बागलुङ, १३ पुस– बागलुङ सदरमुकाममा यही पुस दोस्रो सातादेखी शुरु हुने पाँचौ बागलुङ महोत्सव तथा प्रदेश नम्बर ४ स्तरिय कृषि, पर्यटन, औद्योगिक व्यापार मेलालाई लक्षित गरेर बुधबार बजार सरसफाई गरिएको छ ।
बागलुङ उद्योग बाणिज्य संघको आयोजनामा पुस १४ देखि २३ गते सम्म धौलागिरि बहुमुखी क्याम्पसको प्राङ्गणमा हुने महोत्सवलाई केन्द्रित गरेर बजारका बिभिन्न टोल तथा सडक नाली सरसफाई गरिएको हो । पत्रकार महासंघको नयाँ निर्माणाधिन भवन परिसरबाट शुरु भएको सरसफाई अभियान बजारका बिभिन्न भागको सरसफाई पछि महोत्सव स्थल धौलागिरी बहुमुखी क्याम्पस प्राङ्गण पुगेर सकिएको थियो । सरसफाई अभियानको समापनका अवसरमा बोल्दै बागलुङ उद्योग बाणिज्य सघंका अध्यक्ष जयराम भारीले महोत्सवमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई बागलुङ बजार सफा र सुरक्षित नगर रहेको सन्देश प्रवाहका लागि सरसफाई गरिएको बताए । सरसफाई अभियानमा उद्योगी व्यवसायी, नेपाल प्रहरी, बिभिन्न क्लब सघं संस्था लगायतको सहभागिता रहेको थियो ।
महोत्सवमा स्थानीय स्तरमा उत्पादित कृषि, हस्तकला तथा पशुजन्य उत्पादनको प्रर्दशनी, बिभिन्न जातजातिको झाँकी प्रर्दशन, बाल उद्यान रमाइलो मेला, ७५ हजार राशीको खुल्ला राष्ट्रिय लोकदोहोरी गीत प्रतियोगिता, १ लाख १ हजार १ सय ११ रुपैयाँ राशीको खुल्ला पुरुष भलिबल, खुल्ला नृत्य, राष्ट्रिय कलाकारद्धारा सांगितिक कार्यक्रम, डिजे लाइभ कन्सर्ट, लाइट हेलीबाट पर्यटकीय स्थलहरुको अवलोकन, ऊट नाँच मुख्य आकर्षणको रुपमा राखिएको छ ।
८० लाख खर्च र १ करोड बराबरको आम्दानी गर्ने लक्ष्य आयोजकको रहेको अध्यक्ष भारीले बताए । ९० हजार बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको महोत्सवमा १० करोड भन्दा बढीको कारोवार हुने आँकलन रहेको छ । महोत्सवमा सदरमुकाम नजिकै रहेको प्रसिद्ध कालिका मन्दिर, सर्वसिद्धिधाम पञ्चकोट, होम–स्टे गाउँ भकुण्डे लगायतका पर्यटकीय सम्भावना बोकेका स्थानमा सहज र सुलभ रुपमा घुम्ने घुमाउने व्यवस्था पनि गरिएको सघंका महासचिव दयाराम पौडेलले बताए ।
Previous Articleबहिरा बिद्यार्थीलाई सहयोग
Next Article ५ वर्षभित्र दीर्घकालिन योजना(अन्तरवार्ता)