सदरमुकाम बागलुङ बजारमा आजबाट पाचौं बागलुङ महोत्सव सुरु हुँदैछ । बागलुङको सन्दर्भमा २०५९ सालमा पहिलोपटक बागलुङ महोत्सवको आयोजना गरेर ब्यवस्थापनको नेतृत्व सम्हालेका तत्कालीन उद्योग बाणिज्य संघ बागलुङका अध्यक्ष सहदेव राजभण्डारीसँग जनमञ्चकर्मी रामकृष्ण बोहरा र तारानाथ आचार्यले गरेको कुराकानी ।
बागलुङमा पहिलो महोत्सव आफ्नो नेतृत्वमा आयोजना गर्नुभएको थियो ?
महोत्सवको आवस्यकता किन थियो ? –खासमा बागलुङमा त्योभन्दा पहिले महोत्सव भएका थिएनन् । बागलुङको परिचय बनाउनको लागि त्यो बेला महोत्सवको आवस्यकता थियो । जिल्लाको कला संस्कृतिको प्रबद्र्धनको लागि पनि महोत्सवको आवस्यकता थियो । बागलुङको कला संस्कृतिलाई महोत्सवको माध्यामबाट प्रचार–प्रसार गर्दैै बागलुङको परिचय गराउनु थियो । साथै चैत्राष्टमी मेलासँगै आयोजना गरिएकाले त्यो बेला महोत्सवको अर्को खास अर्थ थियो । स्थानिय उत्पादनको बजारीकरण र पर्यटनको विकास गर्दै जिल्लालाई चिनाउन कै लागि पहिलो महोत्सव गरिएको थियो ।
महोत्सव आयोजना गर्दाका चुनौतीहरु के–के थिए ?
–हामीले पहिलो महोत्सव गर्ने बेला देशको स्थिति नै गतिलो थिएन् । सुरक्षाका हिसाबले निकै चुनौतीपुर्ण अवस्था थियो । तत्कालीन माओबादी युद्वमा थियो । देशमा द्धन्द चर्केको अवस्था थियो । ठुलो सुरक्षा चुनौतीका बाबजुद पनि हामीलाई सबैको सहयोग मिल्यो र महोत्सव सफल बन्यो । अर्को कुरा आर्थिक अवस्था निकै कमजोर थियो । सहयोग गर्न मान्छेहरु डराउँथे । बागलुङबासीलाई महोत्सवको महत्व बुझाउनको लागि मात्रै हामीले धेरै समय खर्च गरेका थियौं । महोत्सवलाई सहयोग गर्नेभन्दा असहयोग गरेर कुरा काट्नेहरु धेरै थिए । महोत्सवको फाईदाका बारेमा जानकारी नभएकाले आम सर्वसाधारणमा जिज्ञासा हुनु स्वभावीक थियो । खर्च जुटाउन गाह्रो अवस्थामा पनि हामीले प्रशासन, नागरिक समाज, पत्रकार लगायतको सहयोग र बागलुङका ब्यपारीहरुको साथ लिएर महोत्सव सफल बनाएका थियौं ।
सानो भू–भागमा महोत्सव गर्दा दर्शक भित्राउन चुनौती हुन्छ र व्यवस्थापन गर्न पनि कठिन हुन्छ भन्छन नि ?
–ब्यबस्थापन गर्न त्यती कठिन छैन् । अहिले त झन् आर्थिक सहयोग लिन, सहयोग जुटाउन सजिलो अवस्था छ । सबैले महोत्सवको बारेमा अहिले धेरैले बुझेका छन् । व्यवस्थापनको कठिनाई भन्दा पनि असहयोग गर्ने र कुरा काट्नेहरुको चुनौती छ । पहिला मान्छेहरुले सहयोग कम गर्थे, स्टल खोज्नेहरु कम थिए । त्यसैले आर्थिक अवस्था कमजोर हुन्थ्यो तर अहिले समय निकै सुध्रिएको छ । ब्यबस्थापन गर्न सहज छ । दर्शकमा पनि चेतनाको विकास भएको छ । दर्शक निकै आउँछन् र आउनु पर्छ । नयाँ चिज के हो भन्ने कुरा महोत्सवबाट थाहा पाउन सकिन्छ ।
महोत्सव गर्दा ब्यबसायी र आम बागलुङबासीलाई के फाईदा हुन्छ ?
–महोत्सवका कारण व्यापार व्यवसायमा निकै फाईदा हुने गरेको छ । अझ होटल तथा रेष्टुरेण्ट व्यवसायीलाई त महोत्सवले प्रत्यक्ष फाईदा दिएको हुन्छ । अन्यको हकमा पनि महोत्सव हेर्न बाहिरबाट आउने पाहुनाले स्थानिय उत्पादन खोजी–खोजी लिएर जाने भएकाले तत्काल वा दिर्घकालीन फाईदा पुगेको हुन्छ । उदाहरणका लागि हाम्रा डोका, नाङ्ला, ठेका लगायतका सामग्रीको बिक्रस् हुँदा उत्पादक–बिक्रेता सम्मलाई फाईदा पुगेको हुन्छ ।
महोत्सवले के कुरामा ध्यान दिन आवस्यक छ ?
