डा. देवीप्रसाद आचार्य
शिक्षालाई मानिसको तेस्रो आँखा पनि भनिन्छ । शिक्षाले मानिसको जीवनको बाटो देखाउने भएकाले तेस्रो आँखा भनिएको हो । त्यसो त शिक्षाका बारेमा विभिन्न मतहरू पाइन्छ । भारतीय विद्वान् विवेकानन्दले मानिसमा भएका सम्पूर्णताको पहिचान नै शिक्षा हो भनेका छन् । अमेरिकी शिक्षाविद् जोन डिवेले शिक्षा जीवनको तयारी मात्र होइन जीवन हो, भनेका छन् । यस अर्थमा शिक्षाविना जीवन अपुरो र अधुरो रहने कुरा स्पष्ट हुन्छ । मानिसको जीवनमा शिक्षाको एउटै भूमिका र कार्यको सिमाना हुँदैन । मानिसको जीवनमा शिक्षाको कार्य व्यापक छ । शिक्षाका व्यापक कार्यहरूमध्ये एउटा महत्त्व पूर्णक्षेत्र आयआर्जनको कार्य हो । व्यक्ति, समाज र सिङ्गो मुलुकलाई आर्थिक समृद्धिको मार्गमा हिँडाउन शिक्षाको ठूलो भूमिका हुन्छ ।
देशका विभिन्न क्षेत्रहरूमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने कार्य शिक्षाको हो । साधारण, व्यावसायिक तथा प्राविधिक क्षेत्रमा चाहिने विभिन्न तहको जनशक्ति उत्पादन गरी व्यक्तिको समृद्धि र देशको आर्थिक विकासमा टेवा पुर्याधउने काम नै शिक्षाको आर्थिक कार्यअन्तर्गत पर्छ । आजको एक्काइसौं शताब्दीमा शिक्षाले सैद्धान्तिक ज्ञानको अतिरिक्त आर्थिक आयआर्जन सर्न सक्ने वैज्ञानिक तथा प्रविधिक शीपसहितको शिक्षा आवश्यक छ । राज्यले शिक्षामा ठूलो लगानी गरेको त छ तर राज्यले गरेको लगानी उत्पादनशील हुन नसकेको घामजस्तै छर्लङ्ग छ । एकातिर देशको शिक्षाको गुणस्तर खस्कँदै गएको शैक्षिक उपलब्धिका तथ्याङ्कहरूले देखाएका छन् भने अर्कोतिर विश्वविद्यालयसम्मको प्रमाणपत्रधारीे शिक्षित वर्गलाई आयआर्जनका बाटा र पाटाहरूको दिशानिर्देश गर्न नसक्दा शिक्षित युवा बेरोजगारको शिकार हुन बाध्य भएको अवस्था छ । यस अर्थमा हाम्रो देशको शिक्षा पद्घति र अर्थतन्त्रबीचमा सम्बन्ध कायम हुन नसकेको स्पष्ट हुन्छ ।
नागरिकलाई शिक्षा दिने दायित्व राज्यको हो । राज्यले अवलम्बन गरेको शिक्षा प्रणालीको आधारमा देशको जनशक्ति उत्पादन हुन्छ । हाम्रो देशको सन्दर्भमा राज्यले लागू गरेको शिक्षानीतिले उत्पादनमुखी दक्ष जनशक्ति उत्पादन गर्न नसकेको अवस्था छ । गरीबी, आर्थिक अभाव, शैक्षिक बेरोजगार मुलुकका विकराल समस्याका रूपमा देखिएका छन् । हाम्रो शिक्षाले मुलुकमा रहेको प्राकृतिक स्रोतसाधनको उपयोग गर्नसक्ने ज्ञान र शीप भएका जनशक्ति उत्पादन गर्न सकेको छैन । जल, जमीन, जडीबुटी, जङ्गल, पेट्रोलियम पदार्थ, सुन, चाँदी, हीरा, मोतीजस्ता खानी तथा खजानाहरू देशको भूगर्भमा पर्याप्त मात्रामा छन् । पानी छ, बिजुलीको उत्पादन छैन । खाने पानी र सिँचाइको अभाव छ । जमीन छ, उत्पादन छैन । देश दिनप्रतिदिन खाद्यान्नमा परनिर्भर बन्दै गएको छ । पशुपालन परम्परागत शैलीमा आधारित छ । जडीबुटीहरूको पहिचान, प्रयोग र व्यवसायीकरण हुन सकेको छैन । प्रकृतिमा रहेका अथाह खनिज पदार्थहरूको पहिचान, उत्खनन र प्रयोग हुन सकेको छैन । शिक्षित युवा रोजगारको खोजीमा अन्तरराष्ट्रिय बजारमा जान बाध्य छन् । यस सन्दर्भमा हाम्रो देशको शिक्षाप्रणाली कसरी वैज्ञानिक, उत्पादनमुखी र आयआर्जनसँग जोडिन सक्यो त ?
