बागलुङ, २४ पुुस– प्रदेश नम्बर ४ स्तरीय कृषि तथा औद्योगिक व्यापार मेला तथा बागलुङ महोत्सव आईतवार सम्पन्न भएको छ । बागलुङ उद्योग बाणिज्य संघले आयोजना गरेको महोत्सवमा हजारौं दर्शकले मेला अवलोकन गरेका छन् । आयोजकले आफ्नो उद्धेश्य अनुसार महोत्सव सफल भएको दावी गरेको छ । कला संस्कृतिको जर्गेना तथा व्यवसायको प्रवद्र्धनका लागि यो महोत्सव फलदायी भएको संघका अध्यक्ष जयराम भारीले बताए ।
महोत्सवमा जिल्लाका किसान र लघु उद्यमीका उत्पादनलाई प्रर्दशनीमा राखिएको थियो भने विभिन्न क्षेत्रबाट पनि व्यापारीले आफ्ना उत्पादन विक्रिका लागि ल्याएका थिए । १ सय ८२ वटा व्यपारिक स्टल मार्फत संचालित महोत्सवमा १० करोड रुपैयाँको कारोवार भएको बताइएको छ । महोत्सवमा खुला लोक दोहोरी गीत प्रतियोगिता, पुरुष तथा महिला भलिबल प्रतियोगिता सहित अन्य खेलहरुपनि आयोजना गरिएको थियो । लोकदोहोरीमा आईतवार भएका फाईनल तर्फ गामबेसी दोहोरी साँझ काठमाण्डौ प्रथम भएको छ । उसले ७५ हजार ५ सय ५५ रुपैयाँ नगद सहित प्रमाणपत्र पाएको छ भने राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समिति दोश्रो भएको छ । उसले ५० हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पायो । तेस्रोमा म्याग्दी उद्योग बाणिज्य संघ र स्याङजा लोकदोहोरी प्रतिष्ठान भएका थिए । पुरुष भलिबल तर्फ छन्त्याल कन्स्ट्रक्सन प्रथम र पश्चिमाञ्चल भलिबल संघ दोश्रो भएका थिए । महिला भलिबलको उपाधि भने दर्शन ट्रान्सपोर्टले जितेको हो । महोत्सवको अन्तिम दिन हेलिकोप्टर मार्फत धौलागिरीका पर्यटकीय स्थानको दृश्यावलोकन गर्ने कार्यक्रम पनि थियो ।
राष्ट्रिय तहमा ख्याति प्राप्त कलाकार देखि जिल्ला तहका लोक संगीतका कलाकारले दिनहुँ मेलामा गीत संगीत प्रस्तुत गरेका थिए । उनीहरुको प्रस्तुतीले महोत्सवमा दैनिक ७ हजार दर्शक ओइरिएको आयोजकले बताए । धौलागिरीमा नेवार, मगर, बाहुनक्षेत्री र विश्वकर्मा जातीमा प्रचलित परंपरागत संस्कृतिका गीत संगीतले पनि महोत्सवमा रौनकता थपेको दर्शकले बताए । महोत्सवको समापनका अवसरमा उद्योग बाणिज्य संघका अध्यक्ष जयराम भारीले टिकट विक्रि तथा महोत्सवको तर्फबाट नेपाल पत्रकार महासंघको भवन निर्माणमा २ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता पनि जनाएका थिए । महोत्सव मार्फत सहयोग दिने आयोजकले बताएकोले नेपाल पत्रकार महासंघको तर्फबाट महोत्सव अवधिभर टिकट विक्रिको काम पत्रकारले गरेका थिए ।
महोत्सवमा लगभग ४१ हजार टिकट बिक्रि भएको टिकट व्यवस्थापनको जिम्मा लिएको पत्रकार महासंघका अध्यक्ष दिल श्र्रीषले बताए । सदरमुकामका अधिकांस व्वसायीले सदस्यता नविकरण सँगै थप रकम तिरेर लिएको विशेष पासले अवलोकन गरेका थिए । मोत्सवकै अवसरमा मरुभूमिमा पाईने उँट नचाइएको थियो भने रमाईलो मेला, बाल खेलहरु पनि समावेश थिए । समापनको अवसरमा जिल्ला समन्वय समितिका संयोजक राजेन्द्र ढुंगाना, स्थानीय तहका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारी लगायतले महोत्सवले व्यवसाय प्रवद्र्धनमा उल्लेख्य योगदान पुगेको भन्दै आयोजक उद्योग बाणिज्य संघलाई धन्यवाद दिएका थिए ।
Previous Articleपञ्चकोटमा उपभोक्ता समिती गठन
Next Article सकियो बागलुङ महोत्सव ‘व्यापार सन्तोषजनक’