बागलुङ, २१ पुस– जिल्लाकै नमूना विद्यालयको पहिचान बनाएको बलेवाको गणेश माविको ३७ औं वार्षिकोत्सव विहिवार सम्पन्न भएको छ । वार्षिकोत्सवको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले शिक्षाको गुणस्तर विकासका लागि आग्रह र पूर्वाग्रह नराखेर काम गर्नुपर्नेमा जोड दिए ।
उनले पैसाका लागि खेल क्षेत्रमा म्याच फिक्सिङ भएझै शिक्षामा पनि गुणस्तर युक्त शिक्षक आउन नदिने गरी भएका चलखेल र फिक्सिङलाई निरुत्साहित गरिने बताए । पौडेलले हाल नगरपालिकाबाट शिक्षा सम्बन्धी ऐन नियम बन्न लागेको भन्दै अव काम नगरी राजनीतिमा लागेर मात्र हिड्ने शिक्षकले पुरानै ढर्राबाट चल्न नपाउने बताए । अव बन्ने ऐनले सबैलाई काम गर्नै पर्ने बाध्यता बनाउने र गुणस्तर सुधारको आधारमा मात्र उसले वृत्ति विकास पाउने व्यवस्था गर्ने बताए ।
उनले अधिकार खोज्ने शिक्षकले आफ्नो कर्तव्य पुरा गर्न आग्रह पनि गरेका थिए । कार्यक्रममा भागवत भास्कर कमलानयन गौतमले शिक्षामा मौलिकता भूलेकोले हामी पछाडि परेको बताए । उनले परापूर्व कालमा देशविदेशका मानिसहरु जनकपुर लगायतका क्षेत्रमा नेपाली भाषा र संस्कृतिमा आधारित शिक्षा लिन आउने गरेकोमा अहिले हाम्रा बालबालिका विदेश पठाउन थालिएको गुनासो गरे । उनले आयातित शिक्षाको भर पर्दा हाम्रो गुणस्तर खस्केको, दाताको भरमा चल्दा हामीले उनीहरुकै सिको गर्नु परेको लगायतको बिषय उठाएका थिए । गणेश मावि व्यवथापन समितिका अध्यक्ष नारायणप्रसाद श्रेष्ठको अध्यक्षता, शिक्षक सुरेन्द्र आचार्यको स्वागत र चिरञ्जिवि सुवेदीको संचालनमा सम्पन्न कार्यक्रममा जिल्ला शिक्षा अधिकारी गुरुप्रसाद पौडेल, वडा अध्यक्ष चक्रबहादुर खत्री र गणेश थापाले बोलेका थिए । त्यस्तै नेपाल शिक्षक संघका अध्यक्ष उमाकान्त शर्मा, नेविसंघका सहमहामन्त्री हरिहर शर्मा, एमालेका उपाध्यक्ष कृष्ण पाठक, नेपाल शिक्षक महासंघका सचिव केशव रेग्मी, विद्यार्थीहरु रोजिना विक विवेक सुवेदी लगायतले बोलेका थिए ।
उक्त अवसरमा प्रधानाध्यापक चुडचमणी सुवेदीले विद्यालयको प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यालयले २७ जना निजी श्रोतका शिक्षक राखेर कक्षा १ देखि ११ सम्म अंग्रेजी र कम्प्युटर प्रविधिको पढाई समेत संचालन गरेको सुवेदीले जानकारी गराए । विद्यालयमा अहिले पनि आधुनिक भवन अभाव छ । पुरानै शैलीको भवन भएपनि सरसफाई, खानेपानी, शौचालय, अनुशासनमा विद्यालय अब्बल देखिएको जिल्ला शिक्षा अधिकारी गुरुप्रसाद पौडेलले बताए ।
Previous Article२१ पुस २०७४, ढोरपाटन दैनिक
Next Article पाँच वर्षमा नुमना वडा बनाउँछौ (अन्तरवार्ता)