मातृका दाहाल
काठमाडौं, १९ पुस – पछिल्लो १० वर्षमा गठन भएका सरकारले करिब ५ अर्ब रुपैयाँ बाँडेका छन् । दोस्रो जनआन्दोलनयता गठन भएका १० वटा सरकारले स्वास्थ्यउपचार र आर्थिक सहायताका नाममा ५ अर्ब रुपैयाँ भन्दा बढी रकम बाँडेका हुन् । सरकारबाट सहयोग पाउनेमा अधिकांश सत्तामा रहेका दलकै नेता कार्यकर्ता छन् भने केही स्वतन्त्र व्यक्तिले पनि यस्तो सहयोग पाएका छन् ।
सरकारले बाँडेको यो सहायता विभिन्न आन्दोलनमा मारिएका व्यक्तिका परिवारलाई दिइएको बाहेक हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अर्थ मन्त्रालयका अनुसार हरेक सरकारले आफ्ना कार्यकर्ता तथा दल निकटमा संघसंस्थालाई उपचार, जीविकोपार्जन, पर्वलगायतका शीर्षकमा राज्यको ढुकुटीबाट जथाभावी रकम वितरण गरेका छन् ।
सत्ता हस्तान्तरणको प्रक्रियामा ढिलाइ भइरहँदा सरकारले हालै पूर्वप्रधानमन्त्री डा. तुल्सी गिरीलाई जीविकोपार्जनकै लागि २५ लाख रुपैयाँ दिने निर्णय गरेको छ । यसरी सहयोग पाउनेमा पूर्वसभामुख तारानाथ रानाभाट पनि छन् । “दैनिक जीविकोपार्जन गर्न नसक्ने हैसियतका नागरिकलाई धेरथोर सहायता उपलब्ध गराउने चलन विश्वभर नै हो,” गृह मन्त्रालयका एक सहसचिव भन्छन्, “तर नेपालमा सत्ताको पहुँच र प्रभाव भएका व्यक्तिले जतिपनि सहायता लिनसक्ने नजिर स्थापित भइसकेको छ ।”
महालेखा परीक्षक टंकमणि शर्मा आफैंले बनाएको नियम र कानुन र कार्यविधिविपरित आर्थिक सहायता उपलव्ध गराउनु आर्थिक अनुशासनको ठाडो चुनौती भएको बताउँछन् । मुलुकका विभिन्न भागका विपन्न र गरीव नागरिक जीविकोपार्जन गर्न नै समस्या वेहोर्नुपर्ने अवस्था र अर्कातर्फ राजनीतिक दलका नेताकार्यकर्ता र पहुँचवालाले सरकारको ढुकुटीबाट लाखौं रुपैयाँ आर्थिक सहायता पाउनु नागरिकप्रतिकै व्यंग्य भएको शर्माको टिप्पणी छ ।
अर्थ मन्त्रालयका अनुसार २०६२-६३ को परिवर्तनपछि नेपाली कांग्रेस, नेकप एमाले, नेकपा माओवादी केन्द्र, चुनावी मन्त्रीपरिषद, मधेसवादी दल र राप्रपा निकटका ३ हजारभन्दा बढी व्यक्ति र दल निकटका विभिन्न संघसंस्थाले आर्थिक सहयोग लिएका छन् ।
मन्त्रालयका अनुसार गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकरका पालामा आव २०६३-६४ मा ३ करोड र २०६४-६५ मा ५ करोड रुपैयाँ कार्यकर्तालाई बाँडिएको थियो । कोइराला नेतृत्वको सरकारमा कांग्रेस, एमाले, माओवादी सरकारमा थिए । त्यसैगरी पुष्पकमल दाहाल नेतृत्वको सरकारले आव २०६५-२०६६ मा करिब ६ करोड, माधवकुमार नेपाल नेतृत्वको सरकारले आव २०६६-६७ र २०६७-६८ मा क्रमशः १९ करोड ३५ लाख बाँडेको सरकरी तथ्यांकमा उल्लेख छ ।
बाबुराम भट्टराई र खिलराज रेग्मी नेतृत्वको सरकारले आव २०६८-२०६९ देखि २०७०-७१ को अवधिमा करिव ३६ करोड रुपैयाँ बाँडेको तथ्यांक छ । दोस्रो संविधानसभा निर्वाचनपछि प्रधानमन्त्री बनेका सुशील कोइराला नेतृत्वको पालामा २०७१-७२ मा २ अर्ब ५१ करोड रुपैयाँ र २०७२-७३ मा २६ करोड २३ लाख बाँडिएको उल्लेख छ । यस्तै, केपी शर्मा ओली, पुष्पकमल दाहाल र शेरबहादुर देउवा नेतृत्वका ३ वटा सरकारले डेढ अर्ब रुपैयाँभन्दा बढी बाँडेका छन् ।
Previous Articleबिरामीबाट ठग्ने न्युरो र इशान बाल अस्पतालविरुद्ध मुद्दा
Next Article इमानदारका लागि चुनाव अब वरदान होइन, श्राप सावित