तीते करेली
कृष्णराज शर्मा
कसैले आरोप लगाउँदैमा निर्दोष मान्छे कहिल्यै डराउँदैन । डराउनु पनि हुँदैन । डराउनु पर्ने दरकार पनि छैन । जब डराउँछ नी’,त्यो पक्का दोषी छ भन्ने बुझेहुन्छ । अपराध अनुसन्धानमा लाग्ने अनुसन्धाताहरू यसै भन्छन् । आरोपित व्यक्ति दोषी हो वा होईन भन्ने कसी लगाउने ठाउँ व्यक्तिको मुहारमा झल्केको हुन्छ । त्यतिमात्रै होईन, व्यक्तिको सामाजिक र दैनिकीको बाताबरणमा पनि उसको मुहार देखा परेको हुन्छ । विशेषगरी दोषीको नजिकको आफन्त समाजमा ऊ कि भयभित देखिन्छ, कि त आक्रोशमा देखिन्छ । त्यही भएर उनीहरू अपराधीलाई पत्ता लगाउन दोषीको र आफन्ति समाजको ‘फेस स्टडी’ गर्छन् र मनोवैज्ञानिक अध्ययनबाट के पत्ता लाग्छ भने ऊ दोषी छ वा निर्दोष छ । यदि दोषि छ भने चेहराले बताई राखेको हुन्छ कि ऊ अपराध कबुल गरिसकेको छ । छैन भने चेहराले बताई रहेको हुन्छ,ऊ निर्दोष छ । यद्यपी अपराध अनुसन्धानको प्रकृयामा यो ’फेस स्टडी’ एउटा सुक्ष्मतम् ईकाई मात्र हो । सानो अँश मात्र हो । तर यसैबाट ठूलो सफलता प्राप्त भएका छन् । यसो हो तापनि, निर्दोष व्यक्ति अनुसन्धानको घेरामा पर्दैमा डराउँदैन । हुनसक्छ,परिपञ्च रचेर फँसाईएको किन नहोस्, अथवा परिबन्दले डोर्याएको किन नहोस् ! ऊ निर्धक्क र निडरताका साथ लगाईएका आरोपहरूको सामना गर्छ । ऊ आत्तिन्न अर्थात आतंकित बन्दैन । समाजमा आँफुलाई निर्दोष सावित गरेरै छाड्छ ।
माथीको सन्दर्भमा नेपाली काँग्रेसका खुमबहादुर खड्का एउटा गतिलो र ताजा उदाहरण हुन् । उनी भ्रष्टाचारको आरोपमा मुद्दा खेपे । लडे । आँफुलाई बेकसुर बताइ रहे । अदालतले दोषी ठहर गरि कसुर अनुसार बिगो जरिवाना सहीत अठार महिना जेल सँजाए तोक्यो । बकाईदा दोषी ठहर भै अदालतको आदेश शिरोधार्य गर्दै तेह्र महिना जेल जीवन बिताए । पाँच महिना मिनाहा पाए । जेल सजाएँ भुक्तान गरी जेलमुक्त हुँदा उनका समर्थकहरूले पचास किलोको मालाले स्वागत गरे । आफ्ना हजारौं समर्थक र कार्यकर्ताले घेरिएर घर फर्के । कार्यकर्तालाई त्यहीं सम्बोधन गरे । प्रफुल्ल मुद्रामा पुर्ववत आफ्नो परिचय दिंदै घर गए । तर उनी आँफू निर्दोष रहेको वकालत गर्न छोडेका छैनन् । आफ्नै पार्टीका केही नेताहरूको प्रपञ्चको शिकार भएको बताई रहे । नेपाली काँग्रेस पार्टीको महाधिवेशनको चुनावमा सर्वाधिक दोश्रो स्थानमा मत परिणाम हात पारे । उनले यो पनि बताए कि पदमा बहाल रहँदा गरेका महत्वपूर्ण र दीर्घकालिन प्रभाव पार्ने राम्रा कामको थालनी गरेकोमा आत्म सन्तोष लिंदै आफ्नो राजनीतिक जीवनलाई यथावत कायम राख्दै पार्टीमा प्रभावशाली नेताको भूमिका अदा गरिरहने पनि बताए । उनमा यो हिम्मत कायम रहनुमा निर्दो्षिताको प्रचुर भाव प्रकट हुनु हो । नबिराउनु नडराउनु भन्दै आफ्नो कर्मलाई अगाडी बढाईरहेछन् । तर काँग्रेसकै दुई महाभ्रष्ट गोविन्द राज जोशी र चिरञ्जिवी वाग्ले गुमनाम भएर बिलाए । यिनीहरूको र खुमबहादुरको जेलजीवनको प्रकृतिमा कत्ति पनि भिन्नता छैन । तर खुमबहादुरले