बागलुङ, २७ पुस– जिल्लाको जैमिनी नगरपालिकाले कुश्मीशेरा बजारमा सडक बिस्तार तथा नाली काट्ने काम सुरु गरेको छ । नगरपालिकाको केन्द्र रहेको सेरा बजारको साँघुरो सडकलाई फराकिलो बनाएर सडक छेउमा नाली काट्ने काम सुरु गरिएको प्रमुख प्रसासकीय अधिकृत बिष्णुप्रसाद सुबेदीले बताए । उपभोक्ता समितीमार्फत ४५ लाखको लागतमा सेराबजार वरपरको सडक बिस्तारको काम थालिएको हो ।
नगरपालिकाको केन्द्र भएर पनि निकै साँघुरा सडक र अव्यवस्थित नालीका कारण सेरा बजारमा आउने सर्वसाधारणलाई सास्ीत हुने गरेको भन्दै नगरपालिकाले यसअघि नै बाटोको स्तरोन्नती तथा नाली ब्यवस्थापनका लागि बजेट बिनियोजन गरेको थियो । ‘नगरपालिकाले बिनियोजन गरेको बजेटलाई कार्यान्वयन गर्दै काम सुरु गरिएको हो’ अधिकृत सुवेदीले भने– ‘सेरा बजारलाई हेर्न योग्य बनाउने योजना अनुसार काम भैरहेको छ ।’ प्राथमिक स्वास्थय केन्द्रदेखी टिमुरेखोलासम्म उपल्लो बजारको बाटो र लिचिकोफेददेखी ठेउलेखोलासम्म तल्लो बजारको बाटो बिस्तारको काम चलिरहेको नगरपालिकाले जनाएको छ । सेरा बजारमा बर्षातको समयमा ढल निकासको उचित ब्यबस्था नहुँदा सडकमा ढल बग्ने गरेको थियो ।
‘निकासीको बाटो नभएकाले सडकमा बगेको ढललाई व्यवस्थापन गर्न काम थालिएको हो’ सुवेदी भन्छन्– ‘बजेटले पुगेसम्म यो आर्थिक बर्षमा उचित निकास दिएरै छोड्ने हो ।’ उनले नगर भित्रका हरेक वडामा समस्या रहेको भएपनि केन्द्र रहेको सेरा बजारको समस्यालाई ध्यानमा राखेर काम सुरु गरिएको बताए । ‘वडा स्तरमा कामहरु भैरहेका छन्’ उनी भन्छन्– ‘नगरको केन्द्र भएकाले सेराबजारको सडक बिस्तार सबैको आँखामा परेको छ ।’