तारानाथ आचार्य
बागलुङ, २८ पुस–जिल्लाको जैमिनी नगरपालिका वडा नं २ दमेकमा ‘एक घर एक मौरीघार’ कार्यक्रम सुरु भएको छ । कृषकलाई मौरीपालन व्यवसायप्रति आर्कषित गराउन भन्दै वडाले ‘एक घर एक मौरीघर’ कार्यक्रम लागु गरेको हो । मौरीपालनका लागि उपयुक्त वातावरण वडामा रहेकाले ‘एक घर एक मौरीघार’ कार्यक्रम लागु गरिएको वडाध्यक्ष लक्ष्मीप्रसाद सापकोटाले जानकारी दिए ।
तिन बर्ष भित्रमा वडाका सबै घरलाई अनुदानमा मौरीघार उपलव्ध गराउने गरी वडाले अभियानको सुरु गरेको हो । यस आर्थिक बर्षमा वडाबाट मौरीको घार खरिदका लागि ३ लाख रुपैयाँ बिनियोजन गरेको सापकोटाले बताए । ‘तीन बर्षमा वडाका सबै घरलाई मौरीको घार उपलव्ध गराउछौं’ सापकोटाले भने ‘हामीले प्रोत्साहन मात्रै गर्ने हो बाँकी काम कृषकले गर्नुहुन्छ भन्ने लागेको छ ।’ कृषकलाई उत्साहित बनाउँदै ब्यबसायिक मौरीपालन तर्फ आर्कषण गर्न कार्यक्रम लागु गरिएको उनले बताए ।
यस आर्थिक बर्षको बजेट बाट वडा भित्रका १ सय ५० घरधुरीले मौरीको घार अनुदानमा पाएका छन् । ‘वडाका सबै घरलाई एकैपटक घार उपलव्ध गराउन सकिएन’ जैमिनी नगर पालिकाका कृषि प्राबिधिक रबिन्द्र शर्माले भने ‘वडाको योजना अनुसार बजेट आए आगामी तीन बर्षमा सबै घरमा मौरीको घार पुग्छ ।’ जंगल तथा खेतीयोग्य जमिन प्राप्त भएकाले दमेक मौरीपालनका लागि उपयुक्त रहेको शर्माको भनाई छ । ‘फुल फुल्ने फलफुल र तोरी, साग, मुला जस्ता मौरीको आधारका लागि उपयुक्त मानिने खेती यहाँ हुन्छ ’ शर्माले भने ‘वडाले दिएको प्रोत्साहनको घारलाई कृषकले राम्रो प्रयोग गर्न सके राम्रै आम्दानी हुने गरी महको उत्पादन गर्न सक्छन् ।’ उनले एउटै घारबाट बर्षमा कयौं घार मौरी उत्पादन गर्न सकिने समेत बताए । ‘कृषकको सक्रियता रहयो भने प्राबिधिक रुपमा हामीले सहयोग गछौं’ शर्मा भन्छन्– ‘नमुनाको रुपमा दिएको घारलाई प्रयोग गरेर मौरी उत्पादनमा लाग्नु जरुरी छ ।’ मौरीको आहारका रुपमा रहेका तरकारी बालीमा पनि आफ्नो ध्यान पुगेको वडाले जनाएको छ । एकातर्फ तरकारीको उत्पादनले आर्थिक अवस्थामा सुधार ल्याउन सकिने र अर्कोतर्फ मौरीको आहारका लागि आवस्यक फुलो व्यवस्थापन हुने भएकाले वडा भित्र तरकारी बालिका बिउ बितरण गर्न लागिएको वडाअध्यक्ष सापकोटाले बताए ।
मौसम अनुसारका तरकारीको बिउ खरिद गरी टोल सुधार समितीमार्फत सम्पुर्ण कृषकलाई तरकारीको बिउ उपलव्ध गराउन लागिएको उनको भनाई थियो । ७० हजार रुपैयाँको तरकारी बिउ खरिद गरिएको र तत्काल कृषकलाई उपलव्ध गराईने सापकोटाले बताए । तरकारी बिउ भने वडाका सबै कृषक पाउने उनको भनाई थियो । यस बर्षको हिउँदको तरकारी खेती गर्ने समय सकिएकाले बर्षे तरकारीको बिउ बितरण गर्ने गरी तयारी भैरहेको कृषि प्राबिधिक शर्माले बताए । ‘हामीले काँक्रो, करेला, घिरौंला लगायतका बर्षे तरकारीका बिउ बितरण गर्ने तयारीमा छौं’ शर्माले भने ‘वडाले व्यवस्था गरे अनुसार सबै कृषकको घरमा बिउ पु¥याईने छ ।’ उत्तर फर्केको दमेकको भू–भागमा मौरीपालन, फलफुल खेती र तरकारी खेतीको लागि उपयुक्त बातावरण रहेको कृषिका जानकारहरु बताउँछन् ।
८ सय १३ घरधुरी रहेको जैमिनी नगरको वडा नं २ तल्लो दमेकमा अधिकांश कृषक छन् । वडा कार्यालयले मौरीको घारका अलवा वडामा दर्ता भएका कृषिजन्य फर्मलाई समेत अनुदान उपलव्ध गराएको जनाएको छ । ‘हामीले वडा भित्रका दर्ता भएका ६ वटा कृषि तथा पशुपालनका फर्मलाई यो बर्ष सामान्य अनुदान सहयोग गरेका छौं’ वडाअध्यक्ष सापकोटाले भने– ‘कृषकलाई उत्पादनसँग जोडेर आत्मानिर्भर बनाउने प्रयास थालेका हौं ।’ वडामा रहेर फर्म सञ्चालन गरेका कृषकले यस आर्थिक बर्षमा प्रतिफर्म ३० हजार रुपैयाँका दरले अनुदान पाएको सापकोटाले बताए ।
Previous Articleमाघेसक्रान्ति मेला सुरु
Next Article २०७४ पुस २८ गते शुक्रबारको राशिफल