जस्तै जोशी र वाग्लेले जेल जीवन पछि जनताको अगाडी नाक मुख देखाउन सकेनन् । यसको कारण हो, यिनीहरूले शयका शय भ्रष्टाचार गरेको कुरो उनीहरूको अन्तर आत्माले स्वीकार गरेको छ । राज्यको अदालतले दिएको दण्ड जनताको अदालतले पनि सदर गर्यो । खुमबहादुरको सन्दर्भमा जनताले पुरै पत्याएका छैनन् । जोशी र वाग्ले त्यसपछि जनताको नजरमा कहिल्यै आउन सकेनन् । देश र जनताको सेवा गर्छु भन्ने आँट पनि भएन । हामी कहाँ यस्तो हिम्मत गर्ने नेपाली नेताहरू धेरै कमछन् । के माओवादी नेताहरूले आरोप प्रमाणित भएमा देश र जनताको लागि त्यसो गर्न सक्लान् ? जसले देशमा दुरगामी प्रभाव पार्ने थियो । ठूला मान्छेलाई सजाए दिन थाले गाउँका खुद्रे भ्रष्टाचारी उसै दूलो पस्थे । देशमा सुशासनको गोरेटो कोरिने थियो ।
अब हेरौं अस्ति भर्खर प्रचण्डले पार्टी भित्र राखेका कुरा र पार्टी प्रवक्ताले बाहिर ल्याएका प्रचण्डका कुरा । “अदालतले कार्कीको फैसला पुनरावलोकन गर्ने भनेपछि उनले हाम्रो तर्फबाट केही सहयोग होला भन्ने अपेक्षा राखेका रहेछन्, म केही नभनि भारत भ्रमणमा हिंडेपछि अदालतको कुरा मिलाई दिएन भन्ने उनको असन्तुष्टी देखियो । कार्कीले ‘रियलाईज’ पनि गरेका छन् । अब अख्तियार र पार्टीको कुरा मिलिसक्यो भनेर बुझ्नुस् । “यो भनाई हो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको । पार्टीको बैठकमा उनले यसो भनेका हुन् । यो भनाई सुनि सकेपछि देश कसरी चलिरहेको छ भन्ने बुझ्न अझ सजिलो भएको छ । राज्यका हरेक आर्थिक गतिबिधीको नियमन गर्ने स्वतन्त्र संवैधानिक निकाय अख्तियारका प्रमुख र प्रधानमन्त्री बीचमा साँठगाँठ भएकै हो भने राम्रै आर्थिक अपराध भएको स्वतः प्रष्ट हुन्छ । लोकमानले यो कुरा स्वीकार गरे कि गरेनन् सुन्न बाँकी छ । यदी प्रधानमन्त्रीको पार्टीले त्यसो नगरेको हुँदो हो त लोकमानसँग प्रचण्ड त्यसरी जाने थिएनन् । त्यसैले अपराध अनुसन्धानको ‘फेस स्टडी’ मा प्रचण्डहरूको हतास चेहराले दोषी हुनुको सुक्ष्म प्रमाण भेटियो भन्दा फरक पर्दैन । अर्काेतिर अदालतसँग पनि कुरो मिलाउने प्रसँग छ । अदालतसँग कार्यपालिको प्रभाव परेपछि अदालत पनि स्वतन्त्र रहेन । न्यायपालिका स्वतन्त्र नभएपछि कानुनी राज्यको कल्पना गर्नु पनि ठूलो मूर्खता हुन्छ । जसले जे अपराध गरेपनि छुट हुने भयो । कैलालीमा ज्यान गुमाएका राष्ट्रसेवक प्रहरीका अपराधि पनि छुट्ने भए । माओवादी शिविरमा अरबौं अनियमितता गर्ने अपराधिले पनि छुट्कारा पाउने भए । यसरी हेर्दा के स्पष्ट हुन्छ भने, चोरको खुट्टा काट् भन्दा बित्तिकै चोरले खुट्टा उचाल्दा पनि चोर नदेख्न आँखामा पट्टी बाँधिन्छ । कार्यपालिकाले न्यायपालिका माथी हस्तक्षेप गर्दा न्यायमूर्तीका आँखा बन्द हुन्छन् । यस्तो स्थितीमा न्यायको तराजु नेताले जता ढल्कायो उतै ढल्किन्छ ।
