म्याग्दी, १९ पुस– मालिका गाउँपालिकाले सडक र घरको मापदण्ड कायम गरेको छ । गाउँ कार्यपालिकाको हालै बसेको बैठकले गाउँपालिका क्षेत्रका सडक, घर र भवनको मापदण्ड तोकेको हो । बस्ती विकास शहरी योजना तथा भवन निर्माण मापदण्ड, २०७२ लागू गर्ने निर्णय भएपछि नयाँ घर निर्माणको नक्सा पास र सडकको मापदण्ड कायम गरिएको प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले जानकारी दिए । गाउँपालिकाको सडक न्यूनतम छ मिटर फराकिलो हुने भएको छ । बजार क्षेत्रमा व्यापारिक भवन निर्माण गर्दा सडकलाई दुई र आवासीय भवन बनाउँदा डेढ मिटर छाड्नुपर्नेछ ।
यसैगरी दरवाङ बजारको फोहर व्यवस्थापन गर्न गाउँपालिकाले ट्र्याक्टर खरिद गर्ने भएको छ । ट्र्याक्टर खरिद र बजारमा शहरी सुरक्षाका लागि सडक बत्ती जडान गर्न रु. ४६ लाख विनियोजन गरिएको छ । बजेट संशोधन गरेर कृषि र पशु विकाससम्बन्धी कार्यक्रमलाई समावेश गरेको छ । गत असारमा सम्बन्धित विषयगत कार्यालयसँग समन्वय नहुँदा योजना, नीति तथा कार्यक्रम र बजेटमा कृषि र पशुसेवाको क्षेत्रमा बजेट विनियोजन हुन सकेको थिएन । हालै बसेको गाउँ कार्यपालिकाको बैठकले अन्य शीर्षक र जगेडा बजेटमार्फत कृषि र पशु सेवासम्बन्धी कार्यक्रमलाई समेटिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए । सम्बन्धित मन्त्रालयको राष्ट्रिय कार्यक्रमसँग आबद्ध हुने गरी वडासँग समन्वय गरेर कार्यक्रम कार्यान्वयन गरिने भएको छ । कृषिका लागि रु ३२ लाख र पशुसेवातर्फ रु १७ लाख ५० हजार बजेट विनियोजन गरिएको अध्यक्ष रोकाले बताए ।
आकस्मिक सडक मर्मतका लागि विनियोजन गरिएको बजेटलाई कृषि र पशु कार्यक्रमका लागि बाँडिएको हो । गाउँपालिकाको कृषि र पशुसेवा शाखाले वडा कार्यालयसँग समन्वय गरेर योजना तथा कार्यक्रम कार्यान्वयन गर्नेछ । यसअघि मंगला र धौलागिरि गाउँपालिकाको कार्यपालिका बैठकले कृषि र पशु विकाससम्बन्धी कार्यक्रमलाई वार्षिक बजेटमा समेटिसकेका छन् । बेनी नगरपालिका, अन्नपूर्ण र रघुगंगा गाउँपालिकाले कृषि र पशुसेवाका योजना तथा कार्यक्रमलाई समावेश गर्न वास्ता नगरेको कृषको गुनासो छ ।
मालिका गाउँपालिकामा स्थानीय प्राकृतिक स्रोत साधनको परिचालन गरी रोजगारी सिर्जना र आयआर्जन वृद्धिका लागि लद्युउद्यम विकास कार्यक्रम सञ्चालन गरिने भएको छ । लद्युउद्यम विकास रणनीति तयार पार्ने काम अन्तिम चरणमा पुगेको गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले बताउनुभयो । गुर्जालाई यातायात सञ्जालसँग जोड्न सुरुङ मार्ग जिल्लाको सबैभन्दा दुर्गम र विकट बस्ती गुर्जालाई यातायात सञ्जालसँग जोड्न सुरुङ मार्गको परिकल्पना गरिएको छ । धौलागिरि गाउँपालिका–१ मा पर्ने गुर्जामा सहजरूपमा यातायात सेवा पु¥याउनका लागि सुरुङ मार्ग निर्माणको परिकल्पना गरिएको हो । गाउँपालिकाले २ नं वडामा पर्ने लुलाङदेखि गुर्जासम्म सुरुङ मार्ग निर्माणको विषयमा सम्भाव्यता अध्ययन गर्ने भएको छ । लुलाङ–गुर्जा सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्न गाउँपालिकाले चालू आवमा रु आठ लाख बजेट विनियोजन गरेको १ नं वडाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए । सम्भाव्यता अध्ययन गर्न परामर्शदाता कम्पनी छनोटको प्रक्रिया अघि बढाइएको छ । एउटै गाउँ रहेको गुर्जामा पुग्न नजिकैको बस्ती लुलाङबाट तीन हजार ५०० मिटर उचाइको देउराली धुरी पार गर्दै कम्तीमा आठ घण्टा पैदल हिँड्नुपर्छ । उकालो, ओरालो, जंगल र भिरको बाटोको पैदलयात्रा अत्यासलाग्दो हुने गर्छ । हिउँ परेपछि पैदलमार्ग अवरुद्ध हुन्छ । भौगोलिक विकटता र प्रतिकूल मौसमका कारण सडकको विकल्पमा सुरुङ मार्गको परिकल्पना गरिएको वडाध्यक्ष छन्त्यालले बताए । “सकेसम्म सवारी साधन आवतजावत गर्ने नभए, पैदलमार्फत आवतजावत गर्नका लागि भए पनि सुरुङ मार्ग आवश्यक छ”, उनले भने । सडक पुगेको मुनादेखि गुर्जासम्म खच्चरमार्फत सामान ढुवानी गर्दा प्रतिकिलो रु. २१ लाग्छ । करिब २३० घरधुरी छन्त्याल र दलित समुदायको बसोबास रहेको गुर्जा पर्यटन, जडीबुटी खेती, खानी र पशुपालनका लागि प्रशस्त सम्भावना बोकेको क्षेत्र हो । ढोरपाटन शिकार आरक्षसँग जोडिएको गुर्जाका बासिन्दा भौगोलिक विकटताका कारण आधारभूत स्वास्थ्य उपचार सेवाबाट वञ्चित छन् ।
बिरामीलाई उपचारका लागि अस्पताल पु¥याउन र बढी तौल भएका निर्माण सामग्री ढुवानी गर्न हेलिकप्टरको प्रयोग गर्नुपर्ने बाध्यता छ । लुलाङ गाउँको शिरानदेखि गुर्जाको वटनथानलाई सुरुङ मार्गले जोड्न सकेमा आठ घण्टाको पैदलयात्राको यात्रा दुई घण्टामा छोटिने वडाध्यक्ष छन्त्यालले बताए । सुरुङ मार्ग बनेपछि सहज यातायात सुविधासँगै पर्यटक भित्र्याउने, तामा, फलाम खानी सञ्चालन गर्ने, जडीबुटी खेती र भेडाबाख्राको बजारीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । सम्भाव्यता अध्ययन गरेपछि सुरुङ मार्ग निर्माणका लागि प्रदेश र संघीय सरकारसँग योजना भित्र्याउन पहल गरिने गाउँपालिकाले जनाएको छ ।