बागलुङ, ९ पूस– जनयुद्वकालमा चर्चामा रहेको ताराखोला शान्ति प्रक्रियापछि पनि आत्मनिर्भर बन्ने योजना बुन्दै थियो । यसै क्रममा स्थानीय निर्वाचनबाट निर्वाचित प्रतिनिधिले दिर्घकालिन योजनासहित अगाडि बढेपछि स्वायत्त संस्थाको रुपमा देखिन थालेको छ । निर्वाचित भएको ७ महिनामा ताराखोला गाउँपालिकाले निकै फड्को मारिसकेको छ । पहिलो आर्थिक बर्षभित्र २० लाख ७५ हजार राजश्व संकलन गर्ने लक्ष राखेकोमा ५ बर्षभित्र आत्मनिर्भर बनाउने योजना छ । त्यसका लागि गाउँमै बसेर दिर्घकालिन र तात्कालिक योजना बनाउने काम गरिरहेको अध्यक्ष प्रकाश घर्तीले बताए ।
कृषि उत्पादनमा ताराखोलाले बढी संभावना बोकेको छ । त्यसैले ७ हजार हेक्टर जमिनमा व्यवसायिक अलैंची खेती गर्ने कार्यक्रम गाउँपालिकाले बनाएको छ । पशुपालन, आलुखेती बिस्तार उनको अर्को योजना हो । ताराखोलाको आलु धौलागिरी अञ्चलभर प्रख्यात छ । केही किसानले बुटवल लगेर बिक्री गरिरहेका छन् । ‘दुर्गम भएकोले सहज यातायात बिना अन्य काम गर्न सकिंदैन भनेर सडकको काममा बढी केन्द्रीत छु’ घर्तीले भने, ‘१५ किमीको शहिद मार्ग, केही रणनीतिक मार्ग र पक्की पुलको डिपीआर बनेको छ ।’ रिजालचोकदेखि ताराखोलाहुँदै म्याग्दी जोड्ने सकड पक्की बनाउन उनले पहल थालेका हुन् । डिपिआर सहितको योजना अर्थ मन्त्रालयमा पुगेको उनले बताए । रिजालचोक माझखर्क सडक ग्राभेल गर्न १ करोड ७५ लाख रुपैयाँमा ठेक्कामा गइसकेको छ ।
घुस्मेलीस्थित ताराखोलामा पक्की मोटरेवल पुल निर्माणको काम शुरु भएको छ । गाउँ विकासको दिर्घकालिन योजनासहित पाश्र्वचित्र तयार गरिएको उनले बताए । गाउँपालिकामा ४ महिनादेखि कार्यकारी अधिकृत छैनन् । निमित्तको काम गर्ने खड्गबहादुर थापाले अध्यक्षको योजनामा साथ दिइरहेको बताए । दरवन्दी अनुसार ईन्जिनियर नपाएको, शिक्षा हेर्ने कर्मचारी अझै आईनपुगेको उनको गुनासो छ । एकजना आईटी इन्जिनियर र एकजना भूकम्प प्रभावितको अध्ययन गर्ने प्राविधिक भने आएर काम थालेको उनले बताए । स्थानीय लगानीमै यहाँ साँढे दुई मेगावाटको विद्युत उत्पादन भएको छ । लगानी पाएमा १० मेगावाटसम्म गाउँमै विद्युत उत्पादन गर्न सकिने गरी सर्भे गरिएको छ । ताराखोलामा ढुंगाखानी धेरै छन् ।
