बागलुङ, १८ पुस – महानगरीय प्रहरी परिसर काठमाडौंले नेपाल प्रहरीको पूर्व नायव महानिरीक्षक (डिआइजी) तथा नेकपा एमालेका सांसद नवराज सिलवालाई पक्राउ गर्न वारेन्ट (पक्राउ पूर्जी) जारी गरेको छ । ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद सिलवलाई पक्राउ गर्न महानगरीय प्रहरी परिसर काठमाडौंले ललितपुर परिसरलाई पत्र लेख्दै पक्राउ गर्न भनेको छ ।
नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) बढुवासम्बन्धी मुद्दामा कार्यसम्पादन मूल्याङ्कन (कासमू) किर्ते गरेको भन्दै सिलवालविरुद्ध महानगरीय प्रहरी परिसरले जाहेरी दर्ता गरेको थियो । आईजीपी बढुवासम्बन्धी मुद्दामा कासमू किर्ते गरिएको भन्दै सर्वोच्च अदालतले उक्त कार्यमा संलग्नलाई कारबाही गर्न आदेश जारी गरेको थियो । सार्वोच्चको आदेश बमोजिम महानगरीय प्रहरी परिसर काठमाडौंले सिलवालविरुद्ध पुस ५ गते जाहेरी दर्ता गरेको थियो ।
काठमाडौं परिसरले ललितपुर परिसरलाई पत्र लेखेर सिलवालाई पक्राउ गर्न भने पनि सिलवाल भने भेटिएका छैनन् । सिलवालको खोजी गर्दै प्रहरी उनको घरसम्म पुगे पनि भेट्टाउन नसकेको महानगरीय प्रहरी आयुक्तको कार्यालय स्रोतले जानकारी दियो । आफूविरुद्ध पक्राउ पूर्जी जारी भएको थाहा पाएपछि सिलवालले उपत्यका छाडेको हुनसक्ने प्रहरीको अनुमान छ । महानगरीय प्रहरी परिसर काठमाडौंले सिलवालाई पक्राउ गर्न जिल्लातहमा पनि समन्वय गर्ने तयारी गरेको छ ।