बागलुङ नगरापलिकाको दुर्गम र भौगोलिक हिसाबले कठिन भू–भाग रहेको बागलुङ नगरपालिका वडा नं. ११– रायडाँडा विकासको सुरुवात गर्ने चरणमा छ । गत स्थानिय तहको निर्वाचनमार्फत जनप्रतिनिधि पाएको वडामा केही सडक बन्दै छन्भने केही बिद्यालयका भवन र कृषि तथा पशुविकासका कार्यक्रम पनि चल्दैछन् । करिव १८ बर्षको पत्रकारिता छोडेर एकाएक राजनीतिमा लागेर गत निर्वाचनमा नेकपा एमालेका दलबहादुर थापालाई २ सय ३ मतान्तरले पराजित गर्दै वडाको अध्यक्ष बनेका ज्ञानेन्द्र गौतमसँग सहकर्मी तारानाथ आचार्यको छोटो कुराकानी ।
वडाअध्यक्षको रुपमा काम गर्न कत्तिको सहज हुदो रहेछ ?
–म लामो समय पत्रकारिताबाट राजनीतिक क्षेत्रमा आएकोले केही समस्या पैदा हुनु वा असहज जस्तो लाग्नु स्वभाविक थियो । भौगोलिक रुपमा विकट मानिएको हाम्रो वडामा जनताले मलाई जनप्रतिनिधिको रुपमा स्वीकार गरे यो ठुलो कुरा थियो । सोहीअनुसार हरेक समस्याका बाबजुद मैले जनताको काम गर्दै आएको छु । काममा बिभिन्न खालका बाधा आउनु नौलो कुरा होईन । त्यसलाई हामीले चिर्दै लैजाने प्रयास गरेका छौं । भौगोलिक बिकटताका कारण दिन–दिनै जनतालाई भेट्न सम्भव छैन तर उहाँहरुका समस्या र काममा हामीले कुनैपनि सम्झौता गरेका छैनौं । हामीले त्यहिँ बिकटताको कारण नगरको सदरमुकाम र जिल्लाकै सदरमुकाममा सम्पर्क कार्यालय राखेर काम गरेका छौंभने वडामा वडा कार्यालयमार्फत काम गर्दै आएका छौं । काम सहज नै छ ।
वडाअध्यक्ष भएपछि यजनताले महशुस गर्ने गरी के–के काम गर्नुभयो ?
–पहिलो कुरा त लामो समय जनप्रतिनिधि नभएको ठाउँमा करिव २० बर्ष पछाडी हामी आउँदा जनतालाई राहत भएको छ । स्थानिय तहमा रहेको शुन्यताको अन्त भएको छ । यो नै ठुलो कुरा हो । कम्तीमा जनताले गुनासो राख्ने ठाउँ निर्माण भएको छ । निकै कठिन भू–भाग भएको हाम्रो वडा, भिरालो जमीन र खेतीयोग्य जमीन कम भएको ठाउँ हो । यहाँ सामान्य सडक सञ्जाल समेत थिएन । मैले चुनावपुर्व प्रतिबद्धता जनाएअनुसार बालौटे, रामतोला खत्रीगाउँ सडक तथा पुर्णेडाँडा, सिकादिप सडक निर्माण गरेँ । यो निर्माण गर्न केही वडा स्तरबाट बजेटको ब्यवस्था गरियो भने केही रकम बाँकी छ । जुन ऋणमा छ । अर्को कुरा भुकम्पका बेला हाम्रो नगरपालिका भित्र सबैभन्दा प्रभावीत भएको वडा हाम्रो हो । यो वडाका हरेक बिद्यालयका भवन भत्केका छन् । बिद्यार्थीलाई पढ्ने ठाउँ छैन् । म वडाअध्यक्ष भएलगत्तै एउटा बिद्यालयमा पार्टेसन गरेर कोठाहरु निर्माण गरी बिद्यार्थीलाई कम्तीमा छानोमुनी बसेर पढ्ने वातावरण मिलाए । जसमा जिल्ला शिक्षा र नगरपालिकाको केही सहयोग रहयो । जे होस् खुल्ला मैदानमा पढ्दै गरेका बिद्यार्थीले घामपानी ओत्ने छानो पाए । पक्कि भवन निमार्णको लागि योजना बनेको छ । अन्य धेरै चलिरहेका काममा सुधार गर्ने काम भएको छ ।
वडा कार्यालय नियमीत नखुल्ने र सचिव नभेटिने समस्या छ भन्छन नि ?
