बागलुङ, १० पुस– ग्रामिण क्षेत्रका किसानलाई प्रोत्साहन गर्दै लगानीका कार्यक्रम सञ्चालन गरेको जिल्लाको एक सहकारीले गत आर्थिक बर्षको अन्त्य सम्ममा भण्डै चार लाख नाफा कमाएको छ । २१ बर्ष पहिला जिल्लाको नारायणस्थानमा स्थापना भई साना किसानको क्षेत्रमा काम गर्दै आएको साना किसान सहकारी संस्था लि. नाराणस्थानले उक्त नाफा गर्न सफल भएको हो ।
नाफामुखीभन्दा सहकारीका शेयर सदस्यको सेवामुखी बन्दै आएको संस्थाले उत्पादनशिल क्षेत्रको लगानीबाट ३ लाख ९४ हजार २ सय ५९ रुपैयाँ नाफा कमाएको संस्थाका प्रबन्धक नारायणप्रसाद ढकालले बताए । आफ्नो स्थापनाको २१ औं बर्षगाँठका अवसरमा आयोजित साधारणसभालाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष नरबहादुर खत्रीले साना किासलाई उत्पादनमुखी मनाउन संस्थाले निरन्तर कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताए । १ करोड ६३ लाख ७७ हजार १ सय ४ रुपैयाँ आम्दानी गरेको संस्थाले १ करोड ५९ सला ८२ हजार ८ सय ५५ रुपैयाँ खर्च गर्दै नाफा निकालेको अध्यक्ष खत्रीले बताए । सहकारीले पशु बिमा, उत्पादनमुलक कृषि फर्म, साना कृषकको उत्पादन, सामुहिक तथा ब्यक्तिगत कृषि उपज उत्पादन लगायतका क्षेत्रमा लगानी गर्दै आएको जनाएको छ । संस्थाको साधारण सभामा बोल्दै बक्ताहरुले साना किसानले उत्पादन गरेको बस्तुहरुको बजारीकरणमा समस्या रहेको बताए ।
भण्डारण संकलनको लागि उपयुक्त स्थानको अभाव र उत्पादित बस्तुहरुले बजार नपाउँदा समस्या हुने गरेको बक्ताहरुको भनाई थियो । कार्यक्रममा बोल्दै बागलुङ नगरपालिका–१२ का अध्यक्ष चक्रबहादुर खत्रीले किसानले उत्पादन गरेका बस्तुको बजारीकरणमा आफ्नो तर्फबाट सक्दो प्रयास थाल्ने बताए । कार्यक्रममा जिल्ला कृषि सहकारी संघका अध्यक्ष अनन्त खड्का, महिला विकास सहकारी नारायणस्थानका अध्यक्ष धनादेबी शर्मा, साना किसान सहकारी बिनामारेका अध्यक्ष नारायणप्रसाद शर्मा, पैञ्युपाटाका अध्यक्ष आत्माराम शर्मा, लेखनाथ शर्मा, पुस्पा खत्री लगायतले बोलेका थिए । १ सय २१ समुह बनाएर सहकारीले दैनिक र मासिक बचतका साथै समुहमा कृषि उत्पादनको लाद्धगि लगानी समेत गर्दै आएको छ ।
१ हजार ७० जना शेयर सदस्य रहेको संस्थामा अधिकांश महिला अर्थात् ७ सय २९ जना महिला सदस्य रहेको संस्थाका सञ्चालक नारायणप्रसाद ढकालले बताए । संसथाले आफ्नो बार्षिक साधारणसभाको अवसरमा कार्यक्षेत्र भित्रका बिद्यालयहरुवाट कक्षा आठमा उत्कृष्ठ अंक ल्याउने दुई जना बिद्यार्थीलाई १ हजार ५ सय नगद पुरस्कारसहित सम्मान समेत गरेको थियो ।