुग्यौं त्यसअघि त्यहाँ पुग्ने प्रयासमा तेत्तीस कोटी देउता पनि सँझ्यौं । छोराले पठाएको यौटा ‘कागज’ ले मात्रै भीसा नपाईने हो कि भन्ने अरूहरूका घटनाले गर्दा हामी ढुक्क थिएनौं । यो चिन्ताले गर्दा अमेरिकामा आफ्ना सन्तान भेट्न नपाएकाहरू भाकलै गर्छन मन्दिर गएर । अमेरिकी दुताबास पुग्नेहरू मनमनै पृथ्वीका मात्रै नभएर ब्रह्माण्डैका देउता सँझन्छन् । म पनि त्यही पंक्तिमा परें । किनकि म दैवीशक्तिलाई पुरापुर विश्वास गर्छु । यही विश्वासले हो वा हाम्रो र हाम्रो छोराको कुनै कैफियत केही नदेखेरै हो, अमेरिकी दूतावासले हाम्रो भीसा आवेदन गरेपछि र सामान्य सोधपुछ पछि सहजै भीसा पाएको अनुभुती भयो । भिसा लागेपछि भने कुनैपनि देवीदेउता नभाके पनि हुने जस्तो हामीलाई लाग्यो । हाम्रा कुनै जालझेलका कागज र अन्यथा कुनै कुरा पनि थिएनन् । हाम्रो अरू कुनै नियत थिएन, केबल छोरा भेट्नु र संसारको शक्तिशाली एवं संमृद्ध देश अमेरिका टेक्ने दुनियाँको ईच्छा जस्तै हाम्रो पनि थियो । बालापनमा सुनेको अमेरिका घुम्नु थियो । हाम्रा डकुमेण्ट हेरेपछि जे अनुमानमा हामीले भीसा पाउँछौं भन्ने लागेको थियो त्यही भयो । त्यसरी भीसा लाग्यो र हामी अमेरिका पुग्यौं । म त अमेरिका हाराहारीका देशहरूमा धेरै पहिला पुगेको थिएँ । त्यसो भएपनि अमेरिकाको अनुभव गर्ने मेरो उत्कट् चाहना भने कम थिएन । तर मेरी जीवन सँगीनीका लागि भने यि सबै नितान्त नौला थिए । हामी उड्यौं काठमाण्डौबाट । करिब बाईस घण्टाको उडानपछि हामीले अमेरिका भेट्यायौं । अमेरिका भेटाउनु अघि हाम्रो बोईङले अमेरिकाको आकाश छोएपछि बोईङको झ्यालबाट अमेरिकी धर्ती मैले नियालें । मेरो भूबनोट र उसको भूबनोटमा कत्ति पनि फरक पाईन आकाशबाट । हाम्रो भीमकाय विमानले अमेरिकाको वासिङ्गटनस्थित डुलस विमानस्थलको जमीनमा अबतरण भएपछि भने अकल्पनीय भिन्नता पाएँ । काठमाण्डौबाट बिहान आठ पाँचमा उडेको विमान त्यहाँको स्थानीय समय अनुसार बेलुका सात बजे अमेरिका उत्रेको थियो । भलै जहाज फरक थियो । उडानको बाईस घण्टासम्म कतै रात परेन । पर्यो त उहीं पुगेर मात्रै रात पर्यो । त्यो शुक्रबारको दिन बाईस घण्टाको बन्यो हाम्रो लागि । हामी आकाशमा उडेदेखि घामै घाममा अमेरिका पुग्यौं । पुगेपछि विमानस्थल भित्रको सिस्टमेटिक बाताबरण र बद्धबृद्धा अशक्त अपाङ्गका प्रतिको व्यबहार खै हाम्रो तिर कहिले होला र जस्तो आश्चर्ययुक्त अनुभुति बटुल्दै कुनै अलमल बिना हामी सहजै बाहिर भयौं । लुकाईछिपाई कुनै कोसेली पनि हाम्रो साथमा केही थिएन । प्रहरी आँफै पासपोर्ट चेकजाँचमा बसेका । ती प्रहरीहरूको हाउभाउ देख्दा जस्तै बहादुर अपराधिले पनि कट्टुमै छुलछुली छोड्लान जस्ता ! व्यवहार र नियतमा सफाचट् भिजिटरका लागि भने दयालु देवतै जस्ता । मिनेट मै हामी त्यस्ता प्रहरीको घेरा बाहिर पुग्यौं । त्यति फास्ट रहेछ उनीहरूको टेक्नोलोजि । बाहिरिए पछि मेरो छोरा प्रज्ज्वलले