राजेशचन्द्र राजभण्डारी
‘हाम्रो बागलुङ राम्रो बागलुङ राम्रो बागलुङ हाम्रो बागलुङ’ भन्ने नारा यतिबेला राम्रो बजार लिएको छ । साँच्चै भन्ने होभने अब बागलुङ जिल्लालाई राम्रो बनाउने पनि हामी बागलुङेले नै हो । नराम्रो बनाउने पनि हामी बागलुङे नै हो । बागलुङको लागि बागलुङबासी चिन्तित नभएसम्म अरूले चिन्ता गर्नेवाला छैन । अहिले बागलुङ उद्योग बाणिज्य संघले नयाँ उत्साह थप्नको लागि बागलुङ सदरमुकाममा पाँचौ बागलुङ महोत्सब आयोजना गरेर यतिबेला सारा जिल्लाबासी मात्रै हैन देशबासीलाई नपुगेर बिदेशमा बस्नेहरूलाई समेत बागलुङ जिल्लाको भुमिमा तान्न सफल भएको छ । यसलाई सकारात्मक कदमको रूपमा लिन जरुरी छ ।
हामीसंग प्रकृतिले दिएको सबै संरचना छन् । हावापानी, जंगल, जल, पहाड, खोलानाला र हिमाल सबै छन् तर हामीले त्यसलाई प्रयोग गरेर आर्थिक आम्दानीको स्रोत बनाउन भने सकिरहेका छैनौ भन्दा फरक पर्दैन । बागलुङ जिल्लाले धेरै नेता जन्मायो । धेरैलाई सांसद बनाउन पनि सफल भयो तर जिल्लामा भने खासै उपलब्धि भने भएको देखिएन । बागलुङ जिल्लामा विकासलाई हेर्ने समान खालको दृष्टिकोण भने भएको देखिएन त्यहीँ कारणले पनि जिल्लाले चाहे जतिको प्रगति गर्न भने नसकेको कुरालाई हामी सबैले स्विकार्नु पर्छ । अहिले ढिलै भएपनि अलिकति सकारात्मक सोच राख्ने सांसद निर्वाचन जित्न सफल भएका छन् । जिल्लामा योजनाबद्व ढंगले विकास गर्न सबै एकजुट हुनुको बिकल्प छैन भन्ने कुरामा पनि सबै एकमत भएको कारण अब भने विकासलाई हेर्ने समान दृष्टिकोणले भने राम्रो फाइदा गर्ने देखिन्छ ।
बागलुङ उद्योग बाणिज्य संघले गर्दै गरेको १० दिने बागलुङ महोत्सब पनि समग्र जिल्लाको विकास सम्बन्धि धारणा बनाउन सहज होस । जिल्लामा लगानी गर्ने लगानीकर्ता भित्राउन सहज होस भनेर पनि गरेको हो भन्ने कुरा बुझ्न सके धेरै फाइदा हुनेछ । हामी साँच्चै सकारात्मक हुने होभने यहाँ समस्या भनेको केही पनि छैन । हामीले भन्दा धेरै प्रगति अरू जिल्लाले किन गरे ? हामी किन पछि परेको हो ? भन्ने कुराको मुल्यांकन गर्न जरुरी छ । साँच्चै भन्ने होभने जिल्लामा अब गफ चुटेर केही परिवर्तन गर्न सकिदैन । सबैभन्दा ठूलो कुरा आर्थिक नै हो । अहिले अर्थ बिना केही चल्दैन । त्यो कुरालाई मनन गर्न पनि स्वदेशी बिदेशी लगानी सबै भित्राउन जरुरी छ । बागलुङको कालिका भगवती मन्दिर यतिबेला राम्रो धार्मिक पर्यटनको केन्द्र बन्न पुगेको छ यसले बागलुङलाई राम्रो आर्थिक फाइदा पनि दिएको छ । यसलाई अझै संस्थागत रूपमा प्रचार–प्रसार गर्न सके अझै बढी धार्मिक पर्यटक लाई हामीले भित्राउन सक्छौ । साँच्चै भन्ने होभने बागलुङ जिल्लाबाट बाहिर गएर उद्योगधन्दा र कलकारखाना खोलेर हजारौं युवालाई रोजगारी दिनुभएका बागलुङेले अब आफ्नो जन्मभुमिमा बागलुङ कै समुदायसंगै मिलेर