बागलुङ, १९ पुस–बागलुङ नगरपालिका–३ का नारायण शर्माले कृषि उद्यमबाट मनग्य आम्दानी गर्दै आएका छन् । पन्ध्र वर्षअघि व्यावसायिक कृषि थाल्नुभएका ४९ वर्षीय शर्माले माछा, कुखुरा, हाँस, बाख्रापालनसँगै केराखेती पनि गरिरहेका छन् । रु. १२ लाख लगानीबाट शुरु गरेको कृषि फार्मबाट उनले अहिले वार्षिक रु. १५ लाखसम्म आम्दानी गर्छन । छ वटा पोखरीमा माछापालन गरेका उनले वार्षिक रु. आठ लाखसम्म आम्दानी हुने गरेको बताए । शर्माले आफ्नै चार रोपनी जग्गामा माछापालन गरेका छन् ।
पोखरीमा ग्रास, कमनलगायत विभिन्न जातका सात हजार माछा छन् । पोखरीको आलो माछा प्रतिकिलो रु ५०० मा बिक्री हुने गरेको शर्माले बताए । उनले फार्ममा तीन हजार ब्रोइलर र दुई हजार कोइलर जातका कुखुरा पालेका छन् । कुखुरासँगै हाँसपालन गरेका शर्माले जिल्ला कृषि र पशुसेवा कार्यालयबाट अनुदानसमेत पाएका छन् ।
माछापालनका लागि जिल्ला कृषि विकास कार्यालयबाट रु. ६० हजार र कुखुरापालनका लागि जिल्ला पशुसेवा कार्यालयबाट रु. ५० हजार अनुदान पाएको शर्माले बताए । शर्माले गरेको उद्यमशीलता अन्य किसानका लागि प्रेरणादायी बनेको छ । विसं २०४७ मा शिक्षण पेशा त्यागेर कृषि रोजेका शर्मा यसमै सफल भएका छन् । फार्ममा केहीलाई रोजगारीसमेत दिएका उनले कृषिलाई अझै व्यावसायिक बनाउने सोचमा छन् । “उत्पादन गर्न सके बजारको कुनै समस्या छैन, कृषि कर्मबाट म पूर्ण सन्तुष्ट छु”, शर्माले भने । काठेखोला छेउँमा रहेको सो फार्मबाट उत्पादित कृषि उपज बागलुङ सदरमुकाममै खपत हुने गरेको छ । अन्त गएर गर्ने परिश्रम कृषिमा लगाउन सके मनग्य आम्दानी लिन सकिने उनको भनाइ छ ।
Previous Article सडक र घरको मापदण्ड कायम गुर्जामा सुरुङ मार्ग
Next Article २०७४ पुस १९ गते बुधबारको राशिफल