हामीलाई स्वागतापेक्षी बनेर प्रतिक्षारत देख्दा हर्षाशुँ नझरीकन पनि धररर झरेका थिए । अंकमाल गर्यौं । सेल्फी फोटो खिच्यौं । तीनै जनाको सँयुक्त फोटो लिने कसरी ? मद्दत माग्यौं । ड्युटीका कालाजातीका डरलाग्दा तर रिक्वेस्ट गरेपछि हँसिला पुलिसले मद्दत गरे । त्यही फोटो सर्वाधिक प्रिय बनेको छ हाम्रो अमेरिका भिजिटमा । यसपछि यहाँबाट हामी तीनजना दुई घण्टाको ड्राइभमा छोराको कोठामा पुग्यौं । अत्यन्त रोमाञ्चक क्षण थियो त्यो रातको यो छोटो यात्रा । गाडीमै घण्टौं रमाई रहुँ लाग्थ्यो हाम्रो मिलन । गाडीको बाहिर देखिने रात्री दृश्यले अघाउनै नसकिने भोके बन्यौं । बाटोको अवस्था । गाडीका ताँती । कतैपनि हर्नका ध्वनी शून्य । चर्को गतिमा गाडी हाँक्नै पर्ने बाध्यता । त्यस्तोमा पनि जोखिम कतै नपाईने । हाम्रो कोठासम्मको यो छोटो यात्रा दुई दिनको होस भन्ने चाहन्थ्यौं । दुई दिनको यात्रा बनोस भन्ने यात्रा दुई मिनेट सरह समाप्त भयो । त्यसरी अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर पुग्यौं । खाना खायौं । कुरा गर्दागर्दै कतिखेर सुत्यौं, पत्तै भएन ।
सत्ताईस–अट्ठाईस साल वरिपरीको कुरा हो । म सात आठ बर्षको सानो थिएँ । मेरो घर घुमाउने थियो । खरले छाएको न्यानो घुमाउने घर । वरिपरी तल्लो माथिल्लो पाटामा आँगन थियो । घरको वरिपरि रँगीचङ्गी फूल र फल पनि मनग्गे फूल्थे फल्थे । अल्ली पल्तिर कोदोका कपनिहरू लहलहाएका हुन्थे । मेरो घुमाउने घरको आँगनमा हाम्रो बालापन निकै खेल्थ्यो । उफ्रन्थ्यो । आँगनीको आडैमा घैया धान फल्थ्यो । त्यसैको नजिकैको गोठमा गाई भैंसी बाच्छा पाडा असरल्लै थिए । त्यही आँगनमा रातपरे पछि जूनेली रात ओर्लन्थे । तिनै जुनेली रातसँगै हामी खेल्थ्यौं । म पनि बालसुलभ ढङ्गले रमाउँथें । जूनेली रातमा पनि पूर्णीमाको रात त झनै रमाईलो हुन्थ्यो । हजूरआमाले पूर्ण चन्द्रमालाई देखाउंदै– ऊ जूनबाजे आए भन्दै पर्वत बाजुङको डाँडामा उदाउँदा उदाउँदैको र ठूलो हुँदैगरेको जून देखाई दिनुहुन्थ्यो । म जन्मंदा मेरो बाजे हुनुहुन्थेन । तँलाई मायाँ गर्ने बज्यै म, मायाँ गर्ने बाजे ऊ तिनै हुन् भन्नुहुन्थ्यो । जूनबाजेले आफ्नै बाजेले झैं साँच्चै मायाँ गरे जस्तो लाग्थ्यो बज्यैले भनेजस्तै । जूनबाजेका हामी बालक नातीनातिना थियौं । साँझ परेपछि भोक मेटाउने यिनै बाजे थिए । आमाको बुबु खेतबारीबाट आउन ढिला गरे यिनै बाजेले भुलाउँथे । हामी भन्दा अल्लि ठूलाले उत्तापट्टीको गह्रामा सप्रिएर मक्कीदै गरेको घैयाको पात दुई हातले च्यात्दै आकाश तिर जूनबाजेलाई पठाउँथे । बाजे..भन्दै चिच्याउँथ्यौं । मायालु लाग्थ्यो जूनबाजे देखेर । एकदिन जूनबाजेमा कालो धब्बा लाग्यो । म मेरो बाल सुलभ जिज्ञासा राख्दै हजुरआमालाई सोधें– के भएको आज हाम्रो जुनबाजेलाई आमा ? किन बाजेको मुखमा कालो भएको ? के के, के के थुप्रै प्रश्न आमालाई सोधें । जुनबाजेलाई आज सञ्चोछैन । त्यही भएर बाजेलाई त्यस्तो भएको हो भनेर मेरो कौतुहलता मेट्न खोज्नु भयो हजुरआमाले । मैले मानिन । यहीबेला मान्छेहरू हाम्रो आँगनमा भरिए । सबै कराउन थाले । क–कसले के के भने राम्रो ठम्याउन सकिन्नथ्यो । गाउँमा होहल्ला चलेको थियो । छोड् …रे छोड्.! छोड्…रे छोड् …! छोड् ….छोड् भनेको सुनेको छु । के भन्न खोजेको हो त्यो मैले बुझ्दैनथे ।