काम गर्न तयार भएको बागलुङ काठमाडौ समाज कल्याणका अध्यक्ष सुमन शाक्यले प्रतिबद्धता जनाउनुभयो । बागलुङ नगरपालिका निर्वाचित जनप्रतिनिधिले नगरपालिकाको तर्फबाट राखेको स्वागत कार्यक्रम प्रभाबकारी भएको मान्न सकिन्छ । बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले बागलुङ नगरपालिका भित्र पनि लगानीको लागि राम्रो ठाउँ भएको हुनाले सबै मिलेर काम गरे बागलुङमा दैनिक हजारौं पर्यटन भित्राउन कुनै समस्या नभएको धारणा राख्नुभयो । बागलुङ नगरपालिकालाई राम्रो र सुन्दर बनाउने अभियानमा लागिपरेको साँच्चै बागलुङेले मन र बिचार फराकिलो बनाउन सके अझै बढी विकास गर्न कुनै समस्या नभएको पौडेलको भनाईबाट बागलुङ काठमाडौ समाज कल्याण पनि प्रभावित भएको देखियो यसपटक बागलुङ महोत्सबमा आउनु भएका सबैले आफ्नो ठाउँको आर्थिक बिकासको लागि लगानी गर्न तयार भएको प्रतिबद्धता आउनु बागलुङ महोत्सबको थप सफलता मान्नुपर्छ ।
बागलुङ जिल्लालाई प्रदेश नम्बर ४ कै आर्थिक रूपले सम्पन्न जिल्ला बनाउन सबैको भुमिका जरुरी छ । सबैभन्दा बढी सबैको सोच सकारात्मक हुनुपर्छ । सोच बिचार मनलाई हामीले सकारात्मक बनाउन सक्यौं भने हामीले जे–जस्तो काम गरेपनि सफलता हासिल गर्न सक्छौ । बागलुङ बाहिरका धन र मन भएका लगानी गर्न इच्छुक लगानी कर्तालाई बागलुङ उद्योग बाणिज्य संघ लगायतका सरोकारवाला निकायले लगानीको क्षेत्र पहिचान गराइदिने भुमिका खेल्ने बेला हो । अब यतिबेला बागलुङ उद्योग बाणिज्य संघको नेतृत्व गरिरहनु भएका अध्यक्ष जयराम भारीले बागलुङ महोत्सबमा प्रस्तुत गर्नुभएको बागलुङको विकास कसरी गर्न सकिन्छ, लगानीको क्षेत्र समेत देखाएर लगानी गर्न चाहनेहरूलाई गन्तव्य देखाई दिनुलाई पनि बागलुङ महोत्सबको अर्को सफलता मान्नुपर्छ ।
सबैले आफ्नो क्षेत्रको विकासको लागि एकजुट भैरहेको समयमा हामीलाई पनि त्यसले एकजुट भएर अगाडि बढ्न प्रेरणा दिएको छ । अहिले हामीसंग चुनौती र अबसर दुबै छन् । त्यसलाई आत्मासाथ गरेर अगाडि बढ्न जरुरी छ । सधैं गफमात्रै चुटेर बस्ने सधै निराशाजनक कुरा गर्न छोडेर अगाडि बढ्न सकेमा अबश्य पनि हामीले खोजेको उदेश्य भेट्न सक्नेछौ । अहिले हामीसंग निर्वाचित जनप्रतिनिधि छन् । सांसदहरू छन् । सबै सकारात्मक छन् स्थानीय तह अहिले बलियो अबस्थामा छ । अब सबै मिलेर आर्थिक समृद्विको लागि एकजुट हुने बेला आएको छ । अहिले बागलुङ महोत्सब २०७४ ले नयाँ तरङ्ग ल्याएको छ । यसलाई अब अबसरको रूपमा लिएर अगाडि बढौ । सबैले हातेमालो गरौ बागलुङलाई राम्रो बनाउन बेर लाग्दैन । मनमा नकारात्मक कुरा छन्भने आजको दिनदेखि त्यागिदिउ । बागलुङको भबिष्य राम्रो बनाउन सबै सकारात्मक बनौ ।
Previous Articleलघुजलविद्युत् परियोजनाका सामान हेलिकप्टरबाट ढुवानी
Next Article पाँचौ बागलुङ महोत्सवमा भलिबल शुरु