बागलुङ, १७ पुस– पाँचौ बागलुङ महोत्सवको मुख्य आर्कषणको रुपमा लिइएको पुरुष भलिबल प्रतियोगिता आईतवारदेखि शुरु भएको छ । महिला भलिबल भने सोमबारमात्र शुरु हुने बताइएको छ । पहिलो दिन आईतवार पुरुष भलिबल तर्फका ३ वटा खेल सम्पन्न भएका छन् । लिगकम नकआउटबाट खेलाईएको पहिलो दिनको खेलमा बागलुङको काठेखोला गाउँपालिका, नेपाली सेनाको २३ नम्बर बाहिनी र गलकोट युवा क्लब बिजयी भए ।
वेष्ट आफ फाइभ अन्र्तगत खेल खेलाईएपनि तीनवटै खेलहरु सोझो सेटमा सम्पन्न भएका थिए । काठेखोलाले नेविसंघ निसीखोलालाई २५–२२, २५–१९ र २५–२२को सोझो सेटमा पराजित गरेको थियो । त्यस्तै सेनाले बिनामारे युवा क्लबलाई २५–१२, २५–१९ र २५–१५ मा पराजित गरेको हो । आइतवारकै अन्तिम खेलमा गलकोटले बांगेचउर संगठनलाई २५–१८, २७–२५ र २५–२१ को सेटमा पराजित गरेको हो । महोत्सवको अवसर पारेर आयोजक उद्योग बाणिज्य संघ बागलुङले खुला पुरुष तथा महिला भलिबल प्रतियोगिता राखेको हो । १२ वटा टिमले भाग लिएको खेलमा प्रथम हुनेलाई १ लाख ११ हजार १ सय ११ रुपैयाँ र द्वितिय हुनेलाई ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको खेल संयोजक उमाकान्त शर्माले बताए ।
सोमबार पश्चिमाञ्चलविरुद्ध सिगाना युवा क्लब, काठेखोलाविरुद्ध अमर आदर्श क्लब र सेना विरुद्ध शेखर होटल भिड्ने भएका छन् । महिला तर्फको खेल भने सोमबारदेखि मात्र शुरु हुनेछन् । सोमबार राष्ट्रिय तहको पश्चिमाञ्चल र न्यु डाइमण्ड क्लबबीच खेल हुने आयोजकले जानकारी दिएका छन् । महिलातर्फ ६ वटा टिमले भाग लिएका छन् ।
Previous Articleबागलुङ जिल्लाको भविष्य सुन्दर बनाउने कि अब
Next Article फापरको व्यापार सन्तोषजनक