बागलुङ, २४ पुस– जिल्ला सरदमुकाममा सम्पन्न पाँचौं बागलुङ महोत्सवमा रेष्टुरेण्ट र लघुउद्यमको व्यापार सन्तोषजनक भएको छ । फेन्सी सामानको व्यापार कम रहेको भएपनि रेष्टुरेण्ट र लघुउद्यमको व्यापार भने सन्तोषजनक रहेको ब्यवसायीले बताएका छन् । महोत्सव स्थलमा राखिएका १ सय ८२ स्टलमध्ये अधिकांश स्टलमा राखिएका फेन्सी समानाको व्यापार भने निकै कम भएको व्यवसायीले बताए ।
महोत्सव स्थलको अग्रभागमा रहेको होटल हिल्टन एण्ड रेष्टुरेण्टले महोत्सवको अबधिभर राम्रै व्यापार ग¥यो । खाना र खाजाको व्यवस्था रहेको रेष्टुरेण्टमा राम्रै व्यापार भएको रेष्टुरेण्ट सञ्चालक गिता भण्डारीले बताईन् । ‘प्रत्येक दिन यतिनै व्यापार भयो भनेर हिसाब त राखिएन’ भण्डारीले भनिन् ‘सोचेअनुसारको व्यापार गरियो भन्ने लागेको छ ।’ चिसो मौसमका कारण बिहानमा दर्शक कम आउने भएकाले व्यापार नभएको भएपनि दिउँसो र साँझको व्यापारले पुर्ति गरेको उनको भनाई थियो । महोत्सव स्थलमा राखिएका केही लघुउद्यमीको व्यापार कम भएपनि अधिकांशले ब्यापार सन्तोषजनक भएको बताएका छन् ।
न्यु ढोरपाटन आर्गानिक खाद्य तथा फलफुल बिक्री केन्द्रका सञ्चालक धनबहादुर पुनले भने ‘हामीले ल्याएका सबै खालका उत्पादन समान रुपमा बिक्री भएनन् तर केही उत्पादनको भने रामै व्यापार भयो’ सुन्तलालाई मुख्य बिक्रीको सामाग्री बनाउने लक्ष्य बनाएर ढोरपाटनबाट महोत्समा आएका पुनले डोकोमा बिक्री भईरहेका सुन्तलाका कारण आफ्ना सुन्तला बिग्रेर गएको गुनासो गरे । ‘हजार केजी सुन्तला बेच्ने लक्ष्य लिएर आएका थियौ’ पुनले भने ‘डोकोमा स्टल बाहिर बिक्री भएका सुन्तलाका कारण दश केजी सुन्तला समेत हाम्रोबाट बिक्री भएन् ।’ सुन्तलाको बिक्री नभएका कारण १ सय किलो सुन्तला बिग्रिसकेको र यातायात खर्च समेत नउठाईकन बाँकी सुन्तला बिक्री गर्नु परेको उनको भनाई छ । महोत्सवमा अचार, कुराउनी लगायतका स्थानिय उत्पादनले पनि राम्रो व्यापार गरेको व्यवसायी बताउँछन् । ‘हाम्रोमा राम्रो व्यापार भयो’ अचारको स्टल राखेर बसेकी बागलुङकी अचार व्यवसायी चन्द्रा श्रेष्ठले भनिन् ‘महोत्सवका लागि भनेर ल्याएको सबै अचार बेचेर सकियो ।’ आर्गानिक ग्रीन टिको व्यापारका लागि कास्कीको लुम्लेबाट बागलुङ आएका टिका थापाले भने आयोजकले केटाकेटीपनको व्यवहार गरेका कारण महोत्सवमा कम दर्शक आएको र व्यापारमा असर परेको आरोप लगाए । दिनभर कार्यक्रम नगर्ने र स्टल बन्द हुने बेला रामाईला कार्यक्रमहरु सञ्चालन गर्दा व्यापारमा असर पुगेको उनको भनाई थियो । महोत्सवमा फेन्सी सामानको बिक्री निकै कम भएको छ । नजिकैमा बजार रहेको र समय मिलाएर महोत्सव स्थल भित्रका कार्यक्रम सञ्चालन नहुँदा फेन्सी सामानको व्यपारमा गिरावट आएको एक व्यवसायीले बताए । ‘चार बर्षसम्म बागलुङमा हुने चैत्राष्टमी मेलामा आएर राम्रो व्यापार गरेको सम्झेर महोत्सवमा आएँ’ काठमाण्डौका फेन्सी व्यवसायी सिताराम सिलवालले भने ‘महोत्सवमा स्टलको भाडा तिर्ने खर्च समेत हाम्रो पसलबाट उठेन ।’ महोत्सवका आयोजकले व्यवसायीको मर्म नबुझ्दा आफुहरु मारमा परेको उनको आरोप छ । ‘व्यापार हुने समय भनेको दिउँसोको समय हो’ सिलवालले भने ‘दिनभर सुनसान रहने महोत्सवको स्टल रात परेपछि तात्छ हाम्रो स्टल बन्द गर्ने बेला हुन्छ ।’ समयको व्यवस्थापन आयोजकले नगर्दा आफुहरु मर्कामा परेको उनको भनाई थियो । महोत्सवको टिकट प्रयोजन गरेको लाली चाउचाउले पनि व्यापार कम भएको जनाएको छ । शनिवारको दिन अलि बढि बिक्री भएको भएपनि अन्य दिन ५ देखी सात हजारको मात्रै कारोवार भएको लाली चाउचाउका प्रतिनिधि हरिप्रसाद पौडेलले बताए । उनले सोचे अनुसारको व्यापार नभएको गुनासो गरे ।