–हाम्रोमा त्यो खालको समस्या छैन् । भुगोलका कारण जनतालाई सास्ती भएको होला तर सेवामा कुनै समस्या छैन् । ५ जना कर्मचारी हामी सँग छन् । कार्यालय नखुल्ने भन्ने समस्या हाम्रोमा छँदैछैन् । अर्को कुरा मैले पहिलेनै भनिसकें सम्पर्क कार्यालय समेत राखेर काम गर्दै आएकाले जनताको सेवामा समस्या हुने कुरै भएन् ।
हजुरको क्षेत्रको विकासका लागि नगरपरिषदबाट के के योजनाहरु अगाडि सार्नु भएको छ र हालसम्म के–के गर्नु भयो त ?
–हरेक विकासको लागि सडक मेरुदण्डको रुपमा आउने गरेको छ । हामीले यहाँको सडकलाई स्तरोन्नती गर्ने र नभएका ठाउँमा सडकको ट्रयाक खोल्ने काम पहिलो प्राथमिकताको रुपमा अघि सारेका छौं । अर्को कुरा भुकम्पले भत्काएका बिद्यालयका भवनको पुर्ननिर्माण, धार्मिक पर्यटनको लागि योजना निर्माण तथा प्रचार–प्रसारको लागि पहल थालेका छौं । वडा स्तरमा मुल सडक निर्माण गरेर सञ्जाल निर्माण गर्दै नगर बस चलाउनेदेखी कृषि र पशुपालनमा पकेट क्षेत्र निर्माण गर्दै उत्पादन मुलक क्षेत्रमा लाग्न योजना बनाउने कामको लागि समेत परिषदमा योजना लगेका छौं । सडकमा बागलुङ–भकुण्डे–रायडाँडा सडक र गलुवा–रायडाँडा सडकलाई प्राथमिकतामा राखेका छौं ।
तपाईको वडाका सडक कच्ची छन्, कहिलेसम्म पक्की बनाउनु हुन्छ ?
–हाम्रो नगर सभाले नै निर्णय गरीसकेको छ । कम्तिमा २ बर्ष भित्रमा नगरका सबै सडकहरु ग्राभेल गर्ने र नालीयुक्त बनाएर नगरबस बाह्रै महिना सञ्चालन गर्ने । हामीले पनि वडामा सोही हिसावले काम गर्ने छौं । कम्तिमा मेरो कार्यकालभित्र वडाका सबै सडकलाई योजनाबद्ध रुपमा पक्कि बनाउने मेरो योजना छ । यो ५ बर्ष भित्रमा वडाका सबै सडक पक्कि बनाउने गरी काम थाल्छौं । यसमा सबैको सहयोग आवस्यक छ ।
आफ्नो कार्यकालमा हजुरको वडालाई कस्तो बनाउने योजना हुनेछ ?
–पहिलो कुरा त भौगोलिक हिसाबले निकै कठिन भुगोल भएको वडालाई सडक सञ्जालयुक्त बनाउँछौं । अर्को कुरा हाम्रो पशुपालन तथा तरकारी खेतीबाट यहाँका नागरिकहरुलाई आत्मानिर्भर बनाउन सकिने मैले देखेको छु । मासुजन्य उत्पादनको लागि बाख्रापालनको पकेट क्षेत्र र कृषिजन्य उत्पादनको लागी तरकारीको पकेट क्षेत्र बनाउँदै शिक्षा, स्वास्थय, कृषि, पर्यटन र रोजगारीमा सबैको पहुँच भएको वडाको रुपमा विकास हुने छ । पकेट क्षेत्र बनाएर काम गर्न सके यो ५ बर्षमा हामीले नमुना वडा बनाउन सक्छौं । धार्मिक पर्यटनका हिसावले हाम्रो वडा निकै सम्भावना बोकेको वडा हो । त्यसैले धार्मिक पर्यटनको विकास र प्रचार–प्रसार गरेर अन्तरिक पर्यटक भित्रिने वातावरण निर्माण गछौं ।
अन्त्यमा यस अनलाईनमार्फत केही भन्नु छ कि ?
–हामी विकाससँग र जनजिविकासँग आम सर्वसाधरणलाई जोडेर सबै क्षेत्रको विकास गर्दै नमुना वडाको अवधारणामा छौं । यसका लागि एक्लो प्रयास सम्भव छैन् । तपाईंहरु जस्ता मिडियाले सकारात्मक कुराको प्रचार र गलत कुराहरुमा सच्चिने मौका दिनुहोला । हामीलाई खवरदारी गर्दै रहनुहोला । हामी जनतासँग जोडीएर बिकासमा लाग्छौं । समय र अवसरका लागि यहाँलाई धन्यवाद ।