–महोत्सवको मुख्य पाटो भनेको नै ब्यवस्थापन हो । व्यवस्थापन गतिलो बनाउन नसके दर्शक कम आउँछन । दर्शक कम आउनु भनेको महोत्सव घाटामा जानु हो । ब्यवस्थापनमा खलबल आउन दिनु हुँदैन । मजबुद ब्यबस्थापन नै महोत्सव सफलताको पहिलो कुरा हो । अन्य कुराहरु त व्यवस्थापन गतिलो बनाएर व्यापार गरेर अर्थ जुटाउन सके सबै कुरा मिलाउन सकिन्छ भन्ने लाग्छ ।
बिना उद्देश्यका महोत्सव आयोजना हुन्छन भनेर आरोप लाग्छ नि ?
–उद्देश्य बिना त महोत्सव हुनै सक्दैन् । हरेक महोत्सवले एउटा उद्देश्य राखेका हुन्छन् । त्यो पुरा गर्न ब्यवस्थापन सफल हुन सक्नु पर्छ । त्यो आरोप झुट हो ।
महोत्सव आयोजना गर्दा पहिला र अहिलेमा के फरक छ ?
–पहिला मान्छेहरुले महोत्सव भनेको के हो भन्ने कुरा नै बुझेका थिएनन् । अहिले त्यो समस्या छैन । पहिला काममा सघाउने भन्दा कुरा काट्नेहरुको जमात धेरै थियो । अहिले सहयोग गर्नेहरुको जमात छ । ब्यवस्थापनका हरेक काम गर्न पहिला पुर्वाधार लगायतका बिषयहरु कठिन थिए । आर्थिक रुपमा सहयोग गर्नेहरु कम भेटिन्थे अहिले त्यो अवस्था रहेन । सबैले महोत्सवको आवस्यकता महसुस गरेका छन् । त्यसले गर्दा काम गर्नेलाई पनि निकै सजिलो हुन्छ ।
महोत्सवको आम्दानीले के काम गर्नुभएको थियो ?
–हामीले निकै चुनौतीको सामना गर्दै महोत्सव गरेका थियौं । महोत्सव गर्ने बेलामा निकै कम फाईदा भएको थियो । त्यो बेलामा जम्मा ५ रुपैयाँको टिकट बनाएका थियौं । थोरै मात्र स्टलहरु थिए । त्यसैले पैसा कम उठ्यो कम पैसाबाट पनि खर्च कटाएर केही पैसा बचाएका थियौं । त्यो पैसाले हामीले नेपाली सेनाको ब्यारेकमा शौचालयको निर्माण गरेका छौं । त्यो बेला शौचालय नभएर सेनालाई समस्या भएको कुरा महत्वपुर्ण रुपमा बाहिर आएको थियो । त्यसैले आवस्यकता महसुस गरेर हामीले शौचालय निर्माण गरिदिएका थियौं ।
महोत्सवमा मौलिकता हरायो, फेन्सी सामान र संस्कृति हाबी भएको आरोप लाग्न थालेको छ , यसलाई कसरी चिर्नुहुन्छ ?
–त्यो गलत हो । आजका दिनसम्म आयोजना भएका महोत्सवमा स्थानिय उत्पादन, कला संस्कृति नै महत्वका साथ स्थान दिईएको छ । महोत्सवले स्थानिय उत्पादनको प्रबद्र्धन गर्ने भन्ने नै लक्ष्य लिएको हुन्छ । आरोप लगाए जस्तो यथार्थमा अवस्था बिग्रिएको छैन् । केही कुराहरु भने आवस्यकता अनुसार आधुनिक कुरा प्रयोग हुनु स्वभाविक हो ।
अन्तमा हाम्रो पत्रिकामार्फत आम दर्शकहरुलाई के भन्न चाहनु हुन्छ ?
–यहाँका आमसर्वसाधारण, समाजसेवी, बुद्धिजिवी, ब्यापारी, व्यवसायी, नागरीक समाज सबैलाई अहिले भैरहेको महोत्सवमा सहभागी भएर सहयोग गर्न आग्रह गर्दछु । यो हाम्रो बागलुङको इज्जत हो । हाम्रो इज्जत जोगाउन हामी आफैले सक्नु पर्छ । इज्जत जोगान हिँडौ, महोत्सवलाई सहयोग गरौं । कुरा कम काटौं सहयोग बढि गरौं भन्न चाहन्छु ।