बागलुङ, २७ पुस– मालारानी आधारभूत विद्यालय ताराखोला–५ ले आफ्नो ४० औँ वार्षिकोत्सव तीन दिने कार्यक्रमसहित मनाएको छ । वार्षिकोत्सवको अवसरमा आन्तरिक तथा अन्तरविद्यालय स्तरीय प्रतियोगितात्मक कार्यक्रम गरिएको थियो । विद्यालयको वार्षिकोत्सव समापनको अवसरमा भएको कार्यक्रममा बोल्दै ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले सिकाई उपलब्धि सुधारमा ध्यान दिन आग्रह गरे । उनले विद्यालय प्रशासन, शिक्षक र अभिभावक मिलेर अघि बढे सुधार सम्भव भएको बताए ।
विद्यालयको वार्षिक प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका प्रधानाध्यापक कर्णबहादुर केसीले नीजि स्रोतका शिक्षकलाई तलबभत्ता दिनमात्रै विद्यालयलाई वर्षमै झण्डै आठ लाख रकम नपुग हुने गरेको बताए । ‘हाम्रोमा कक्षा ६ देखि ८ सम्म (आधारभूत तह) कुनै दरबन्दी नै छैन, प्राविमा भएको चार शिक्षकको दरबन्दीले मात्रै कसरी धान्न ?,’ प्रअ केसीले प्रश्न गरे, ‘पाँच जना शिक्षकलाई विद्यालयको आफ्नै स्रोतले तलब खुवाउँदा वर्षमै ८ लाख रुपैयाँभन्दा बढीको व्ययभार हामीलाई पर्छ, यसलाई व्यवस्थापन गर्न गाउँपालिकाले पनि सोचिदिनुप¥यो ।’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेतुलाल आचार्यले शिक्षाको गुणस्तर तथा भौतिक पूर्वाधार सुधारका लागि विद्यालयले आर्थिक अभियान सञ्चालन गरेको स्मरण गराउँदै सक्दो सहयोग गर्न सबैलाई आग्रह गरे ।
कार्यक्रममा ताराखोला–५ का वडा अध्यक्ष तथा विद्यालयका निवर्तमान प्रधानाध्यापक रामबहादुर रोका, शिक्षक अभिभावक संघका अध्यक्ष चण्डीप्रसाद सापकोटा, विद्यालय व्यवस्थापन समितिका सल्लाहकार नन्दलाल कँडेल, दुर्गा भावानी माविका शिक्षक बृहस्पती कँडेल, विद्यार्थी मनिसा कँडेललगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम अध्यक्ष आचार्यको अध्यक्षता, शिक्षिका देवी थापाको स्वागत र शिक्षक मनबहादुर खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।