डिल्लीप्रसाद गौतम
विपद व्यवस्थापन आफैमा गम्भिर र चुनौतीको बिषय हो । भनिन्छ विपद बाजा बजाएर आउँदैन् । विपद कति बेला कुन समयमा आउँछ ? कसैलाई जानकारी हुँदैन र यसको व्यवस्थापन पनि उत्तिकै चुनौतीपुर्ण हुन्छ । बिपद भन्नाले प्राकृतिक प्रकोप जस्तै बाढी पहिरो, आँधबेरी, भुकम्प, भुक्षय आदि पर्दछन् भने आगलागी लगायतका भयवित भवितव्यका घटनाहरुलाई पनि बिपद अन्र्तगत मानिन्छ । हामी कहाँ विपद व्यवस्थापनका बिषयमा त्यती गहन मनन, छलफल, तथा तयारी पनि भएको पाईंदैन् । जहाँ जतिबेला जे पर्दछ त्यसलाई एन–केन त्यही परिस्थितिमा समाधानको खोजी हुने परम्पराले बिपद आइलाग्दा त्यसको सहि व्यवस्थापन गर्न अत्यन्तै कठिन हुने गरेको हामीलाई बिगतका घटनाहरुले पाठ सिकाइरहेका छन् ।
विपद आँफैमा अत्यन्त भयानक पिडादायी हुनेमा कहि कसैसँग दुबिधा छैन् । केवल यसको व्यवस्थापन कसरी गर्ने, यसका तयारी के–के हुने र कतिपय विपदहरु मानविय कमी कमजोरी तथा सावधानीको अभावका कारणले समेत हुने गरेका कारण हामी हाम्रै असावधानीको कारणले उत्पन्न हुने विपदका बिषयमा भने सम्बन्धित निकायहरु समयमा नै सचेत र सावधानी अपनाउन सेकमा पक्कै पनि विपदलाई न्युनिकरण गर्न सकिनेमा बिबाद नहोला । यसैको प्रसंगमा केही दिन पहिला बिरगंजको सूपर ग्यास कम्पनीमा भएको पेट्रोलियम पदार्थमा चुहावटपछि सिर्जीत परिस्थितीलाई नियालेमा मात्र जानकारी हुन्छ । अत्यन्तै प्रज्वलनशिल मानिने ग्यासको भण्डारण स्थलमा भण्डारणको लागि तयारी अवस्थामा रहेको एक ग्यासको बुलेटबाट ग्यास लिकेज पश्चात उक्त स्थानमा भिषण आगलागी भयो । बिहान सबेरैदेखी सुरु भएको भिषण आगलागी नियन्त्रण बाहिर गयो । सम्पुर्ण मुलुकलाई नै स्तव्ध तुल्याउने गरी भएको भीषण आगलागीबाट उक्त कम्पनी आसपासका क्षेत्रको दिनभरको तनावको त कुरै नगरौं । सम्पुर्ण बिरगंज क्षेत्र नै दिनभर आगलागीमय बन्यो । दिनभर भएको भीषण आगलागीबाट करोडौंको आर्थिक क्षति भयोभने मानविय क्षति समेत हुन पुग्यो । बिषेश सावधानी अपनाउन नसक्दा अग्नी नियन्त्रणको लागी आएका बरुणयन्त्रका कर्मचारी नै जलेर ज्यान गुमाउन पुगे । भीषण आगलागीमा परेर ३ जनाको ज्यान गयो । सूपर ग्यास कम्पनीमा भएको भीषण आगलागी पश्चात आमनागरिकमा पेट्रोलियम पदार्थको बिक्री बितरण तथा भण्डारणका बारेमा निकै नै चर्चा परिचर्चा हुने गरेको छ । यसै बिषयलाई लिएर सरकारको तर्फबाट समेत पेट्रोलियम पदार्थको भण्डारको अवस्थाका बारेमा अध्ययन गर्न एक समिति समेत गठन भैसकेको र उक्त समितीले आगलागीको तथा देशभर रहेका पेट्रोलियम पदार्थको भण्डारणको बस्तुस्थितिको आफ्नो रिपोर्ट अध्ययन पश्चात पेश गर्ला ।
