पर्वत, ७ पूस– प्रायगरी मगर समुदायका युवा लाहुरे हुने सपना बोक्छन् । कतिपय लाहुरे हुनका लागि बेलायती सेना, भारतीय सेना र नसके नेपाली सेनामा नै भएपनि भर्ना हुने कुरालाई आफ्नो सबैभन्दा ठूलो सपना ठान्छन् । भर्ती नहुने युवा युरोप, हङकङलाई दोस्रो गन्तव्य बनाउँछन् भने नसके खाडी र मलेसियामा प्रशस्त पैसा कमाइ हुने आशामा विदेशिएको पनि देखिन्छ । तर उत्तरी पर्वतको जलजला गाउँपालिका–५ शालिजा गाउँका दुई युवाले सवै कुरा त्यागेर गाउँमै ठूलो लगानीमा बाख्रापालन व्यवसायमा लागेका छन् ।
रु. १५ लाख लगानी गरेर साविक शालिजा गाविस–२ का बलबहादुर पुन र जितमन पुनले गाउँमै बाख्रापालन व्यवसाय शुरु गरेका छन् । विगत चार वर्षदेखि यो व्यवसायमा हात हालेका युवाले ५०० बाख्रा पाल्ने योजना बनाएका छन् । अहिले उनीहरूको फारममा १२० वटा पुगेका छन् भने ५० भन्दा बढी ब्याउने छन् । “सबै युवा लाहुरे हुने कुरालाई पहिलो प्राथमिकतामा राख्छन्, हामी गाउँमै राम्रो सम्भावना देखेर बाख्रापालनमा लागेका छौँ” पुनले भने “५०० बाख्रा पु¥याउने महत्वाकांक्षी योजनासहित यो पेशामा हामफालेका हौँ ।” गाउँमा एक दुई वटामात्रै बाख्रापाल्ने तर व्यावसायिक बन्न नसकेकाले व्यावसायिक रुपमा बाख्रापालनबाट आम्दानी हुने देखेपछि बाख्रापालनमा लागेको पुन बताउँछन् । “यो गाउँ सुहाउँदो व्यवसाय भएकाले भविश्यमा राम्रै आम्दानी हुन्छ भन्ने विश्वास लागेको छ”, उनले भने । अहिले बाख्रा बिक्रीभन्दा बथान बढाउने काममा लागिपरेको युवा बताउँछन् । “पाँचसय बाख्रा पुगेपछि मासिकरुपमा दुई लाखसम्म खुद नाफा कमाउने लक्ष्य हाम्रो हो”, अर्का युवा कृषक जितमन पुनले भने । बाख्रापालनका लागि उनीहरूले शुरुमा रु. १५ लाख लगानी गरेका थिए । बाख्रा हेर्नका लागि चार जनालाई रोजगारी पनि दिएका छन् ।
उनीहरूले खरी जातको बाख्रा पाल्दै आएका छन् । बाख्राका लागि चरन नभएकाले सामुदायिक वनलाई मासिक रु १० हजार भाडा तिरेर बाख्रा चराउँदै पनि आएका छन् । “चरनका लागि अन्य क्षेत्र नभएकाले सामुदायिक वनलाई भाडा तिरेका छौँ” जितमन पुनले भने । अहिलेसम्म निर्वाहमुखी रुपमा बाख्रा पाल्दै आएको गाउँमा यो व्यवसाय नमूना बन्दै गएको छ । बाख्रापालनसँगै उनीहरूले आलुखेती पनि थालेका छन् । बाख्राको जुतो प्रयोग गर्नका लागि साविक लेकफाँट गाविसको डाँँडाकटेरीमा जग्गा भाडामा लिएर आलुखेती गर्ने योजना रहेको जितमनले बताए । लेकफाँटको लोप्रे आलुका लागि प्रशिद्ध ठाउँ हो । “दोहोरो व्यवसायबाट राम्रो आम्दानी हुन्छ”, उनले भने “धन कमाउन भनेर अब विदेशमा जानुनै पर्दैन ।” बाख्रापालनमा लागेका यी युवालाई कुनै सरकारी निकायले अहिलेसम्म कुनै प्रकारको सहयोग समेत गरेका छैनन् ।
विकट गाउँमा ठूलो लगानी गरेर सञ्चालन गरेको यो व्यवसाय जिल्लाकै नमूना व्यवसायको रुपमा हेरिएको छ । अन्य क्षेत्रका युवा पछिल्लो समयमा विदेशबाट फर्केर कृषि तथा पशुपालन व्यवसायमा लागेपछि गाउँकै युवाले आफ्नै लगानी गरेर सञ्चालन गरेको व्यावसायिक फार्म भएकाले राज्यले पनि उनीहरूलाई विशेष प्राथमिकता दिनुपर्ने उनीहरूको भनाई छ ।
Previous Article‘चुनावी प्रतिवद्धता पुरा गर्छौ’
Next Article २०७४ पुस ७ गते शुक्रबारको राशिफल