भवन डिभिजन यस्तो भन्छ
बागलुङ, २१ पुस– लामो समयदेखी बिबादमा रहेको धम्जा स्वास्थय चौकी निर्माण स्थलको नापजाँचका क्रममा भवन डिभिजन कार्यालय बागलुङले एकतर्फी कुरा सुनेर जर्बजस्ती गरेको आरोप लागेको छ । बिबादको टुंगो लाग्ने चरणमा रहेका बेला पुरानो स्वास्थ्य चौकी रहेको जमिन नापजाँच गरेर भवन डिभिजनले जर्बजस्ती गर्न खोजेको स्थानियले आरोप लगाएका हुन् । पुरानो स्ववाथ्य चौकी रहेको धम्जा देउरालीमा नयाँ भवन निर्माण गर्नुपर्ने एकथरिको माग र सबैलाई केन्द्र पर्ने ठाउँमा सार्नु पर्ने अर्कोथरिको मागका कारण चार बर्षदेखी भवन निर्माण कार्य अलपत्र पर्दै आएको काठेखोला गाउँपालिका–३ का वडाअध्यक्ष याम बहादुर श्रीषले बताए । बिबादित भवन निर्माणको लागि जग्गा नापजाँच गर्न आउँदा स्वास्थय चौकी ब्यबस्थापन समितीको अध्यक्ष समेत रहेको आँफुलाई गाउँ बाहिर रहेको बेला पारेर रातको समयमा आएर एकाबिहानै डिभिजनका इन्जिनियरहरुको टोलीले नापजाँच गरेको श्रीषको आरोप छ । ‘स्वास्थ्य चौकी प्रमुख बाहिर हुनुहुन्थ्यो म पनि सदरमुकाम गएको थिएँ ।’ श्रीषले भने ‘रातको समयमा जर्बजस्ती जग्गा नाप्ने काम भयो ।’
नेपाल सरकारले निर्माण गर्न लागेको भवनको बिषयमा बिबाद भएपछि मन्त्रिपरिषदको बैठकमा समेत बिबाद पुगेको र मन्त्रिपरिषदको बैठकले स्थानियलाई पायक पर्ने गरी निर्णय गर्नु भनेर पत्राचार गरेको श्रीषले बताए । ‘हामीले मन्त्रालयको पत्र पाएपछि वडा तहमा सहमती गरेर निर्णय गर्नका लागि गाउँपालिकामा पठाएका थियौं’ श्रीषले भने ‘गाउँपालिकाको बैठक बसेर निर्णय गर्ने बेला जर्बजस्ती जग्गाको नापजाँच गरियो ।’ श्रीषका अनुसार, देउरालीका बासिन्दा साविकको ठाउँमा भवन निर्माण हुनुपर्ने पक्षमा रहेका छन्भने अन्य स्थानियहरु धम्जाको सायाकटेरामा नयाँ भवन बन्नुपर्ने पक्षमा रहेका छन् । ‘पहिले स्वास्थ्य चौकीमार्फत जिल्लाका सात वटा गाविसले सेवा लिँदै आएका थिए अहिले त्यो अवस्था रहेन’ श्रीषले भने ‘अहिले प्रत्येक वडामा उपस्वास्थ्य चौकी बनेकाले धम्जाका सबैलाई पायक पर्ने ठाउँमा नयाँ भवन निर्माण गर्ने हाम्रो माग हो ।’ श्रीषले लामो समय बिबादका कारण दर्ता हुन नसकेको साँयाकटेरास्थित स्वास्थय चौकीको लागि खरिद भएको जग्गा भर्खरै मात्रै दर्ता भएको र प्रक्रिया अगाडी बढाउन लाग्दा भवन डिभिजनले भनसुनका आधारमा साविककै ठाउँमा नापजाँच गरेको आरोप समेत उनले लगाए ।
यता, भवन डिभिजन कार्यालयले भने स्वास्थ्य सेवा बिभाग र जिल्ला स्वास्थ्य कार्यालयको पत्रका आधारमा आँफुहरुले काम गरेको जनाएको छ । २०७३ साल असार २० गते बिभागबाट प्राप्त पत्र र २०७३ साल चैत्र ३० गते जिल्ला स्वास्थ्य कार्यालयबाट प्राप्त पत्रका आधारमा साविकको ठाउँमा नै नयाँ भवन निर्माण गर्ने गरी आँफुहरुले नापजाँच गरेको डिभिजन कार्यालय बागलुङका नायव सुब्बा बद्रि गौतमले बताए । ‘२०७३ साल बैशाखदेखीको उहाँहरुको बिबाद थियो’ गौतमले भने बिभागले परिपत्र गरेर जिल्ला स्वास्थ्य कार्यालयले ताकेका गरेपछि हामीले हाम्रो काम गरेका हौं । नापजाँचको लागि जाँदा स्वास्थ्य चौकी ब्यवस्थापन समिती, स्वाथ्यचौकी इन्चार्ज र गाउँपालिकाका कार्यकारी अधिकृतलाई जानकारी गराईएको गौतमले बताए ।
बिबादित भवन निर्माण स्थलको नापजाँच भएको थाहा पाएपछि काठेखोला गाउँपालिकाले पनि चासो देखाएको छ । वडाबाट भवन निर्माण स्थलको लागि निर्णय गर्न गाउँपालिकामा पठाएकाले गाउँपालिकाले निर्णय गर्नुअघि पुरानै ठाउँमा नापजाँच गर्नु गलत भएको गाउँपालिकाका अध्यक्ष अमर थापाले बताए । ‘मैले जानकारी पाए लगत्तै डिभिजनका इन्जिनियरलाई फोन गरेर काम अघि नबढाउनु भनेको छु’ थापाले भने ‘बिबादको टुंगो लगाउने जिम्मा गाउँपालिकालाई आएकाले हामीले त्यसलाई टुंगाएर जान्छौं ।’ थापाले केही दिनभित्रै जग्गा बिबाद टुंगो लगाउन गाउँपालिकाको बैठकले निर्णय गर्ने समेत बताए । थापाले काम अगाडि नबढाउनु भनेर डिभिजन कार्यालयले पत्र माग गरेकाले तत्कालै पत्राचार गरिने समेत बताए ।
नापजाँचको कार्य सकिएको भएपनि बिबादका कारण थप काम अगाडि नबढ्ने डिभिजन कार्यालयले जनाएको छ । टेण्डर प्रक्रियामार्फत निर्माण कम्पनीले कामको जिम्मा पाईसकेको भएपनि भवन निर्माणको प्रक्रिया भने प्रभावित हुने भएको हो । दुई तल्लामा १२ कोठा र शौचालय सहितको भवनका लागि नेपाल सरकारले यस आर्थिक बर्षमा १ करोड ८४ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ ।
स्वास्थ्य चौकी भवन विवाद अझै टुंगिएन
Previous Articleपाँच वर्षमा नुमना वडा बनाउँछौ (अन्तरवार्ता)
Next Article सात दिनमा २४ हजार टिकट बिक्री