पोखरा लगायतका शहरका घरमा लगाउने ढुंगा ताराखोलाका उत्पादन हुन् । ती ढुंगा निकासीमा गाउँपालिकाले कर लिन थालेको छ । त्यस्तै जडिवुटी, काठ र स्थानीय अन्य उत्पादनको निकासीमा पनि करको दायरा तोकिएको छ । पर्यटकीय दृष्टीले आर्कषक मानिएको गाईघाट झरनामा प्रतिव्यक्ति ३० रुपैयाँ टिकट काटेर मात्र हेर्न पाउने व्यवस्था शुरु भएको छ । खोलाको झरनालाई शुल्क तिरेर हेर्ने व्वस्था गरिएको यो नेपालकै नमूना भएको छ । यसअघि सार्वजनिक रुपमा हेर्न पाईने झरनालाई अझै व्यवस्थित बनाएर कर लिन थालिएको घर्तीले बताए । यो अभियानलाई राजनीतिक रंग नदिईकनै धेरैले साथ दिन थालेका छन् । ‘काम गर्ने बिषयमा राजनीतिक कुरा गरेको छैन, सबैलाई ५ बर्षमा धनी बनाउने योजना छ’ घर्तीले भने, ‘कृषि, पशुपालन, अन्य व्यवसाय जस्तो काम गरेर पनि खाडीमा जानेले भन्दा धेरै कमाउने बनाउनु परेको छ ।’ गाउँका युवा गाउँमै फर्कने वातावरण बनाउने उनले प्रतिवद्धता पनि जनाएका छन् । भारतको नाकाबन्दीले सदरमुकाममा असर पर्दा यो गाउँमा स्थानीयले आफ्नै पौरखले जीवन गुजारा गरेका थिए ।
यहाँ गेडागुडी, तरकारी, दूध, मासु, काठ, ढुंगा, जडिवुटी लगायतका धेरै उत्पादन हुने गर्छ । सर्वदलीय र अभिभावक समेतको भेलाले गाउँमा नीजि विद्यालय खोल्न रोक लगाएको छ । ‘सामुदायिक विद्यालयलाई नियमित र गुणस्तरयुक्त बनाएर नीजिलाई विस्थापित गरेका हौं’ गाउँशिक्षा समितिका अध्यक्ष धनबहादुर बिकले भने, ‘सबै विद्यालयमा अंग्रेजी बिषय समेत राख्दै गएका छौं ।’ ताराखोलामा रसायनिक मल भित्रन छाडेको ४ बर्ष भैसक्यो । ‘सबैभन्दा धेरै आलु र तरकारी उत्पादन गरिने भएकोले हामीले रसायनिक मल प्रयोगमा रोक लगाएका हौं’ विकले भने, ‘भकारो सुधार गरेर पशुको पिशाव संकलन समेत गरेका छौं, त्यसबाटै किटाणु मार्न प्रयोग गर्छौं ।’ जिल्लाको कुल उत्पादनको ५० प्रतिशत आलु ताराखोलामा उत्पादन हुन्छ ।
हरेक बर्ष कम्तिमा ८ हजार मेट्रिकटन आलु उत्पादन भैरहेको जिल्ला कृषि विकास कार्यालयको तथ्यांक छ । ताराखोलाका कुनैपनि घरमा जस्तापाता प्रयोग गर्न पाइदैन । स्थानीय रुपमा ढुंगा प्रशस्त उत्पादन हुने भएकोले ताराका सबै घर ढुंगाले छाउनुपर्छ । ‘धेरैबर्ष पहिला केहीले छाएका घर भएपनि हामीले जस्तापाता भित्रन रोक लगाएका छौं’ स्थानीय दयाराम पुनले भने, ‘आफ्नै उत्पादनले खान र बस्न पुग्छ भन्ने यो उदाहरण हो ।’ महिला समूहमा परंपरागत भाँग्रो संरक्षण र अल्लोका कपडा उत्पादन पनि गाउँमै शुरु भएको छ । ‘जिल्लामै खाद्यान्न र तरकारी किनेर खानु नपर्ने गाउँ ताराखोला हो’ वडा सचिव तेजराज गौतमले भने, ‘बढी भएको फसललाई बिक्री गर्न सहकारीले पहल गर्छ ।’ आलु, बोडी, भट्ट, सिमी, राजमा, च्याउको सुकुटी, क्वाटी, केराउ, मस्यौरा, कर्कलो, मुलाको धजरा, टिमुर, मरिच, सिस्नोको धुलो, जिम्बु, जौ र स्थानीय चामल ताराखोलाका उत्पादन हुन् ।