म्याग्दी, १८ पुस -जिल्लाको धौलागिरि गाउँपालिका– ५ मल्कबाङ्गका बासिन्दाको पहलमा कल्भर्ट पुल निर्माण भएको छ । स्थानीय जनजागृति मावि नजिकै रहेको स्कुलको खोल्सामा कल्भर्ट पुल निर्माण भएको हो । स्थानीयवासीको सक्रियतामा सात मिटर लम्बाइ र डेढ मिटर चौडाइ भएको ढलान गरिएको पक्की कल्भर्ट पुल निर्माण भएको छ । मल्कबाङ्गका बासिन्दा र धौलागिरि गाउँपालिकाको आर्थिक सहयोगमा पुल निर्माण भएको कल्र्भट पुल निर्माण योजनाका अगुवा रविन्स छन्त्यालले जानकारी दिए । धौलागिरि गाउँपालिकाले रु. एक लाख अनुदान उपलब्ध गराएको उक्त योजनाका लागि छन्त्यालले कतारमा रहँदा आर्थिक संकलन अभियान सञ्चालन गरेका थिए । उक्त अभियानबाट रु. छ लाख जुटाइएको थियो । अभियानमा स्वदेशमै रहेका मल्कबाङ्गका बासिन्दा र विदेशमा देशका अन्य जिल्लावासीले समेत सहयोग गरेका थिए । हाल पोखरा निवासी भीमबहादुर छन्त्यालको परिवारले सबैभन्दा बढी रु. ६० हजार सहयोग गरेका थिए । गत कात्तिक दोस्रो हप्तादेखि पुल निर्माण शुरु भएको थियो । कल्भर्ट पुल निर्माण भएपछि स्थानीयवासी, विद्यार्थी र शिक्षक शिक्षिकालाई गाउँदेखि आवतजावत गर्न सहज भएको छ । यसअघि बर्खायाममा बाढी आउँदा जोखिम मोलेर वारपार गर्नुेपर्ने अवस्था थियो ।