स्थानियतहको निर्वाचन पश्चात जिल्लाका सबै स्थानिय निकायमा जनप्रतिनिधि निर्वाचित भएका छन् । लामो समय कर्मचारीको भरमा चलेका स्थानिय निकायमा निर्वाचित भएर आएका जनप्रतिनिधिले कसरी काम गरिरहेका छन् । जिल्लाको बागलुङ नगरपालिका वडा नं. ३ का वडाअध्यक्ष लक्ष्मी बास्कोटासँग सहकर्मी तारानाथ आचार्यले गरेको छोटो कुराकानी ।
वडाअध्यक्षको रुपमा काम गर्न कत्तिको सहज हुँदोरहेछ ?
–यो त मलाई गरिराखेको काम हो जस्तो लाग्छ । त्यती असहज छैन् । अलिकति वडामा अन्यौलता छन् । कानुन, बजेट लगायतका बिषयमा नेपाल सरकारले तोकेका कर्मचारी उपलव्ध नभएका कारण वडाले आफ्नो खाता सञ्चालन गर्न नसक्दा काममा समस्या पैदा हुने गरेको छ । ठुलो भू–भागलाई वडामा जोडिएका कारण कामको बोझ बढी छ । हरेक काममा नपाको मुख ताक्नु पर्ने अवस्थाका कारण अन्यौलता छ तर असहज छैन् ।
वडाअध्यक्ष भएपछि जनताले महशुस गर्ने गरी के–के काम गर्नुभयो ?
–तत्कालै भन्न सक्ने गरेर केही काम त गरेको जस्तो लाग्दैन् । मैले यो देखिने गरी गरें भन्दापनि हजुरहरुले मुल्याङ्कन गर्ने कुरा हो । म वडामा आएपछि आमसर्वसाधारणको काममा सहजता आएको छ । ठुला बाटो खन्ने जस्ता देखिने काम नभएका भएपनि साना–तिना दिर्घकालिन प्रभाव पार्ने काम भएका छन् । सुधारका काम धेरै भएकाले अहिलेनै देखिने कुरा पनि भएन् ।
वडा कार्यालय नियमीत नखुल्ने र सचिव नभेटिने समस्या छ भन्छन् नि ?
–पहिला जस्तो त्यो समस्या छैन् । अहिले नियमित कार्यालय खुल्छ । कर्मचारीहरु नियमित आउनुभएको छ । बिदाको समयमा समेत उहाँहरुले काम गर्ने गर्नु भएको छ । अस्ति भर्खर भएको निर्वाचनमा पनि उहाँहरु जानुभयो तर कार्यालय बन्द गरेनौं । मैले कार्यालयमा बसेर सिफारिस लगायतका काम गरें । कार्यालय नखुल्ने समस्या छैन् ।
हजुरको क्षेत्रको विकासका लागि नगरपरिषदबाट के–के योजनाहरु अगाडि सार्नु भएको छ र हालसम्म के–के गर्नु भयो त ?
–मेरो वडाभित्र दुई खाले बस्तीहरु छन् । एउटा गाउँ र अर्को बजार । हामीले म निर्वाचित भएपछि वडा भेलाको आयोजना गरेर छलफल ग¥यौं । वडाबाट सडक, कृषि विद्युत र विद्यालयलाई प्राथमिकतामा राख्नुपर्ने आवाज उठ्यो त्यही अनुसार हामीले परिषदमा योजनाहरु अगाडी सा¥यौं । वडाबासीको सल्लाहअनुसारका काम गर्नको लागि नै योजना बनाएका छौं ।
तपाईको वडाका केही पक्की र केही सडक कच्ची छन, कहिलेसम्म पक्की सडक बनाउनु हुन्छ ? अनि फाटेका पक्की सडक कसरी टाल्नु हुन्छ ?
–यसका लागि मैले दुईथरिका योजना बनाएकी छु । पहिलो बजार क्षेत्रमा खानेपानीले बिगारेका सडकलाई बिभिन्न सरोकारवाला निकाय सँग सहकार्य गरेर क्रमागत रुपमा सुधार गर्ने । खानेपानीको पाईपलाईन बिस्तारका क्रममा बिग्रेका सडक क्रमागत रुपमा सुधार हुने छन् । अर्को गाउँमा रहेका कच्ची सडकलाई योजनाबद्ध रुपमा ग्राभेल गर्ने योजना छ । कालोपत्रे नै त तत्कालै गर्न नसकिएला तर सडक छेउमा नाली काटेर ग्राभेल गर्ने कामलाई गति दिने योजना छ ।
आफ्नो कार्यकालमा हजुरको वडालाई कस्तो बनाउने योजना हुनेछ ?
–यहिँ नै गर्छु भनेर भनिहाल्ने अवस्था छैन् । तर मेरो ब्यक्तिगत सोच र योजनाअनुसार आगामी ५ बर्ष भित्रमा दिर्घकालीन योजनाको निर्माण गरेर विकासका काममा लाग्ने छु । पुर्वाधारको मुल्याङ्कन गरेर योजना बनाउने छु । वडाको प्रोफाईल तयार गर्ने योजना छ । कृषि र पशुपालन व्यवसाय गरेर आत्मनिर्भर बन्नेलाई प्रोत्साहन गर्ने योजना छ । वडा भित्र रहेका बिद्यालयहरुलाई सुधार गरेर अगाडि बड्छु भन्ने छ ।
अन्त्यमा यस अनलाईन मार्फत केही भन्नु छ कि ?
मेरो यो अनलाईनसँग पुरानो सम्बन्ध छ । यहाँहरुले दिनुभएको अवसरको लागि म धन्यवाद भन्न चाहन्छु । हामीले गरेका राम्रा काममा प्रोत्साहन र गलत काममा खबरदारी गर्दै रहनुहोला यसमा यहाँहरुको महत्वपुर्ण भुमिका हुनेछ । रचनात्मक सहयोगको लागि यहाँहरुलाई धन्यवाद ।