पछि सुन्दैजाँदा थाहा लाग्यो । पृथ्वीबाट कोही पुगेर जुनबाजेलाई जुत्ताले हानेको रे । जूत्ता बनाउनेले आँफै पुगेर हानेको रे ! जुत्ता हान्ने मान्छेले गर्दा जुनबाजेमा कालो दाग लागेको रे । यस्तै–यस्तै धेरै कुरा हुन्थे । हाम्रा जुनबाजे सख्त घाईते बनेको कुरा त्यो बेलामा कुरा हुन्थे । त्यो जुनेली रात छिटोछिटो धमिलिंदै जाँदा अर्कै रमाईलो भयो । क्रमशः होहल्ला शान्त भै सबै आ–आफ्ना घरतिर लागे । भोलीपल्ट बिहान सबेरै कोही कालीगँगामा, कोही कुँवामा र कोही पानी धारामा नुहाउन गए । हाम्रा पूज्य बाजेमा त्यो बिधि हुँदा कालो दाग धब्बा ग्रहण लागेको हामीले धेरै पछि बुझ्यौं । ति बाजे उनको नियमानुसार हाम्रो सामु उपस्थित हुन्थे । हराउँथे । धेरै टाढाका उनी संग जूत्ता बनाउने पल्लो गाउँको मान्छे कसरी पुग्दो हो । घर छेऊको टूनीको रूखको टूप्पोमा पुग्न त त्यति गाह्रो हुन्छ, त्यो मान्छे कसरी पग्छ ? हामी पत्याउन्नथ्यौं । तर मान्छे पुगेको पुष्टी गर्दै रेडियो सुनेर आएकाले हाम्री बज्यैलाई सुनाएका रहेछन् । र बज्यैले पछि भन्नु भो– बाजेलाई भेट्न अमेरिकाका मान्छे आँफै पुगे रे ! कहाँ छ अमेरिका ? बज्यैलाई सोधें । हाम्रो जमीनमुनी पर्छ रे । बालसुलभ जिज्ञासा स्वभाविकै थियो,जमीनमुनी जमिन खनेर पुग्ने त ! कसरी पुगिन्छ जमिन मुनीको अमेरिका ? भयंकर जिज्ञासा म मा थियो ।
सन १९६९को जुलाईमा अमेरिकी नागरिक नील आर्म्सटङ्गले चन्द्रमामा पहिलो पाईला टेकेका थिए । यो समाचार त्यतिबेलाको सूचना प्रविधिको एकमात्र माध्यम रेडियोबाट कमै मान्छेले थाहा पाएका थिए । नेपाली ग्रामीण परिवेषमा निक्कै ठूला मान्छेका घरमा रेडियो बज्थे । रेडियो सुन्न उनै ठूलाका घरमा अनुमति लिएर आँगनमा कान थाप्थे सर्वसाधारण मान्छेले । समाचार भन्दा पनि गीत सुन्न रूचाउने सर्वसाधारण बढी हुन्थे । ग्रामोफोनमा गीत सुन्नु र रेडियो सुन्नु फरक थियो । त्यसमाथी समाचार सुन्ने गाउँका दुईचार अक्षेर पढेका धनिमानी टाँठाबाठाको मात्रै हुन्थ्यो । उता जा, तैंले समाचार बुझ्दैनस् जा ! भन्थै लखेट्थे । यी सबैकुरा ऊ बेलाका बुढापुरानाहरूबाट सुनेको हुँ । रेडियोले चन्द्रमाभा मान्छे पुग्यो रे भन्ने समाचार भनेको कसैले पत्याउन मान्दैनथे । तर त्यो सत्य समाचार नै थियो । मान्छे पुगेकै रहेछन् । त्यो अमेरिका मेरो बालापनको जिज्ञासा हो । तर आज सोचे न संझेको । कल्पना नगरेको । सपना पनि नदेखेको त्यही अमेरिकामा म त्यो एक रात बिताएर बिहान उठें । …क्रमशः (बाँकि अर्को अंकमा )