बागलुङ, २० पुस– बुर्तिवाङ बजारमा मध्यराति एक्कासी आगलागी भएपछी त्रासित बनेका बजारवासी विहानीपख आगो नियन्त्रणमा आएपछि राहतको सास फेरेका छन् । ढोरपाटन नगरपालिका – १, बुर्तिवाङ बजार स्थित गणेश बुढा र रामबहादुर घर्तीको घरबाट मध्यराति एक्कासी आगोको ज्वाला निस्किएपछी बजारवासी आतंकित बनेका थिए । संपूर्ण वजारवासी र प्रहरीको अथक प्रयासले विहानी पख आगो नियन्त्रणमा आएकोले बजारमा थप क्षती हुन नपाएको स्थानीयले बताएका छन् ।
आगोलागी भएका दुई घर पूर्णरुपमा जलेर खरानी बनेपनि त्यससंग जोडिएका अन्य घरहरुमा आगो फैलिन नदिई बजारलाई खरानीहुन बाट बचाउन सकिएको प्रहरीले जनाएो छ । बुर्तिवाङ ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण रानामगरले आगो नियन्त्रणमा आईसकेको बताए । विहानी पख बजारवासी र प्रहरीको प्रयासले आगोलाई पूर्णरुपमा नियन्त्रणमा लिईएकोले थप क्षेती हुनबाट जोगिएको प्रहरीको भनाई छ । बागलुङ बजारबाट छुटेको दमकल आज विहान ४.३० बजे मात्र बुर्तिवाङ बजारमा पुगेको थियो । त्यतिबेला आगो नियन्त्रणमा आईसकेको प्रहरीको भनाई छ । तीब्ररुपमा शहरीकरण भैरहेको बुर्तिवाङ बजारमा अव्यवस्थित रुपमा भवनहरु निर्माण गरिएकाले कुनैपनि समय यस्ता खाले दुर्घटना हुने खतरा विद्यमान रहेको स्थानीयको भनाई छ ।
अकस्मात अकल्पनीय रुपमा आईलाग्ने दैवी आपत्तीबाट सुरक्षित रहन बजारवासीलाई यो अग्नीकाण्डले सजग र सतर्क बनाएको छ । आगलागीको यस घटनाले बुर्तिवाङमा वारुण यन्त्र (दमकल) को आवश्यकता महसूस भएको बजारवासीले बताएका छन् । यसैवीच ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले निकट बारुणयन्त्रको व्यवस्थागर्ने बताएका छन् । उनले यसपालीको बजेटमा सम्भव नभएपनि आगामी आवको बजेटमा समावेश गरी बारुणयन्त्र खरीद गर्ने प्रतिवद्धता जनाए ।