बागलुङ, २१ पुस– पाँचौं बागलुङ महोत्सवमा अपेक्षा गरिएको भन्दा ५० प्रतिशत कम टिकट बिक्री हुने संकेत देखिएको छ । महोत्सवको अबधि सकिँनै लाग्दा टिकट बिक्रीको दर बढेको छै्रन् । एक लाख टिकट बेच्ने लक्ष्य लिएको आयोजकले ५० हजारको हाराहरीमा मात्रै टिकट बिक्री हुने जनाएको छ । बिद्यालयमा परिक्षाको समय र क्याम्पसका बिद्यार्थीहरुले निशुल्क पास पाएका कारण आशा गरिए अनुसारको टिकट बिक्री नभएको मुल आयोजक समितीका सदस्य सचिव दयाराम पौडेलले बताए । महोत्सवमा आउने अधिकांश दर्शक बिद्यार्थी हुने गरेको र यहि समयमा बिद्यालयमा त्रैमासिक परिक्षा चलेकाले दर्शक भित्राउन कठिन भएको पौडेलले बताए ।
महोत्सवमा आयोजक लगायत सरोकारवालाका आफन्तसम्मले पास पाएको भनेर आलोचना भैरहेका बेला टिकट बिक्रीमा आएको गिरावटले त्यसको थप पुष्टि गरेको छ । ‘हामीले चैत्राष्टमीमा महोत्सवको आयोजना गर्दै आएको थियौं यसपटक समय फेरीयो’ पौडेलले भने ‘चैतेदशैं सँगै गरिने महोत्सवको जस्तै आँकलन गरेर एक लाखको लक्ष्य राखेका थियौं त्यो अनुसार टिकट बिक्री भएन ।’ उनले चिसो मौसमका कारण बृद्ध तथा बयस्कलाई समेत महोत्सव हेर्न आउन कठिन भएकाले टिकट लिने दर्शकको संख्यामा कमी आएको बताए । महोत्सवमा टिकट बिक्रीको जिम्मा पाएको पत्रकार महासंघ बागलुङले समय अनुकुल नभएका कारण टिकट बिक्री कम भएको जनाएको छ । बिद्यार्थीको परिक्षालाई ध्यान नदिँदा र चैत्रष्टमीमा जस्तै टिकट बिक्री हुने अपेक्षा राखिएकाले सोचेअनुसारको नतिजा नआएको महासंघका अध्यक्ष दिल शिरीषले बताए । पत्रकार महासंघ भवन निर्माणको लागि प्रतिटिकट ३ रुपैयाँ पाउने गरी पत्रकार महासंघले स्वयमसेवी पत्रकार तथा अन्य स्वयमसेवकको सहायता लिएर टिकटको बिक्री बितरण गर्दै आएको छ ।
‘टिकट कम बिक्री हुने देखियो अयोजकसँग हामीले हाम्रो कामको मुल्याङ्कन गर्नुस भनेका छौं’ शिरीषले भने ‘प्रतिटिकटको हिसाबमा भन्दा पनि एकमुष्ठ सम्बोधन गर्छौं भनेर प्रतिबद्धता जनाउनु भएको छ ।’ टिकट बिक्रिमा पत्रकार र स्वयमसेवकहरुले ठुलो मेहनत गरेकाले उद्योग बाणिज्य संघले त्यसको मुल्याङ्कन गर्नेमा आँफु ढुक्क रहेको शिरीषले बताए । महोत्सवको सातौं दिन सम्ममा २४ हजार टिकट मात्रै बिक्री भएको छ । बिद्यार्थीको २ हजार र अन्यको २२ हजार गरेर २४ हजार टिकट बिक्री भएको टिकट ब्यवस्थापन उपसमितीका संयोजक दिपक हमालले बताए । आज सम्मको बिक्रीको गतिलाई हेर्दा ४० हजारदेखी ४५ हजारसम्म टिकट बिक्री हुने हमालले बताए । शनिबार सम्ममा बिद्यार्थीको परिक्षा सकिने र दर्शकको संख्या बढ्ने भएकाले केहि बढि टिकट बिक्री हुने उनको भनाई छ ।
Previous Articleस्वास्थ्य चौकी भवन विवाद अझै टुंगिएन
Next Article महिला भलिबलको उपाधि दर्शन ट्रान्सपोर्टलाई