बागलुङ, १६ पुस– जिल्लाबाट प्रदेश सभामा समानुपातिकतर्फ पाँच जना सांसद हुने भएका छन् । प्रदेशसभा सांसदको लागि पाँच जनाको नाम सिफारिस भएको छ । जिल्लामा क्रियाशिल चार राजनीतिक दलका ५ जनाको नाम सिफारिस गरेका हुन् ।
समानुपातिक तर्फको मत परिणामको अनुसार, दलहरुले पाएको सिटका आधारमा नाम सिफारिस गर्ने क्रममा बागलुङले पाँच जना सांसद पाउने भएको हो । समानुपातिक तर्फबाट सांसद हुनेमध्ये नेकपा एमालेको तर्फबाट साबित्रा राना, नेपाली कांग्रेसको तर्फबाट मणिभद्र शर्मा र कोपिला बोहोरा, राजमोको तर्फबाट पियारी थापा तथा नेकपा माओबादी केन्द्रको तर्फबाट दिपा रोका रहेका छन् । समानुपातिकतर्फ जाती, बर्ग, लिङ्ग र समुदाय लगायतका क्षेत्रलाई मिलाउँदा दलहरुले सुचीमा रहेका पुरुषको तुलनामा महिलाको संख्या धेरै रहेको जनाएका छन् । निर्वाचन कार्यक्रम अनुसार समानुपातिक तर्फको मत परिणाम घोषणा भैसकेको भए पनि दलहरुले पठाएका आधारमा सामानुपातिक तर्फका सांसद घोषणा हुन भने बाँकी छ ।
निर्वाचन आयोगले दलहरुबाट परिणाम अनुसारको नामावली मागेपछि प्रदेश नं ४ को अन्तिम नामावली बुझाउने काम सकिएको दलहरुले बताएका छन् । शुक्रबार नेपाली कांग्रेसले आफ्नो तर्फबाट दाबेदारी सहितको उम्मेदवारको नाम टुंगो लगाएर निर्वाचन आयोग पठाएपछि जिल्लाबाट सामानुपातिकमा सांसद हुनेको टुंगो लागेको हो । निर्वाचनको सुरुवातदेखी नै निकै चर्चामा रहेका जिल्लाका कांग्रेस नेता मणिभद्र शर्मा अन्ततः प्रदेश सभाको सांसद बनेका छन् । नेकपा एमालेको तर्फबाट प्रदेश सभाको समानुपातिक सांसदको अग्र सुचीमा रहेका एमाले नेता गोबिन्द्र नेपाली भने यसपटक पनि सांसद हुनबाट बञ्चित भएका छन् । कानुन अनुसारको कोटा पु¥याउँदा सुचीमा अग्रस्थानमा रहेर पनि नेपाली छुटेको एमाले स्रोतले बताएको छ ।
नेकपा एमाले, राजमो र नेकपा माओवादीले भने यसभन्दा अगाडी नै आफ्ना उम्मेदवार टुंगो लगाईसकेका थिए । सामानुपातिकको सुचीमा रहेकामध्ये प्रदेश नं ४ को बागलुङ जिल्लाले कांग्रेसको तर्फबाट १ पुरुषसहित अन्य चार जना महिला सांसद पाएको छ । यसअघि प्रतिनिधि सभाको लागि नेकपा एमालेले बागलुङबाट मनकुमारी केसीलाई सांसदको लागि टुंगो लगाईसकेको छभने नेकपा माओवादीको तर्फबाट कोही पनि सांसद बन्न सकेनन् । नेपाली कांग्रेसले कस्लाई सांसद बनाउने भन्ने कुरा टुंगो नलागी सकेको भएपनि जिल्लाबाट प्रतिनिधिसभा समानुपातिकतर्फ सांसद बन्ने संभावना कम रहेको कांग्रेस स्रोतले जनाएको छ ।
Previous Articleअध्यक्षका लागि दुईको उम्मेदवारी
Next Article एकै महिनामा ६ चोरी, समातिए किसान