स्वदेशमा नै आर्थिक उन्नति गर्न सक्ने सक्षम जनशक्ति उत्पादन गर्नसक्नु शिक्षाको आर्थिक कार्य हो । शिक्षा व्यक्तित्व विकास र देश विकासकोे आधारस्तम्भ हो । शिक्षाले देशमा भएको प्राकृतिक स्रोतसाधनको उपयोग गर्न सक्ने ज्ञान र शीप भएका जनशक्ति उत्पादन गर्न आवश्यक हुन्छ । कृषि, पशुपालन, उद्योग, व्यापार, कला, साहित्य, विज्ञानलगायत क्षेत्रमा चाहिने जनशक्तिलाई उत्पादन गर्ने काम शिक्षाको हो । हाम्रो देशमा राज्यले नागरिकलाई दिएको शिक्षा र यसबाट सिकेको ज्ञानले शिक्षित वर्ग आत्मनिर्भर बन्न सकेको छैन ।
विश्वविद्यालयसम्मको अध्ययनले स्वरोजगारको ढोका खोल्ने शीप भएको जनशक्ति उत्पादन हुन नसक्नु विडम्बना हो । यस अर्थमा हाम्रा शिक्षालयहरू बेरोजगार जनशक्ति उत्पादन गर्ने उद्योगका रूपमा सञ्चालित छन् । हाम्रा देशका शिक्षालयहरू समयसापेक्ष पाठ्यक्रम, पाठ्यपुस्तक, व्यावहारिक विषयवस्तुको अभाव तथा परम्परागत शिक्षण प्रणालीले थला परेका छन् । एकातिर वर्तमान शिक्षाप्रणालीले उत्पादन गरेका शिक्षित जनशक्तिमा राज्य, समाज र सङ्घसंस्था चलाउन सक्ने क्षमता, चिन्तन र प्रयोगवादी व्यवहारको अभाव खड्किइरहेको परिस्थिति छ भने अर्कोतिर नागरिकहरूमा राष्ट्रवादी भावना, अनुशासित व्यवहार, कर्तव्यनिष्ठ आचरण र प्रजातान्त्रिक चरित्रको अभाव छ । देशमा अनुशासित र सृजनशील नागरिक उत्पादन हुन नसक्दा राज्यका हरेक क्षेत्र कमजोर भएको छ । स्वरोजगारमैत्री तथा उत्पादनशील शिक्षाको कमीले समाजमा गरीबी, अभाव र पछौटेपन व्याप्त छ ।
नेपाल भूकम्प, बाढीपहिरो, शीतलहर, भोकमरी, महामारीजस्ता समस्याले प्रभावित मुलुक हो । समाजमा यी समस्याको पहिचान र विपद् व्यवस्थापन ज्ञान अभाव छ । आर्थिक र मनोवैज्ञानिक रूपमा सकारात्मक जीवनशैली अपनाउने आत्मबलको खडेरी छ । स्थानीयस्तरमा उपलब्ध हुने स्रोतसाधनको प्रयोग गरी आयआर्जनका उपायहरूको अवलम्बन गर्न सक्ने ज्ञान र शीपको अभावले आयआर्जनका बाटाहरू छायाँमा परेका छन् । यस अर्थमा राज्यले तय गरेको शिक्षानीति, यसको राष्ट्रिय उद्देश्य र उत्पादन भएको जनशक्तिको गणुस्तरका आधारमा शिक्षाको समग्र मूल्याङ्कन आवश्यक भएको छ ।