बागलुङ,६ पूस– जिल्लाको दक्षिण कुश्मीशेरामा पहिलो जैमिनी डान्स आईडल हुने भएको छ । माघे संक्रान्ती तथा जैमिनी मेला २०७४ को अवसर पारेर साहारा क्लब कुश्मीशेराले आईडलको आयोजना गर्न लागेको हो । स्थानिय स्तरमा रहेका प्रतिभालाई प्रोत्साहन गर्न भन्दै पहिलो जैमिनी डान्स आईडल गर्न लागिएको क्लबले जनाएको छ ।
खेलकुद लगायत सामाजिक सेवामा काम गर्दै आएको क्लबले यसपटकको मेलामा प्रमुख आर्कषणको रुपमा आईडल छनौट गर्न लागेको क्लबका सचिव दिलिप थापाले बताए । ‘गाउँ घरमा लुकेर रहेका प्रतिभालाई खुल्ला मैदानमा ल्याउने प्रयास गर्दैछौं’ थापाले भने ‘कला संस्कृतिको संरक्षण र प्रतिभाको खोजीमा आईडलले महत्वपुर्ण भुमिका खेल्ने छ ।’ आईडलको लागि सबै तयारी पुरा भैसकेको र मेला सुरु भएको दिनदेखि नै आईडल छनौटको काम सुरु हुने थापाको भनाई थियो । ‘पहिलो जैमिनी आईडल नाम दिईएको भएपनि यसमा देशभरबाट सहभागी हुन सक्छन ।’ थापाले भने ‘प्रतिभा भएर पनि प्रस्तुत गर्न नपाएकालाई हामीले ठाउँ दिएका हौं ।’ हरेक बर्ष बिबिध सांस्कृतिक कार्यक्रमका साथै खेलकुदका कार्यक्रमहरु आयोजना गरेर मनाईने गरेको माघे संक्रान्ति मेलामा यसबर्ष डान्स आईडल नयाँ प्रयोगको रुपमा प्रस्तुत गर्न लागिएको क्लबका सदस्य नबिन प्रताप जिसीले बताए ।
ठूलो धनराशीको पुरस्कार राखेर प्रतियोगिता आयोजना गर्न नसकेपनि पहिचान र प्रोत्साहनका लागि कार्यक्रम महत्वपुर्ण हुने जिसीको भनाई थियो । पौषको २६ गतेदेखि माघको २ गते सम्म सञ्चालनमा रहने आईडल छनौटमा २० देखी ३० जनासम्मको सहभागिता रहने आयोजकले जनाएको छ । पहिलो जैमिनी आईडलले नगद १० हजार रुपैयाँ र प्रमाणपत्र पाउने छन्भने फस्टरनरअपले ५ हजार तथा सेकेण्ड रनरनअपले २ हजार रुपैयाँ र प्रमाणपत्र पाउने क्लबले जनाएको छ ।