बहुदलको आगमनसंगै हाम्रो देशमा दुईटा कुरा महत्वपूर्ण ढङ्गले स्थापित भए । एक भ्रष्टाचार र अर्को मानवाधिकार । एउटा बैध र अर्को अबैध । अबैधले बैधलाई खाईदियो । अदृश्य दृश्यमा छ,दृश्यमा भएको अदृश्य बनेको छ । यि दुई संस्थाले गज्जबसँग जरो गाडेका छन् । यसको जरो उखेल्न सजिलो पनि छैन । यि दुईको आपसि अन्योन्याश्रीत सम्बन्धले देश कहिल्यै उँभो लाग्दैन । यसो भन्दैगर्दा मानवाधिकारवादीहरूलाई चस्को पर्ला । चस्को परेपनि केही छैन । कटुसत्य यही हो । भ्रष्टाचारको जरो उखेल्न खोज्दा मानवाधिकारले रोक्छ र मानवाधिकारको जरो उखेल्न खोज्दा भ्रष्टाचारले दिन्न । यि दुईका जरा जमीनमुनी गाँठो परेर जोल्टिएको छ । मानवाधिकारले जरो जमीनमा गाड्न आवश्यकै छैन, गमलामा फुलाए हुन्छ । यसको अर्थ मानवाधिकार बिरोधी हुनु होईन । डेमोक्रेसीमा मानवाधिकार सुन्दर सफा र कञ्चन हुनु पर्दछ । जमीनमुनीको सम्बन्धले मानवाधिकार गज्याङ गुजुङ भएर कुरूप आकार लियो । यही मानव अधिकारको खोल ओढाईएर तमाम अनियमितताहरू हावि हुँदै आए हाम्रो देशमा । यसले गर्दा कबुल गरेका अपराधहरू पनि कानुन बमोजिम दण्डित हुन सकेका छैनन् । अहिले अख्तियार देखि डराएका अनुहारहरू छताछुल्ल भएर देखा पर्दैछन् । देशमा विद्यमान सरकारको नेतृत्व अख्तियार देखि आतंकित छ । देशैभरी के होला,कसो होला भन्ने कौतुहलता छाएको छ । यो सानो कुरा होईन । हाम्रा प्र.म.लाई यसो भयो भने के हुन्छ ? के होला ? थुप्रै अडकलबाजी चलेका छन् । पिउनदेखि हाकिमसम्म,तलदेखि माथीसम्म,जोगी देखि भोगीसम्म, चाउरेदेखि लाहुरेसम्म र वडाको नेतादेखि प्रधानमन्त्रीसम्मका भ्रष्टलाई जरैदेखि उखेलेको नेपाली जनताले हेर्न चाहेका छन् । तर भ्रष्टाचारको जरो उखेल्न मानव अधिकारले रोकेको थोरै नेपालीलाई मात्र थाहा छ । जल्दोबल्दो चर्चा माओवादीको भएकाले माओवादीमा मात्र यहाँ चर्चा भएको हो । अन्य राजनैतिक पार्टीका अपराधहरूलाई पनि यसैगरी मानव अधिकारले छोपेको छ ।
हिंजोआज प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड र उनको पार्टीका प्रमुख हस्तिहरूमा एक्कासी डर पैदा भएको छ । डर पैदा हुनुमा माओवादी सैन्य शिविरमा भएको आर्थिक अनियमितताको फाईल खुल्नु हो । फाईल भित्र सत्र हज्जार नेपालीको खून खराबाको कसूरमा यो आरोप लागेको थिएन । बैंक लुटेर अनियमितता गरे भन्ने कुरो थिएन । बैंक लुटेको कसुर युद्धकालमा भएकाले शान्ति सम्झौतापछि स्वतः बैधानिक बने । त्यो केशमा उजुर बाजुर लागेन । यहाँ त आँफै बनाएको सँविधानको अधिनस्थ भएर बनेका नियम कानुन बमोजिम नभएको भनेर परेको उजुरी उपर काम कारबाही अख्तियारमा पुगेको देखिएको छ । अनमीनले प्रमाणित गरेका लडाकुको नाममा छुट्याएको पैसा नक्कली लडाकु खडा गरेर राज्यकोषको सम्पत्ति माथी अनियमितता गरेको आरोप लगाईएको छ । अख्तियारले प्रधानमन्त्री भारत भ्रमणमा रहेकै अवस्थामा उनी लगाएत माओवादीका थुप्रै नेताहरूलाई सोधपुछका लागि बोलाउने र कारबाही अघि बढाउन जुरूङ जुरूङ गरेको छ । माओवादीको फेस स्टडी अनुसार कारवाही अगाडी बढी सक्नु पर्ने हो । कथंकदाचित्, लोकमान गएपनि अख्तियार त रहन्छ नै । हेरौं, अख्तियारले के गर्दो रहेछ ?