आफूले सोच्दै नसोचेको प्रस्ताव सुनेर श्रीकुमारी गुरुङ, अर्थात् माया गुरुङ चकित परिन्। उनले अटोमा टाँसेको फोटो हेरेर एक निर्देशकले उनलाई बोलाएका थिए। त्यसबेला उनले के गर्ने, कसो गर्ने केही सोच्न सकिनन्। तर फिल्म क्षेत्रमा काम गरिसकेका एक मित्रले उनलाई स्टुडियो जान सुझाए। उनले त्यो सुझाव लत्याउन सकिनन्। ‘स्टुडियोमा झिलिमिली थियोे, ४०–५० जना एकसे एक केटीहरु अडिसन दिइरहेका थिए,’ उनले त्यो क्षण सम्झिँदै भनिन्, ‘तर सबैले मेरो उचाइ र मुहार मन पराए।’ त्यसपछि उनी गुरुङ संस्कृतिमा आधारित नेपाली फिल्म ‘मातृभूमि माया’ मा अनुबन्धित भइन्।
उनको फिल्मले राम्रै प्रतिक्रिया पायो तर सोही फिल्मको ‘मर्दको जात देखेसी’ बोलको गीत र नाचले दर्शकको मन अझ बढी लोभ्यायो। गीतको एक दृश्यमा नायिका मायाले लालुपाते फूलको गुच्छाले नायकको अनुहारमा सप्को मार्दा धेरै दर्शकले नायकको स्थानमा आफूलाई राखे। लगत्तै उनले अर्को फिल्म ‘च्यागी’ मा अभिनय गरिन्।उनको चर्चा चुलियो। उनको अभिनय र सुन्दरताको निकै प्रशंसा भयो। त्यसबेला अहिलेको जस्तो सामाजिक सञ्जाल थिएन। तै पनि उनलाई हुलाकबाट चाङका चाङ प्रेमपत्र आउँथे। कतिले विवाह प्रस्ताव राखेर हैरान पार्थे।
सन् २००३ मा पोखरा झर्नुअघि उनले बाल्यकाल लामजुङमै बिताएकी थिइन्। आमाबाबु र माइतीको एक मात्र चेली उनी पारिवारिक लाडप्यारमा हुर्केकी थिइन्। खेलकुदमा खास रुची राख्थिन्। महिला फुटबलमा गण्डकी अञ्चलको टोलीमा सहभागी भएर राष्ट्रिय स्तरको खेल पनि खेलिसकेकी थिइन्। पोखरा झरेलगत्तै उनले पाएको सफलता अझ लोभलाग्दो थियो। अभिनयमा लागेको केही समयमै मा उनले हङकङ छिर्ने निर्णय लिइन्। त्यही निर्णयबाट उनको जिन्दगीले अर्को मोड लियो। सन् २००५ मा हङकङ आइपुगेपछि उनको अभिनय यात्रामा ब्रेक लाग्यो।
हङकङको जिन्दगी उनले सोचेको लय, सूर र वेगमा हिँडेन। एकपछि अर्को गर्दै उनका अपेक्षाहरुमा तुषारापात हुन थाल्यो। उनको पारिवारिक सम्बन्ध अफ्ठ्यारोमा पर्यो र अन्ततः टुट्न पुग्यो। चारैतिर पहिरो खसेर अलपत्र बनेको यात्रीजस्तै ठान्न थालिन् उनी आफूलाई। यही पीडाका कारण उनी लामो समय डिप्रेसनको शिकार बन्न पुगिन्। झण्डै दुई वर्ष उनले डिप्रेसनको छायामा नारकीय जीवन बिताइन्। त्यसबाट अलिअलि गर्दै मुक्त भएपछि आनी बन्ने योजना बनाइन्। तर माइतीहरुले उनलाई रोके। धेरै पटक सम्झाएपछि उनले सोच बदलिन्।
परिस्थितिले दिएको घाउलाई समयले बिस्तारै निको पार्दै लग्यो। छिनोको हरेक प्रहारपछि सुन्दरता ग्रहण गर्दै गएको मूर्तिसरी माया हरेक चोटबाट पाठ सिक्दै गइन्। बिस्तारै उनले जीवनका क्यानभासमा आशाको रङ पोत्न जानिन्। उनको जीवनको थाँक्रामा रहरका बेलोहरु मौलाउन थाले।
