बागलुङ, १६ पुस– एकता सहकारी संस्था लि. बागलुङको १९ औं साधारणसभा शनिवारदेखी सुरु भएको छ । शनिवार सम्पन्न बन्द सत्रले सचिव महेशचन्द्र प्रधानको प्रगती प्रतिबेदन र कोषध्यक्ष सुरेन्द्रजंग राजभण्डारीको आर्थिक प्रतिवेदन पारित गरेको छ । सहकारीको नयाँ नेतृत्वको लागि शनिवारदेखी सुरु भएको निर्वाचन कार्यक्रम अन्तरगत भएको मनोनयन दर्ताको क्रममा सहकारीको अध्यक्षका लागि दुई जनाको उम्मेदवारी परेको छ । अध्यक्षको लागि वर्तमान अध्यक्ष ध्रुवप्रसाद शर्मा र पुर्व सल्लाहाकार ईस्वर बज्राचार्यको उम्मेदवारी दर्ता भएको निर्वाचन समितीले जनाएको छ ।
सचिव र कोषध्यक्षको लागि भने एक–एक जनाले मात्रै उम्मेदवारी दर्ता गराएका छन् । सचिवमा महेशचन्द्र प्रधान र कोषध्यक्षमा सुरेन्द्रजंग राजभण्डारीको मात्रै उम्मेदवारी परेको छ । उनीहरु दुवै बर्तमान कार्यसमितीमा समेत सोही पदमा रहेर काम गर्दै आएका छन् । संस्थाको उपाध्यक्षका लागि पनि २ जनाको उम्मेदवारी परेको छ । वर्तमान उपाध्यक्ष सिता शर्मा र भुपेन्द्र केसीको उम्मेदवारी दर्ता भएको निर्वाचन समितीले जनाएको छ । त्यस्तै लेखा समितीको संयोजकको लागि पनि दुई जनाको उम्मेदवारी परेको छ । संयोजकको लागि शिबराज शर्मा र लक्ष्मणप्रसाद शर्माले उम्मेदवारी दर्ता गराएका छन् । आठ सदस्य रहने समितीको लागि १६ जना र २ सदस्य रहने लेखा समितीको लागि ३ जनाले उम्मेदवारी दर्ता गराएको सहकारीका प्रबन्धक दिपकजंग राजभण्डारीले जानकारी दिए ।
निर्वाचन कार्यक्रम अनुसार आईतवार उम्मेदवारी फिर्ता लगायतका कार्यक्रम हुने र सोमबार मतदान कार्यक्रम हुने राजभण्डारीले बताए । साधारण सभाको अवसरमा बोल्दै बक्ताहरुले सहकारीले उत्पादनशिल क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहकारी समुदायको परिचय बनाउने ठाउँ भएको भन्दै सहकारीको मर्ममा रहेर काम गर्नुपर्नेमा जोड दिए । जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष चण्डीप्रसाद शर्माले सहकारीलाई राज्यले अधिकार प्रत्यायोजन गर्न नसकेको बताए । संस्थाका संरक्षकद्धय देवबहादुर श्रेष्ठ र पद्मचन्द्र राजभण्डारीले सहकारी न्युन आर्थिक अवस्था भएकाहरुको आसाको केन्द्र भएको भन्दै सोही अनुसारका कार्यक्रम ल्याउन सुझाए ।
साधारण सभामा संस्थाको प्रगती प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका सचिव महेशचन्द्र प्रधानले हरेक बर्ष नयाँ नयाँ कार्यक्रममार्फत शेयर सदस्यमुखी बन्दै गएको दाबी गरे । संस्थाले गत आर्थिक बर्षको अन्त सम्ममा ६८ लाख ६ हजार ६ सय ४ रुपैयाँ मुनाफा कमाएको छ । कोषध्यक्ष सुरेन्द्रजंग राजभण्डारीद्धारा प्रस्तुत प्रतिबेदन अनुसार ३ करोड ७० लाख २५ हजार ८ सय ६४ रुपैयाँ आम्दानी गरेको संस्थाले ३ करोड २ लाख १९ हजार २ सय ६० रुपैयाँ खर्च गर्दै उक्त मुनाफा गरेको हो । ७ सय ८७ जना शेयर सदस्य रहेको संस्थाले बचत ऋण शेयर सदस्यलाई सम्मान पुरस्कार लगायत बिभिन्न २४ बिधाका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । साधारणसभा कै अवसर पारेर संस्थाका कार्यसमिती सदस्य सुनिता पूरीका छोरा आभाष पुरीले पोखरा विश्वबिद्यालय अन्तगतका क्याम्पसहरुमा उत्कृष्ट अंक ल्याएर उपकुलपती बिभुषण पदक जितेको भन्दै सम्मान गरीएको थियो ।
Previous Articleइमेज सहकारीको साधारणसभा
Next Article समानुपातिकबाट बागलुङका जो बने सांसद