बागलुङ, २७ पुस– जिल्लाको उच्च पहाडी भेगमा बस्ने विपन्न परिवारका सदस्यलाई जाडोबाट बच्न न्यानो कम्बल वितरण गरिएको छ । झरना फाउण्डेशन नेपालले मंगलबार ढोरपाटन र निसीखोला गाउँपालिकामा गरी ६० जनालाई कम्बल बाँडेको हो । निसीखोला गाउँपालिका वडा नं ३ र ४ का २० र वडा नं. ६ का २० जनालाई एक÷एक वटा कम्बल वितरण गरिएको फाउण्डेशनका संयोजक नविन थापाले जानकारी दिए । यस्तै, ढोरपाटन नगरपालिकाको वडा नं ७ मा बस्ने विपन्न परिवारका २० जना सदस्यलाई कम्बल प्रदान गरिएको छ । बढ्दो चिसोले जनजीवन प्रभावित भएपछि फाउण्डेशनले ‘न्यानो अभियान’ चलाएको उनको भनाइ छ । स्थानीय जनप्रतिनिधि, समाजसेवी लगायतको उपस्थितिमा कम्बल वितरण गरिएको फाउण्डेशनले जनाएको छ । “जाडो याममा जीवनयापन गर्न सहज होस् भनेर कम्बल वितरण गरेका हौँ” संयोजक थापाले भने “गरिब तथा विपन्न परिवारप्रति न्यानो अभियान लक्षित छ ।” न्यानो लुगाको अभावमा चिसोले मानव स्वास्थ्यमा समेत गम्भीर असर पार्ने देखेर विपन्न समुदाय लक्षित गरेर ‘न्यानो अभियान’ चलाइएको उनको भनाई छ । देशका हिमाली, पहाडी तथा तराई क्षेत्रमा बढेको अत्यधिक चिसोले जनजीवन प्रभावित भएको छ । कतिपय ठाउँमा चिसोकै कारण मानिसको ज्यानै गएको छ ।