‘जीवनले जतिसुकै हण्डर खुवाएर अँध्यारो पारे पनि आशाको दियो बाल्न छाड्न नहुने रहेछ,’ हरेक समस्यासँग एक्लै जुध्ने हिम्मत आर्जन गरेकी माया भन्छिन्, ‘जीवनलाई सुन्दरताको साँचोमा ढाल्ने कुरा आफ्नै विवेकमा निर्भर हुने रहेछ। हामीले प्रत्येक बिहानीमा सूर्योदयसँगै आशा र अवसरहरुको खोजी गर्न सक्नु पर्ने रहेछ, जसले दिनलाई सार्थक तुल्याओस् अनि आफूले रोजेको जस्तै जीवन जिउन मद्दत गरोस्।’ यही बुझाइले उनको जिन्दगीलाई फेरि लयमा ल्याइदियो।
अहिले उनी हङकङको एक फाइन डाइनिङ रेस्टुरेन्टमा म्यानेजरको रुपमा कार्यरत छिन्। पीडाको पहाड र दुःखको सागर तरेर यहाँ आइपुगेकी उनी लामो सुस्केराको साथ भन्छिन्, ‘हरेक ताला चाबी बिना बनाइएको हुँदैन, तसर्थ हरेक समस्याको समाधान छ। हामीले त्यसलाई ‘विनर एटिच्युड’ ले हेर्नुपर्छ। मैले त ससाना कुराहरुमै खुसी फेला पार्न थालेकी छु। हरक्षण जीवनको आनन्द उठाइरहेकी छु।’
हो, मायाले साँच्चै नै खुसीको श्रोत फेला पारेकी छन्। उनले आफ्नो शरीर र सामाजिक सम्बन्धहरुलाई पनि राम्ररी मेन्टेन गरेकी छन्। पहिरनमा विशेष ध्यान दिन्छिन्। उनलाई वान पिस र जिन्स लगाउन मन पर्छ। उनको सुन्दरता त यसै मोहित पार्ने खालको छ। स्वस्थ रहन आफूले खानपान र जीवनशैलीमा निकै ध्यान पुर्याउने गरेको उनी बताउँछिन्।
प्रविधिको विकाससँगै माया आफ्ना प्रशंसकहरुसँग पनि नजिकिएकी छन्। सामाजिक सञ्जालमा उनका हजारौँ फलोअर्स छन्। अनेकौँ फ्रेन्ड रिक्वेस्ट आइरहन्छन्। मेसेन्जरमा मेसेजको संख्या गिन्ती गर्न सक्दिनन् उनी। ‘तर सबैलाई उत्तर दिन कहाँ सकिन्छर र?’ उनी भन्छिन्, ‘म अक्सर उत्तर दिन्नँ। कतिले घमण्डी पनि भन्छन् होला। तर वास्तवमा म त्यस्तो छुइनँ।’उनी फेसबुक त्यति धेरै चलाउँदिनन्, इन्स्टाग्राममा कहिलेकाहीँ फोटो अपलोड गर्छिन्। ‘समय व्यवस्थापनलाई ध्यान दिन्छु,’ उनको कथन छ। कतिपय प्रशंसकहरुले कफी पिउन, डिनरका लागि प्रस्ताव गर्छन्। तर उनी अनेक बहाना बनाएर ती आग्रहलाई टारिदिन्छिन्। जापान बस्ने एक प्रशंसकले जीवनमा एक पटक उनलाई भेटेरै छोड्ने वाचा गरेका छन्। ती व्यक्तिले कदाचित् यो जन्ममा भेट नभए उनलाई भेट्नकै लागि अर्को जन्म लिने बताएको पनि माया सुनाउँछिन्। यसबेला आफ्नो स्टाटस ‘सिंगल’ बताउने मायामा महिलाको सम्मान नगर्ने र अभद्रता प्रदर्शन गर्ने पुरुषप्रति घृणा र रिस दुवै छ। उनलाई विवाह प्रस्ताव राख्नेहरुको संख्या पनि कम छैन।
तर यी सबका बीच उनको अभिनयको तलतल समाप्त भएको छैन। त्यही तलतल मेट्न सन् २०१३ मा आफैँले निर्माण गरेको फिल्म ‘घलेक’ मा उनी पुनः झुल्किइन्। सो फिल्म नेपालसहित अमेरिका, बेलायत, अष्ट्रेलिया, हङकङ र खाडी मुलुकहरुमा सफलतापूर्वक प्रदर्शन भयो। यसबीचमा उनलाई अनेकौँ म्युजिक भिडियोहरुमा अभिनयका प्रस्ताव आइरहेका छन्। ‘त्यसबारे म विचार गरिरहेकी छु,’ उनी भन्छिन्, ‘तर घलेक–२ चाहिँ बनाउने योजना छ।’