हाम्रो देशको भौगोलिक बनोट, हिमाली, पहाडी र तराई क्षेत्रको हावापानी, वनस्पति, जैविक विविधता, विकासको सम्भावनाहरूको अध्ययनको क्षेत्र शिक्षाको पाटो हो । हिमाली क्षेत्रका शिक्षित जनशक्तिलाई यस क्षेत्रमा भएका सम्भावित आर्थिक क्रियाकलापहरू जस्तै आधुनिक तरीकाले भेंडा, च्याङ्ग्रा तथा चौंरीपालन, स्याउ खेती, यार्सागुम्बाको व्यावसायीकरणलगायत क्षेत्रमा आयआर्जन गर्नसक्ने ज्ञान र शीप आवश्यक हुन्छ । यसै गरी पहाडी र तराई खण्डमा गर्न सकिने फलफूल खेती, पशुपालन, कृषिमा आधारित उद्योगको स्थापना, सञ्चालन आदि गर्न सक्ने व्यावसायिक शीप आर्जनमा तदनुरूपको शिक्षित जनशक्तिको आवश्यकता हुन्छ । यस अर्थमा व्यक्ति, समाज र मुलुकलाई स्थानीय स्रोतसाधनको प्रयोग गरी आयआर्जनका क्षेत्रहरू पहिचान गर्दै उत्पादनशील कार्य गर्न सक्षम बनाउने कार्य शिक्षाको हो ।
राज्यले शिक्षालाई आयआर्जनसँग जोड्दै देशको भूगोल, हावापानी, माटो र जैविक विविधताअनुसार उत्पादनमा आधुनिकीकरण गर्ने ज्ञान र शीपसहितको व्यावसायिक शिक्षा समाजको आवश्यकता हो । उत्पादनशील नागरिक तयार नपारेसम्म गरीबी हट्न सक्दैन । देशको आर्थिक प्रणालीमा सकारात्क प्रगति हुन सक्दैन । शिक्षाले शिक्षित वर्गलाई कामप्रति अभिरुचि, उद्यमी बन्ने प्रवृत्ति, आत्मनिर्भरता तथा आयआर्जनका क्षेत्रमा कार्यक्षमतामा सक्षम बनाउन सक्नुपर्छ । जसरी आफ्नो घरको निर्माण, उन्नति र प्रगति छिमेकीहरूले गरिदिएर हुँदैन त्यसरी नै आफ्नो देशको निर्माण गर्न सम्पूर्ण नेपालीहरूको सहभागिता आवश्यक हुन्छ । शिक्षाले नागरिकहरूलाई देशको प्राकृतिक स्रोतसाधनको दोहन गर्न सक्ने ज्ञान र शीप सिकाउनुपर्छ ।
स्वदेशमा नै आर्थिक उपार्जनका सम्भावनाहरूको खोजी गर्ने क्षमता तथा आत्मविश्वाससहितको शिक्षा आजको आवश्यकता हो । यस अर्थमा राज्यले शिक्षामा गरेको लगानी र अवलम्बन गरेको शिक्षानीतिले उत्पादन गरेका नागरिकको ज्ञान र शीप आधारमा व्यक्ति, समाज र समग्र मुलुकको आर्थिक विकासमा टेवा पुर्याउनु पर्छ । अन्त्यमा राज्यले तय गरेको शिक्षानीति, शिक्षाको राष्ट्रिय उद्देश्य, निर्धारण गरिएका उद्देश्यहरू प्राप्तिका लागि अपनाइएको रणनिति, पाठ्यक्रम, विषयगत तथा तहगत पाठ्यपुस्तक तथा शिक्षण सिकाइका क्षेत्रमा समयसापेक्ष संशोधन, परिमार्जन र परिवर्तन आजको आवश्यकता हो । लेखक शिक्षाविद् हुन् ।