काठमाडौं, १९ पुस – बिरामीबाट चर्को शुल्क असुल्ने उपत्यकाका दुई ठूला अस्पतालविरुद्ध प्रहरीले मुद्दा दायर गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले बाँसबारीस्थित नेपाल इन्स्टिच्युट अफ न्युरोलोजी एन्ड एलाइड साइन्सेज (न्युरो) र बसुन्धरास्थित इशान बाल तथा महिला अस्पतालविरुद्ध ठगीअन्तर्गत मंगलबार मुद्दा दायर गरेको हो ।
महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक रवीन्द्र धानुकका अनुसार पहिलो चरणमा दुई अस्पतालविरुद्ध मुद्दा दायर गरिएको छ। आपूर्ति विभागले उपत्यकाका अस्पतालले उपचारका नाममा ठगी गरेको भन्दै आवश्यक कारबाहीका लागि सोमबार प्रहरीमा पत्राचार गरेको थियो।
विभागका महानिर्देशक कुमार दाहालका अनुसार धापासीस्थित ग्रान्डी इन्टरनेसनल अस्पताल, ग्वार्कोस्थित बीएन्डबी अस्पताल, बसुन्धरास्थित इशान बाल तथा महिला अस्पताल र बाँसबारीस्थित नेपाल इन्स्टिच्युट अफ न्युरोलोजी एन्ड एलाइड साइन्सेज (न्युरो) विरुद्ध मुद्दा दायर गर्न प्रहरीलाई पत्र पठाइएको थियो।
‘आपूर्ति विभागले पठाएको पत्रको आधारमा मंगलबार इशान र न्युरो अस्पतालविरुद्ध मुद्दा दायर गरेका छौं’, प्रहरी उपरीक्षक धानुकले भने,‘बाँकीविरुद्ध पनि केही दिनमै मुद्दा दायर गर्छौं।’ आपूर्तिको अनुगमनमा इशान अस्पतालले बेड, बेड चार्ज डिलक्स गरी एकै शीर्षकमा दुई पटकसम्म बिरामीबाट चर्को शुल्क असुल गरेको, गेट पास चार्ज, अपरेसन चार्ज, प्रक्रिया चार्ज, प्रि एनेक्स चार्ज तथा बिरामी कुरुवाको समेत शुल्क असुल गरेको भेटिएको थियो।
बिरामीबाट ठग्ने न्युरो र इशान बाल अस्पतालविरुद्ध मुद्दा
Previous Articleएमाले सांसद सिलवाललाई पक्राउ गर्न वारेन्ट जारी
Next Article सरकारले १० वर्षमा बाँड्यो ५ अर्ब बढि रकम