म्याग्दी, ६ पूस– जिल्लाको अन्नपूर्ण गाउँपालिकाले गर्भवती र सुत्केरी महिलाका लागि प्रत्येक वडामा कोष स्थापना गरेको छ । गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनको अध्यक्षतामा मंगलबार पोखरेबगरमा बसेको गाउँ कार्यपालिकाको बैठकले प्रत्येक वडामा कोष स्थापनाका लागि रु. एक÷एक लाख उपलब्ध गराउने निर्णय गरेको छ । आठवटै वडामा अप्ठ्यारोमा परेका गर्भवती, सुत्केरी महिला र गरिब विपन्नको उपचारमा सहयोग गर्नका लागि कोष स्थापना गर्न पहिलो चरणमा रु. एक÷एक लाख उपलब्ध गराउने निर्णय भएको गाउँ कार्यपालिकाका प्रवक्ता तथा वडा नं ६ का अध्यक्ष कृष्णप्रसाद बरुवालले जानकारी दिए । कार्यविधि बनाएर कोषबाट सुत्केरी हुनका लागि स्वास्थ्य संस्था तथा अस्पताल पुग्न नसक्ने गरिब विपन्न वर्गका महिलालाई यातायात खर्चबापत सहयोग गरिने प्रवक्ता बरुवालले बताए । बैठकले गाउँपालिकाका विभिन्न योजनाका लागि बजेटसमेत विनियोजन गरेको छ । हिस्तान—राम्चे सडक स्तरवृद्धिका लागि रु. ५० लाख विनियोजन भएको छ ।
चित्रेदेखि पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक निर्माणका लागि रु. १० लाख विनियोजन गरेको छ । उक्त योजनाका लागि ६ नं वडा कार्यालयले यसअघि रु. पाँच लाख विनियोजन गरेको थियो । नारच्याङको बेँसी गाउँदेखि लेकगाउँ जोड्ने सडकको ट्रयाक खोल्न रु. २० लाख विनियोजन भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजनामा बेनीमा सञ्चालन हुने छैटौँ म्याग्दी महोत्सवलाई रु. दुई लाख विनियोजन गरेको गाउँपालिकाले पुस ८ गते भुरुङ तातोपानीमा आयोजना गरिएको निःशुल्क मुटुरोग शिविरका लागि रु. एक लाख उपलब्ध गराउने निर्णय गरेको छ ।
प्रत्येक वडाका महिला र दलित समुदायको क्षमता तथा नेतृत्व विकाससँगै सशक्तीकरणका लागि चेतनामूलक कार्यक्रम गर्न रु. दुई लाख ४० हजार विनियोजन गरेको छ । अपांगता परिचयपत्र वितरणका लागि पुस २१ र २२ गते गाउँपालिकाको केन्द्र पोखरेबगरमा घुम्ती शिविर सञ्चालन गर्ने भएको छ । महिला तथा बालबालिका कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयसँग समन्वय गरेर शिविर सञ्चालनका लागि रु. एक विनियोजन गरेको छ । हालसम्म अपांगता परिचयपत्र प्राप्त गर्न नसकेका गाउँपालिकाका सबै वडाका अपांगता भएका नागरिकलाई लक्षित गरेर शिविर सञ्चालन गरिने प्रवक्ता बरुवालले जानकारी दिए ।