जनमञ्चले नयाँ अभियान थालनी गरेको छ । जनताको काम गर्न निर्वाचित जनप्रतिनिधिले गरेका कामको यथार्थ पाठकको माझमा प्रस्तुत गर्न हरेक दिन एक जना जनप्रतिनिधिसँगको कुराकानी हामी पस्किने छौं । नेपालको संबिधान २०७२ जारी भएपछिको स्थानिय निकायको निर्वाचन पश्चात जिल्लाका सबै स्थानिय निकायमा जनप्रतिनिधि निर्वाचित भएका छन् । लामो समय कर्मचारीको भरमा चलेका स्थानिय निकायमा निर्वाचित भएर आएका जनप्रतिनिधिले कसरी काम गरिरहेका छन् । जिल्लाको जैमिनी नगरपालिका–१ का वडाअध्यक्ष भुपेन्द्र थापासँग जनमञ्चकर्मी तारानाथ आचार्यले गरेको छोटो कुराकानी ।
वडाअध्यक्षको रुपमा काम गर्न कत्तिको सहज हुदो रहेछ ?
–कामको थालनी गर्न निकै कठिन रहेछ तर काम गर्दै जाँदा मैले आनन्दको अनुभुती पनि गरेको छ । अनुभव नभएकाले सुरुमा केही कठिन भएपनि काम गर्दै जाँदा सहज महसुस गरेको छु । सबैको साथ सहयोगले अहिले काममा कुनै समस्या छैन् ।
वडाअध्यक्ष भएपछि जनताले महशुस गर्ने गरी के के काम गर्नुभयो ?
–सुरुवाती भएकाले त्यती ठुला काम त गर्न सकिएको छैन् तर हामीले वडा भित्रका सडक स्तरोन्नतीको काम गरियो । यसबाट वडा भित्रका सर्वसाधारणलाई टेवा पुगेको महसुस गरेको छु । खानेपानी र शिक्षा, स्वास्थ्यको क्षेत्रमा पनि सामान्य कामहरु भएका छन् ।
वडा कार्यालय नियमीत नखुल्ने र सचिव नभेटिने समस्या छ भन्छन नि ?
–हाम्रो मा त्यो समस्या छैन् । पहिले गाविस हुने बेलामा पनि सचिव नियमित हुन्थे र कार्यालय खुल्ला रहन्थ्यो । अझ वडामा भएका प्रबिधिक सहायकले नियमित रुपमा जनताका काम गरेकाले त्यो खालको समस्या छैन् । वडा सचिव पनि नियमित वडामा आउने भएकाले नखुल्ने र जनताका काम नहुने समस्या छैन् ।
हजुरको क्षेत्रको विकासका लागि गाउपरिषद÷नगरपरिषदबाट के–के योजनाहरु अगाडि सार्नु भएको छ र हालसम्म के–के गर्नु भयो त ?
–यो भन्दा पहिलेको परिषद निकै हतारमा भयो गाउँका गर्नैपर्ने कतिपय कामहरु छुटे । बाटा–घाटाको स्तरोन्नती गर्ने, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि र बिद्युत सेवाहरुमा सबैको पहुँच पु¥याउने गरी योजनाहरु माग गरेका छौं । यसअघि छुटेका बिषयहरुलाई पनि आगामी परिषदमा लगेर जनताको हित अनुकुलका योजनाहर निर्माण गर्ने चरणमा छौं ।
तपाईको वडाका प्राय सडक कच्ची छन, कहिलेसम्म पक्की बनाउनु हुन्छ ?
–हामीले ५ बर्ष भित्र पक्की गर्ने योजना अघि सारेका छौं । यसको अर्थ यो होईन कि ५ बर्षमा सबै बाटाहरु पिच हुन्छन् । तर हामीले ५ बर्षको अवधिमा मुख्य सडकलाई पिच गर्ने र स्थानिय सडकहरुलाई ग्राभेल तथा नालीयुक्त बनाउने योजना छ । यो कामका लागि हामी अहोरात्र खट्ने छौं ।
आफ्नो कार्यकालमा हजुरको वडालाई कस्तो बनाउने योजना हुनेछ ?
–वडालाई सडक, कृषि, शिक्षा स्वास्थ्य र खानेपानीको प्रत्याभुत भएको वडाको रुपमा परिचित गराउने बिश्वासका साथ कामको थालनी गरेका छौं । यहाँ प्रशासनिकदेखी विकास निर्माणका काममा जनताले बाधा बेहोर्नु पर्ने वातावरणको अन्त्य हुने छ । हामी सहज सेवाका लागी मरिमेटेर लाग्ने छौं । जसले गर्दा सर्वसाधारणको नजरमा सहज सेवा दिने वडाका रुपमा परिचय बन्ने छ ।
अन्त्यमा यस अनलाईन मार्फत केही भन्नु छ कि ?
–आम सर्वसाधारणहरुलाई म के भन्न चाहन्छु भने म एक्लैले केही गर्न सक्दिन । वडाका हरेक काम गर्नको लागि वडाबासीको सहयोग चाहिन्छ । सबै वडाबासीलाई वडाको बिकासका काममा सहयोग गर्न आग्रह गर्दै हामीलाई आफ्नो बिचार राख्ने मौका दिनुभएकोमा तपाईको अनलाईनलाई धन्यवाद भन्दै उत्तर उत्तर प्रगतीको शुभकामना दिन चाहन्छु ।
Previous Articleविपद व्यवस्थापनमा सरोकारावालाको भूमिका
Next Article सांसदलाई स्वागत गरियो