बागलुङ, ६ पूस– धार्मिक तथा पर्यटकीय गन्तव्यस्थल पञ्चकोटमा आगामी फागुन ९ गतेदेखि १५ गतेसम्म चौैथो महायज्ञ संचालन हुने भएको छ । पञ्चकोटका उत्तराधिकारी ऋषि प्रपन्नाचार्यको समुपस्थिती, प्रतिनिधि अध्यक्ष नगेन्द्रराज शर्माको अध्यक्षतामा मंगलबार बसेको भेलाले महायज्ञ गर्ने निर्णय गरेको हो । पञ्चकोटका मूल कार्यसमिति, निर्माण समिति, बिषयगत उप–समितिका संयोजक एवं जनप्रतिनिधी सहितको भेलाले चौंथो महायज्ञ गर्ने निर्णय गरेको मुल समितीले जनाएको छ ।
भेलामा स्वामी ऋषि प्रपन्नाचार्यले महायज्ञ सम्पादन गर्न गत बर्षहरुमा लिइएका आ–आफ्ना जिम्मेवारी बहन एंव सक्दो सहयोग गरी आगामी महायज्ञलाई सफलतापूर्बक सम्पन्न गराउन अनुरोध गरेका थिए । कार्यक्रममा पञ्चकोटमा निर्मित तथा निर्माणाधिन धार्मिक संरचनाको समिक्षा एवं आर्थिक बर्ष २०७३÷७४ को आय–व्यय विवरण समेत सार्वजनिक गरेको छ ।
आर्थिक बर्ष २०७३÷७४ मा संचालन खर्च ५८ लाख ९१ हजार ७ सय १९ र भौतिक पूर्बाधार निर्माण खर्च ४ करोड ५ लाख ४१ हजार ६ सय ८० तथा भान्सा सेवा समाजबाट प्राप्त सापटी रकम फिर्ता १५ लाख गरी कुल ४ करोड ८८ लाख २ हजार ४ सय ४८ रुपैयाँ खर्च भएको छ । पञ्चकोटमा हालसम्म अतिथी आवास गृह, रेलिङ सहितको पदमार्ग, गण्डकी माताको मन्दिर, शिस महल, सत्सङ्ग भवन, गणेश मन्दिर, हनुमानको मुर्ति, ५ हजार ५ सय ५५ केजीको महाघण्टका लागि आवश्यक स्तम्भ, सचिवालय एवं पञ्चकोट परिसरमा ढलान तथा मेसोनरी लगाउने कार्य निर्माणाधिन अवस्थामा छन् ।