बागलुङ, २० पुस – धौलागिरि क्षेत्रमा निकै लोकप्रिय सालैज्यो भाका गाएर लोकगायक खडग गर्बुजाले बागलुङेसँग रमाइलो बाँडेका छन् । पाँचौँ बागलुङ महोत्सवका आएका गर्बुजाले आइतबारदेखि दुई दिन दर्जनौँ गीत प्रस्तुत गरे ।
‘पानी खायो बाघैले’, ‘सोले डाँडा काटयो मायाले’ र ‘जाउँला पाखा पानी मामाकी छोरी लिन’ जस्ता गीत प्रत्यक्ष सुन्न पाउँदा दर्शकश्रोता उत्साहित बने । दुई दिनसम्म हील चियरमा बसेर गाएका गायकलाई उनकै श्रीमती मीना गर्बुजाले साथ दिएकी थिइन् । खडगको गीतमा मीनाले नाच्दा दर्शकश्रोताले थप रमाइलो महसुस गरे ।
पुसको चिसो भुलेर दर्शकश्रोता झुमेको देख्दा कलाकारलाई हौसला मिलेको उल्लेख गर्दै अर्का गायक गणेश पौडेलले भने, ‘झयाउरे भाका, पञ्चेबाजाको ताल तथा सालैज्योप्रति बागलुङेको बढी चासो रहने गर्छ ।’
बागलुङ उद्योग वाणिज्य संघद्वारा सुरु महोत्सव एक साता जति चल्नेछ । यस अवधिमा स्थानीय र राष्ट्रिय गरी ६ दर्जनजति कलाकारलाई निम्त्याइएको संघका अध्यक्ष जयराम भारीले बताए । महोत्सवमा हरेक दिन ५–६ जना कलाकारले मनोरञ्जन दिने गरेका छन् ।
खुला लोकदोहोरी प्रतियोगिता पनि सञ्चालन छ । ‘आफ्नै क्षेत्र र जिल्लाको स्थानविशेषको गीत गाएपछि रमाएर नाच्ने धेरै हुन्छन्,’ संघका कलाकार संयोजक राजन शाक्यले भने, ‘लोकगीत, दोहोरी र सालैज्यो गीतले मेलाप्रति आकर्षण बढेको छ ।’ महोत्सवमा इन्डियन आइडल भइसकेका प्रशान्त तामाङले पनि आकर्षण थपेका थिए । उनले ‘गोर्खा पल्टन’ को गीत, केही हिन्दी गीत सुनाएका थिए ।
Previous Articleप्रदेश संरचनामा कर्मचारी संख्या तय
Next Article पश्चिमाञ्चल र गल्कोट भिड्दै