तर यहाँ ‘चोरको खुट्टा काट भन्दा खुट्टा उचाल्ने’ प्रबृत्ति हाबी भएको देखिएको छ । जब वोटलिङ्ग कम्पनीहरुको निरीक्षणका प्रसंग उठ्यो । यहाँ एकले अर्कालाई दोषरोपणको जुहारी शुरु भैहाल्यो । पेट्रोलियम पदार्थको बिक्री बितरण तथा भण्डारणको बिषयलाई लिएर त्यसको अनुमति दिने उद्योग बिभाग र नेपाल आयल निगमका पधाधिकारी बीच बिबाद सुरु भएको छ । पेट्रोलियम पदार्थ भण्डारण सम्बन्धमा एलपी ग्यास नियामावली २०६५ को संशोधित नियम ३ को (घ) मा ग्यास उद्योग सम्बन्धी नियमको ब्यवस्था छ । उक्त नियम अनुसार, ग्यास उद्योग संचालन र भण्डारणका बारेमा स्पष्ट उल्लेख छ की ग्यास उद्योगहरु बस्ती भन्दा करिव ५ किलोमिटर टाढाको दुरीमा हुनुपर्ने छ । तर उक्त नियमको बिपरित बिभिन्न आर्थिक चलखेलका कारण बिगतमा ग्यास उद्योगहरुलाई अनुमति दिँदा मापदण्ड पुरा नगरी अनुमति दिएका कारण अहिले उक्त बिषय बिबादमा परेको छ । हचुवाको भरमा अनुमति दिने र समयमा मापदण्ड पुरा छ कि छैन् नियमन निकायले अनुगमन नगर्दा उक्त बिषय अहिले बिबादित बनेको छ । ति उद्योगहरुको अनुगमन बिभागले गर्ने वा नेपाल आयल निगमले गर्ने भन्ने बिषयनै बिबादित बन्दा आम नागरीकहरुले जिउधनको सुरक्षाको बिषय अझै उजाडिएको छ । अत्याधिक प्रज्वलनशिल पदार्थको बिक्री बितरण तथा भण्डारण जस्तो संबेदनशिल बिषयलाई आर्थिक चलखेका कारण बिना मापदण्डको अनुमति दिने निगम वा मन्त्रालयका पधाधिकारीलाई हदै सम्मको कारवाई र नियम र मापदण्ड बिपरितका उद्योगलाई बस्तीभन्दा टाढा स्थानान्तरण गर्नुपर्ने आवाज उठिरहेका बेला जिम्मेबार नियमनकारी निकायबीच आरोप प्रत्यारोप चल्नुलाई दोष अर्कालाई थोपरेर आफु पानी माथिको ओभानो हुने बाहेक के भन्न मिल्छ र ।
हरेक सहर बजारमा पेट्रोलियम तथा ग्यासजन्य पदार्थको डिपो तथा बिक्री केन्द्रहरु बजार क्षेत्र भित्र नै छन् । हामीहरुकै ठाउँमा पनि चाहिने ग्यास सिलिण्डरको भण्डारण तथा बिक्री स्थान होस् वा डिजेल, पेट्रोल र मट्टितेलका पम्पहरु हुन घना बस्ती र बजार क्षेत्र भित्र नै छन् । यदि कदमकदाचित कुनै समयमा आगो लाग्यो भने र यदि यि भण्डारण कक्षमा प्रबेश गरेमा यहाँको अवस्था कस्तो होला ? यसबाट उत्पन्न हुने परिस्थितीलाई जो कसैले पनि आँकलन गर्न मुस्किल पर्दछ । अझै भन्नु पर्दा बस्ती भित्रको ग्यास भण्डारणको अवस्था र विपद व्यवस्थापनको लागि न्युनतम अपनाउनु पर्ने शतर्कता समेत ति बिक्री केन्द्रहरुमा छैनन् । यदि कुनै एक ग्यास सिलिण्डरमा ग्यास लिग भएमा तत्काल नियन्त्रणको लागि आवस्यक आगो नियन्त्रण पाउडर तथा फायर ग्यास र फायर म्यानको समेत व्यवस्था छैन् । यसतर्फ न त बिक्री केन्द्रको ध्यान गएको पाईन्छ न त नियमनकारी निकायको ध्यान नै गएको छ । बिक्री हुने सिलिण्डरको सुरक्षा जाँच त अँझै टाढाको कुरा भयो । कति मापदण्ड बिपरितका ग्यास सिलिण्डर बिक्री भैरहँदा कैयन गृहणीहरु भान्छा घरमा नै असुरक्षित भैरहेका छन् । कयैन यस्ता घटना पनि भैरहेकै पनि छन् । तर यसतर्फ न त बिक्री केन्द्र सजग छन् न त जिम्मेबार निकाय नै ।
Previous Articleजनप्रतिनिधिको दायित्व
Next Article ग्राभेल तथा नालीयुक्त सडक (अन्तरवार्ता)